close

फेवा तालको झार हटाउने मसिन बनाउँदै आविष्कार केन्द्र

टेकपाना टेकपाना

भदौ २७, २०७९ १२:३०

फेवा तालको झार हटाउने मसिन बनाउँदै आविष्कार केन्द्र

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले पाेखरास्थित फेवातालमा भएको जलकुम्भी झार हटाउने जिम्मा लिने भएको छ । गत शनिबार आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन पोखरा भ्रमणमा गएका बेला यो निर्णय गरेका हुन् ।

फेवातालको जलकुम्भी झार दुई-चार महिनामा एक पटक सफा गरेर नपुग्ने भन्दै त्यसको दीर्घकालीन समाधानका लागि मसिन आवश्यक पर्ने बताए ।

सामाजिक सञ्जालमा पोस्ट राख्दै पुनले भने, “तालको जलकुम्भी झारहरू हटाउने मसिन नबनाई हुँदैन । सो मसिन बनाउने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले लिनेछ र सो काम पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ कलेज (डब्लूआरसी) लामाचौरमा गरिनेछ ।”

उक्त कार्यका लागि आविष्कार केन्द्रले पश्चिमाञ्चल इन्जिनियरिङ कलेजसँग छलफल गरेर त्यहाँको सम्बन्धित विभाग र विद्यार्थीहरूलाई सो मसिन बनाउन आह्वान गरिने जानकारी दिए ।

साथै मसिनका लागि आवश्यक विभिन्न सामग्री राष्ट्रिय आविष्कार केन्द्रले उपलब्ध गराउने जनाएका छन् ।

क्याम्पसले उक्त मसिन बनाउने काम आठ महिनाको अवधिमा सम्पन्न गरिसक्ने बताइएकाे छ ।

विद्यार्थीको टिमले फेवातालमा बिग्रेको अवस्थामा रहेको जलकुम्भी हटाउने मसिनकै आधारमा नयाँ मसिन तयार पार्नुपर्ने पुनको भनाइ छ ।

उनी भन्छन्, “यस्तो मसिन पोखरामा नै बनाएर सञ्चालन गरियो भने मर्मत सम्भार गर्न सजिलो हुनेछ र विद्यार्थीहरूले पनि काम सिक्ने मौका पाउनेछन् ।

साथै यस परियोजनाका लागि राष्ट्रिय आविष्कार केन्द्रले छुट्टै कोष खडा गरेर काम गर्ने उनले जनाए । उक्त परियोजनाका लागि राष्ट्रिय आविष्कार केन्द्रले सहयोग संकलन गर्ने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३