close

असोज ६ देखि नेपालमै पहिलो पटक ‘नाडा ईभी एक्स्पो’ हुने

टेकपाना टेकपाना

भदौ २७, २०७९ १३:३६

असोज ६ देखि नेपालमै पहिलो पटक ‘नाडा ईभी एक्स्पो’ हुने

काठमाडौं । आउँदो असोज ६ देखि ९ गतेसम्म नेपालमै पहिलो पटक बृहत् ईभी एक्स्पो हुने भएको छ ।

विद्युतीय सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको वृहत् प्रदर्शनीका रूपमा नाडा अटोमोबाइल्स एसोसियसनले राजधानीमा यो एक्स्पो गर्न लागेको हो ।

साेमबार पत्रकार सम्मेलन गर्दै नाडाले एक्स्पोकाे तयारी तीव्र पारिएकाे जानकारी दियाे ।

एक्स्पाेमा कुल ५१ ओटा स्टल र ब्लक रहनेछन् । यसअन्तर्गत सात ब्रान्डका चार पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे, १६ ब्रान्डका दुई पाङ्ग्रे, तीन ब्रान्डका टायर, दुई ब्रान्डका ब्याट्री, नाै ओटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा चार विभिन्न वित्तीय संस्था सहभागी हुने नाडा ईभी एक्स्पो समितिका सभापति अनुपकुमार बरालले जानकारी दिए ।

एक्स्पोको शीर्ष प्रायोजकमा सीईएटी टायर रहेको छ भने सहयोगी संस्थाका रूपमा नेपाल विद्युत प्राधिकरण रहेको छ । त्यस्तै यूएसएआईडी क्लिन एयरले एक्स्पोको नलेज पार्टनरको रुपमा तीन दिने ‘ईभी चौतारी गोष्ठी’ सञ्चालन गर्ने भएको छ ।

त्यस्तै एक्स्पोको सह-प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ ।

त्यसैगरी एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसले गर्नेछ ।

‘वर्तमान समयमा विद्युतीय सवारीसाधनको महत्त्व बढिरहेको र यसकाे प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास गरेका छौँ,’ सभापति बरालले भने ।

एक्स्पोका लागि सोमबारबाटै अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । यसअन्तर्गत खल्ती एपमार्फत् असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिद गर्न सकिने छ ।

टिकेट खरिदमा विशेष सहुलियत पाउनुका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपबाट २५ प्रतिशत क्याशब्याकको अफर पाइने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३