close

आरामसँग सुत्न साओमीले ल्यायो स्मार्ट सिरानी, श्वासप्रश्वासदेखि मुटुको धड्कनसम्म नाप्ने

टेकपाना टेकपाना

भदौ २७, २०७९ १८:२७

आरामसँग सुत्न साओमीले ल्यायो स्मार्ट सिरानी, श्वासप्रश्वासदेखि मुटुको धड्कनसम्म नाप्ने

काठमाडौं । चिनियाँ ब्रान्ड साओमीले स्मार्ट सिरानी तयार पारेको छ । कम्पनीले ‘क्राउड फन्डिङ क्याम्पियन’मार्फत ‘मिजिया’ नामक स्मार्ट सिरानी सार्वजनिक गरेको हो ।

याे सिरानीले ‘पाइजो इलेक्ट्रिक सेन्सर’मार्फत मुटुको धड्कनदेखि शरीरको चाल र श्वासप्रश्वास सटिक तरिकाले नाप्नसक्ने बताइएको छ ।

हेल्थ तथा फिटनेस अनुगमनका लागि सिरानीमा एआई एल्गोरिदम समावेश गरिएको छ । पाइजो इलेक्ट्रिक सेन्सरलाई सिरानीको त्यस्तो भागमा राखिएको छ, जसले मानिसलाई कुनै किसिमको बाधा पुर्‍याउँदैन ।

त्यस्तै यस सिरानीले प्रयोगकर्ताको सुताइको अवस्था, गहिरो निन्द्रामा भएको अवधि मापन गर्नसक्ने बताइएको छ ।

यसैगरी ब्लुटुथका माध्यमबाट याे सिरानी साओमीका अन्य डिभाइसमा पनि लिङ्क गर्न सकिन्छ ।

कम्पनीका अनुसार यस सिरानीले सुताइको अवस्थालाई सुधार गर्नेछ । सिरानीमा चार ओटा ‘एएए ब्याट्री’ प्रयोग गरिएको छ, जसलाई बढीमा ६० दिनसम्म प्रयोग गर्न सकिन्छ ।

यसले कम भाेल्टेजको डीसी पावर सप्लाई प्रदान गर्ने भएकाले सुरक्षित र भरपर्दो रहेको कम्पनीको दाबी छ । यो सिरानी १० र १२ सेन्टिमिटरमा उपलब्ध छ । यसलाई आफूले चाहेको दिशामा फर्काएर प्रयोग गर्न सकिन्छ ।

‘तपाईँ सुत्दा जसरी सुत्न चाहे पनि, ‘मिजिया’ स्मार्ट सिरानीले तपाईँको सुताइलाई सहज बनाउँछ । यसले मांसपेशीलाई प्राकृतिक तरिकाले आराम गर्न सघाउँछ, जसले गर्दा प्रयोगकर्तालाई आनन्दमयी निद्रा लाग्छ,’ कम्पनीले भनेकाे छ ।

त्यस्तै यो सिरानीको खोल कडा जीवाणु प्रतिरोधी सुरक्षाका साथ उपलब्ध हुने बताइएको छ, जसलाई २० पटक धुँदा ९० प्रतिशत जीवाणु प्रतिराेधी शक्ति कायम हुनेछ ।

त्यस्तै यो सिरानीको खोल नरम र लचिलो रहेको छ । यो सिरानी अहिले चीनमा मात्र उपलब्ध छ, जसको मूल्य २९९ युआन (करिब पाँच हजार ५०० रुपैयाँ ) ताेकिएको छ ।

यो सिरानी विश्वबजारमा कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानाकरी दिएकाे छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४