close

प्रतिबन्धदेखि ब्लु टिकसम्म, चीन यसरी बन्दैछ ट्वीटरको ठूलो बजार

टेकपाना टेकपाना

भदौ २९, २०७९ ९:१६

प्रतिबन्धदेखि ब्लु टिकसम्म, चीन यसरी बन्दैछ ट्वीटरको ठूलो बजार

काठमाडौं । चीनमा ट्वीटर प्रतिबन्धित छ । त्यहाँका जनताले याे प्लेटफर्म प्रयाेग गर्न पाउँदैनन् । तर पनि चीन ट्वीटरको सबैभन्दा ठूलो व्यावसायिक बजार हो ।

जनताले प्रयोग गर्न नपाए पनि चीनका स्थानीय अधिकारीहरू, चिनियाँ कम्युनिस्ट पार्टीको प्रचार-प्रसारका कार्यालयहरूले ट्वीटरको भरपुर प्रयोग गरिरहेकाे पाइएकाे छ ।

सार्वजनिक रुपमा उपलब्ध हुने चिनियाँ दस्तावेज, बजेटका कागजात तथा ट्वीटरमा प्रमोट गरिएका ट्वीटहरूबाट यो विषय पत्ता लागेको हो । उनीहरूले आफ्ना सामग्रीलाई ट्वीटरमा विज्ञापनको रुपमा पोस्ट गरिरहेको पाइएको राेयटर्सले जनाएकाे छ ।

चीन सरकारले ट्वीटरमा प्रतिबन्ध लगाए पनि ट्वीटरमार्फत स्थानीय सरकार तथा राष्ट्रिय सञ्चार माध्यमहरूले विदेशी नागरिकको पहुँचमा पुग्नेगरी देशको स्थानीय प्रवर्द्धन लगायत सांस्कृतिक तथा आर्थिक उपलब्धिहरूको विषयमा प्रचार गर्न पाउनेगरी भने अनुमति दिइएको छ ।

पछिल्लो समयमा ट्वीटरको अमेरिकी बजार स्थिर रहेको अवस्थामा कम्पनीमाथि लगानीकर्ताको पनि दबाब रहेको छ । यस्तो स्थितिमा ट्वीटरको लागि चिनियाँ बजार निकै महत्त्वपूर्ण छ ।

केही समयअगाडि मात्र टेस्लाका मालिक एलन मस्कले कम्पनी खरिदबाट पछाडि हट्ने विषयलाई लिएर अहिले अदालतमा मुद्दाको कारबाही चलिरहेको छ ।

रोयटर्समा प्रकाशित लेखअनुसार चिनियाँ बजारलाई लिएर कम्पनीभित्र पनि एक किसिमको मनमुटाव चलिरहेको छ ।

विशेषगरी बजार विस्तारमा काम गरिरहेको टोलीहरूबीच चिनलाई लिएर भिन्न भिन्न सोच छ । त्यसमाथि चीन र अमेरिकाबीचको विवादले पनि कम्पनीभित्र चिनियाँ बजारलाई लिएर समस्या पैदा भइरहेको छ ।

अहिले ट्वीटर चीनको आम्दानीमा पनि निकै नै निर्भर रहेको पनि लेखमा उल्लेख छ ।

यति मात्र नभई ट्वीटरको चिनियाँ बजार हेर्ने टोलीले चिनियाँ सरकारलाई आफ्नो प्रतिद्धन्द्धी अल्फाबेटको गुगल र मेटाको फेसबुक प्लेटफर्मका विज्ञापन व्यवसायसँग प्रतिस्पर्धा गर्न आफ्नो विश्वव्यापी रणनीति पनि बुझाएको छ ।

यसको साथै चीनको गेमिङ, ई-कमर्श र ठूला प्रविधि कम्पनीहरू पनि ट्वीटरको ठूला ग्राहकमध्ये पर्छन् । चीनबाट मात्र ट्वीटरले हरेक वर्ष लाखौं डलर आम्दानी गर्ने अनुमान पनि छ ।

चीनबाट हुने आम्दानीमध्ये सबैभन्दा धेरै आम्दानी पनि यिनै कम्पनीहरूबाट हुने गर्छ । चीनसँगको व्यवसायको विषयमा बुझ्न खोज्दा ट्वीटरले भने आफूहरूले चिनियाँ बजारमा पनि व्यवसाय गरिरहेको कुरा कहिले पनि नलुकाए भन्दै यस विषयमा अन्य थप जानकारी भने दिन नचाहेको राेयटर्सकाे लेखमा उल्लेख छ ।

सन् २०१९ मा कम्पनीले आफ्नो प्लेटफर्ममा कुनै पनि राजनितिक तथा राज्यको स्वामित्वमा रहेको कुनै पनि मिडियाको विज्ञापनलाई प्रतिबन्धित गर्ने घोषणा गर्‍यो । यद्यपि कम्पनीले राज्यको स्वामित्वमा भएको मिडियाको अकाउन्टबाट पनि मनोरञ्जनात्मक, खेल तथा यात्रासँग सम्बन्धित सामग्रीलाई पनि प्रतिबन्ध नलगाएको सूचना जारी गरेको थियो । 

यो वर्षको मार्च महिनामा कम्पनीले पुन: राज्यको स्वामित्वमा रहेको मिडियाको विज्ञापनलाई पूर्ण रुपमा प्रतिबन्ध गरेको घोषणा गर्‍यो । केही देशले प्लेटफर्मलाई प्रतिबन्ध  गरेको भन्दै भित्री रुपमा आफ्नै सञ्चारको लागि ट्वीटर प्रयोग गरेको भन्दै पूर्ण रुपमा प्रतिबन्ध लगाइएको कम्पनीले घोषणा गरेको थियो ।

यद्यपि अहिले पनि ट्वीटरमा चिनियाँ विज्ञापनहरू प्रशस्त देख्न सकिन्छ । कम्पनीले भने आफूहरूले आफ्नो नियम विपरित भइरहेको कामलाई निगरानी राख्न अटो-डिटेक्सन प्रविधि प्रयोग गरिरहेको दाबी गरेको छ ।

यस विषयमा चिनियाँ सरोकारवालाले पनि केही प्रतिक्रिया नदिएको लेखमा उल्लेख छ । यद्यपि सन् २०१४ पछि चीनबाट हुने ट्वीटरको आम्दानी भने ८०० गुणाले बढेको देखिन्छ ।

यति मात्र होइन, केही चिनियाँ स्थानीय निकायका ब्लु टिक सहितको भेरिफाइड अकाउन्ट पनि रहेकाे जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४