close

सधैँ किन आईफोनको प्रचारमा ९:४१ नै बजिरहेको देखाइन्छ ? 

टेकपाना टेकपाना

भदौ २९, २०७९ १३:४

सधैँ किन आईफोनको प्रचारमा ९:४१ नै बजिरहेको देखाइन्छ ? 

काठमाडौं । यदि तपाईँले एप्पलका विज्ञापन सामग्रीमा हेर्नुभयो भने बिहानको ९:४१ बजेको समय देख्न सक्नुहुन्छ । एप्पलले विज्ञापनका लागि आफ्ना हरेक उत्पादनको स्क्रिनमा ९ बजेर ४१ मिनेटको समय राख्ने गरेको छ ।

एप्पलको आधिकारिक वेबसाइटमा गएर हेर्ने हो भने त्यहाँ राखिएका विभिन्न उत्पादनको स्नापशटमा ९ बजेर ४१ मिनेट गएको देख्न सकिन्छ । आखिर एप्पलले आफ्ना हरेक उत्पादनमा त्यही एउटै समय किन देखाउँछ होला ? त्यसो त एउटै समय देखाउने उत्पादनमा एप्पल एक्लो होइन ।

सामान्यतः घडिका विज्ञापन हेर्ने हो भने त्यहाँ १० बजेर १० मिनेटको समय राखिएको हुन्छ । कतिपयले यसलाई सामान्य रूपमा हेरिरहेका हुन्छन् भने केहीले भने यसभित्र हुनसक्ने विभिन्न रहस्यको आँकलन गरिरहेका हुन्छन् ।

वास्तवमा एप्पलले आफ्ना प्रायः उत्पादनमा ९ बजेर ४१ मिनेटको समय राख्नुका पछाडि रोचक कहानी छ । यसका लागि हामी अप्रिल २०१० मा फर्किनु पर्ने हुन्छ । त्यसबेला पालो एल्टोस्थित एप्पलको खुद्रा स्टोरमा आधिकारिक आईप्याड सार्वजनिक गर्ने कार्यक्रम रहेको थियो ।

डेभलपर जोन मेनिङले पूर्व आईओएस प्रमुख स्कट फर्सटेललाई उनको कम्पनीमा भेटे र एप्पलका उत्पादनको विज्ञापन वा सार्वजनिक गरिने कार्यक्रममा देखाइने समयको बारेमा जान्न खोजे । फर्सटेल उनलाई भने, “हामीले केही ‘कि नोट्स’ डिजाइन तयार पारेका थियौँ ।

जसले गर्दा ४० मिनेटको प्रस्तुतिमा हामी प्रमुख कुराहरू बाहिर ल्याउन सक्थ्यौँ । जतिबेला उत्पादनको ठूलो तस्वीर स्क्रिनमा देखिन्छ, त्यही बेला त्यहाँ उपस्थित दर्शकले आफ्नो घडी र स्क्रिनमा भएको उत्पादनमा एउटै समय देख्न सकुन् भन्ने अभिप्राय राखेका थियौँ । तर, हामीलाई आफूले निर्धारण गरेको ४० मिनेटेको समयभन्दा बढी लाग्छ भन्ने कुराको जानकारी थियो ।”

त्यसबाट सुरक्षित हुन एक मिनेट बढी थपेर पहिलो पटक ९:४१ को समय राखिएको फर्सटेलको भनाई छ । त्यस्तै एप्पलका संस्थापक स्टिभ जब्सले पहिलो पटक एप्पलका उत्पादन नाम सार्वजनिक गर्दा ९ बजेर ४१ मिनेट गएको थियो । 

उनले त्यस समयमा भनेका थिए, “यो दिनका लागि म विगत अढाई वर्षदेखि प्रतिक्षा गरिरहेको थिएँ । हरेक पटक हामी क्रान्तिकारी उत्पादनहरूमा केही परिवर्तन ल्याएर सार्वजनिक गरिरहेका हुन्छौँ । सन् १९८४ मा हामीले म्याकिनटस सार्वजनिक गरेका थियौँ । त्यसले एप्पललाई मात्र नभई पूर्ण रूपमा उद्योगलाई नै परिवर्तन गरिदिएको थियो ।

त्यस्तै सन् २००१ मा हामीले पहिलो आईपड सार्वजनिक गरेका थियौँ । जसले हामीले जसरी संगीत सुन्थ्यौँ, त्यसलाई मात्र नभई सारा सङ्गीत उद्योगलाई नै परिवर्तन गरेको थियो ।” त्यस्तै उनले ९ बजेर ४२ मिनेटमा तीन ओटा क्रान्तिकारी उत्पादन सार्वजनिक गरेको घोषणा गरेका थिए ।

एप्पलले आफ्ना प्रायः उत्पादनमा ९ बजेर ४१ मिनेटको समय देखाउने भए पनि केहीमा भने फरक समय राखिरहेको हुन्छ । एप्पलले आजभन्दा सात वर्षअघि सार्वजनिक गरेको आईफोनबाट नै डिस्प्लेमा ९ बजेर ४१ मिनेटको समय राख्ने गरेको छ ।

कतिपय अवस्थामा ९ बजेर ४२ मिनेट राखेको पाइन्छ भने कतिपयमा ९ बजेर ४१ मिनेट नै राखिएको हुन्छ । अहिले एप्पलको प्रचार सामग्रीमा विशेषगरी ९ बजेर ४१ मिनेटको समय राखिएको हुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४