close

अब ई–भिसाको शुल्क आफ्नै डलर कार्डमार्फत भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

भदौ ३०, २०७९ १०:४३

अब ई–भिसाको शुल्क आफ्नै डलर कार्डमार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । अब इलेक्ट्रोनिक भिसा (ई–भिसा) को शुल्क डिजिटल कार्डमार्फत भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंक अन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै यो व्यवस्था लागू गरेको हो ।

यो सँगै नेपालीले डिजिटल कार्डमार्फत सहजै ई–भिसाको शुल्क भुक्तानी गर्ने सक्ने भएको हुन् । तर, यसका लागि नेपाल स्थित विदेशी नियोगले आवश्यक व्यवस्था गर्नुपर्ने जनाइएको छ । यसको अर्थ विदेशी नियोगले ई– भिसाको शुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसरी डिजिटल माध्यमबाट भुक्तानी भएको रकम सम्बन्धित कूटनीतिक नियोग वा संस्थाको नेपालस्थित खातामा जम्मा हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

‘ई–भिसा प्रणालीबाट भिसा आवेदन लिने व्यवस्था गरेका मुलुकले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेमा तोकिएका शर्तहरू पालना हुने गरी त्यस्ता तोकिएका संस्थामार्फत भिसा बापत संकलित रकमको लागि बैंक तथा वित्तीय संस्थाबाट जारी विद्युतीय/डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सकिने छ ।’ राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रमा भनिएको छ ।

भिसा शुल्कबापत संकलित रकम त्यस्तो कार्डबाट भुक्तानी हुने गरी सिधै विदेशी मुलुकका सरकारी निकायको तोकिएको परिवर्त्य विदेशी मुद्राको खाता वा सम्बन्धित देशको नेपालस्थित दूतावास/नियोगको तोकिएको परिवर्त्य विदेशी मुद्राको खातामा मात्र जम्मा हुनु पर्ने जनाइएको छ । साथै यस्तो कार्डबाट अन्य कुनै पनि प्रयोजनका लागि भुक्तानी नहुने व्यवस्था बैंकहरूले गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्ता कार्डको म्याद ई–भिसा प्रक्रिया सम्बन्धी कार्य गर्नका लागि तोकिएको अवधिभन्दा बढी हुन नहुने समेत राष्ट्र बैंकले जनाएको छ । त्यस्तै वैदेशिक रोजगारीमा जाने नेपालीहरूको ई–भिसा प्रक्रियाको भिसा शुल्क भुक्तानी गर्दा नेपाल सरकार र सम्बन्धित देशबीच भएको सम्झौतामा उल्लेखित भिसासम्बन्धी सम्पूर्ण व्यवस्था पालना हुनुपर्ने समेत परिपत्रमा उल्लेख गरिएको छ ।

साथै ई– भिसा प्रणाली अन्तर्गत भिसा आवेदक नेपालीले ई–भिसा प्रणालीमा तोकिए बमोजिम शुल्क भुक्तानी (आफ्नो एकाघर परिवार सदस्यको लागि समेत) आफ्नो नाममा एकीकृत परिपत्र ०७/२०७८ र १४/२०७८ बमोजिम जारी भएका परिवर्त्य विदेशी मुद्राको विद्युतीय कार्ड (प्रिपेड, डेबिट, क्रेडिट, अमेरिकी डलर ५०० को प्रिपेड कार्ड) बाट गर्न चाहेमा समेत भुक्तानी गर्न सकिने व्यवस्था बैंकहरूले मिलाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ । 
 

FXMD-07-2079-80

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४