close

एमडीएमएस लागू भएको खुसीयालीमा मोबाइल व्यवसायीले पसलपसलमा दीपावली गर्ने

टेकपाना टेकपाना

भदौ ३०, २०७९ १३:२५

एमडीएमएस लागू भएको खुसीयालीमा मोबाइल व्यवसायीले पसलपसलमा दीपावली गर्ने

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको उपलक्ष्यमा व्यापारीहरूले पसलपसलमा दीपावली गर्ने भएका छन् । ढिलै भए पनि एमडीएमएस लागू हुनु खुसीको विषय भएकाले दीपावली गरेर स्वागत गरिने मोबाइल आयातकर्ता सङ्घका अध्यक्ष दीपक मल्होत्राले बताए ।

“ढिला भएपनि राम्रो काम भएको छ,” बिहीबार एमडीएमएस सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मल्होत्राले भने, “आजको दिन सम्पूर्ण डिस्ट्रिब्युटर र ५० हजार मोबाइल व्यवसायी सम्पूर्ण मोबाइल पसलमा दीपावली गरेर मनाउँछौँ ।” सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै तीन सय अमेरिकी डलरभन्दा माथिको मोबाइलको आयात बन्द गरेको छ ।

मोबाइल आयातमध्ये ५० प्रतिशत भन्दा माथि गैरकानूनी तवरमा भित्रिने गरेको भन्दै मल्होत्राले मोबाइल आयातमाथि लागेको प्रतिबन्ध हटाउन माग गरे । “मोबाइल विलासिताको वस्तु होइन, त्यसैले यसको आयात खुला गर्नुपर्छ,” उनले भने, “सन् २०२१ मा कूल ५५ अर्ब रुपैयाँका मोबाइल भित्रिएकोमा १७ अर्ब रुपैयाँका मोबाइल गैरकानूनी रूपमा आयात भएका थिए ।

मोबाइल आयात प्रतिबन्धले यस वर्ष २७ अर्ब रुपैयाँको मोबाइल आयात मात्र कानूनी हुने देखिन्छ र २८ अर्ब गैरकानूनी हुने अवस्था छ ।” यसबाट राज्यले सात अर्बको राजस्व गुमाएको उल्लेख गर्दै मल्होत्राले २२ करोड डलरको आयात हुँदा प्रति डलरमा राज्यले ३१ रुपियाँ नोक्सानी ब्यहोर्नु परेको बताए । उनले अगाडि भने, “डलर पनि बचाउन सकेको अवस्था छैन ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४