close

दार्चुलाको छाङरुमा सुरु भयो नेपाल टेलिकमको फोरजी सेवा

टेकपाना टेकपाना

भदौ ३०, २०७९ १५:४९

दार्चुलाको छाङरुमा सुरु भयो नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौं । नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा भाद्र २९ गतेदेखि फोरजी सेवा सुरु गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिको छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी सेवा सञ्चालनमा ल्याएको हो ।

यो सँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको छ । फोरजी सेवाका लागि नेपाल टेलिकमले दार्चुला जिल्लाको महाकाली नगरपालिकास्थित न्यु बालाशिखरको रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको हो ।

ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको कम्पनीले जनाएको छ । 

छाङरुमा रहेका करिब १२० जति घरधुरी र ७ सय जति जनसंख्या तथा अन्य क्षेत्रका गरी करिव ४ हजार जनसंख्या यसबाट प्रत्यक्ष लाभान्वित हुने कम्पनीको भनाई छ ।

अब छाङरुको वरिपरि रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिंकर लगायतका क्षेत्र र सीमाना सम्म फोरजीको पहुँच पुगेको छ ।

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात ८०० मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४