close

किन आइरहेको छ “यो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता भएको छ” भन्ने मेसेज ? 

टेकपाना टेकपाना

भदौ ३०, २०७९ १६:५७

किन आइरहेको छ “यो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता भएको छ” भन्ने मेसेज ? 

काठमाडौं ।  के तपाईंको फोनमा आज ”यो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता भएको छ ।” भन्ने मेसेज आयो ? यदि छ भने ढुक्क हुनुहोस् । तपाईंलाई मात्र होइन नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहीबार नेपालमा भएका सम्पूर्ण फोनमा यस्तै मेसेज पठाइरहेको छ ।

कतिपय फोनमा एमडीएमएम प्रणालीमा फोन दर्ता भएको मेसेज गएको छ भने कतिपयमा हालसम्म पनि नगएको हुनसक्छ । आखिर किन आज फोनमा यस्तो मेसेज आएको होला? यस्तो मेसेज नआउँदा मोबाइल के हुन्छ त ?  

लामो समयपछि अन्ततः नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहीबारबाट नेपालमा मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली आधिकारिक रूपमा सुरुवात गरेको छ । यो प्रणाली लागू भएसँगै नेपाल दूरसञ्चार प्राधिकरणमा आईएमईआई नम्बर दर्ता भएका फोन बाहेक अन्य फोनमा सिम सपोर्ट गर्दैन ।

यसको अर्थ तपाईंले आजबाट कुनै पनि फोन नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता नगरी प्रयोग (सिमबाट फोन गर्न, एसएमएस पठाउन वा इन्टरनेट चलाउन) गर्न सक्नुहुन्न । 

तपाईंको मोबाइलमा आएको मेसेजको अर्थ भने तपाईंको फोन एमडीएमएस प्रणालीमा दर्ता भइसकेको छ भन्ने जानकारी हो ।यदि हालसम्म आएको छैन भने पनि चिन्ता नलिनुहोस् । उक्त फोन पनि दर्ता भइसकेको छ वा दर्ता हुने प्रक्रियामा छ । यदि तपाईंको फोन आज (२०७९ भाद्र ३०) भन्दा अघि खरिद गर्नु भएको थियो वा बाहिरबाट ल्याउनु भएको थियो भने ति सबै फोन स्वतः एमडीएमएस प्रणालीमा दर्ता भएका छन् ।

अब भाद्र ३० पछि बाहिरबाट ल्याएको फोनको अवस्था के हुन्छ भन्ने धेरैको जिज्ञासा हुनसक्छ । त्यसका लागि पनि दूरसञ्चार प्राधिकरणले अर्को नीति ल्याएको छ । जसअन्तर्गत फोन बाहिरबाट आएको १५ दिनभित्र एमडीएमएसमा दर्ता गरिसक्नु पर्ने हुन्छ । यदि सो समयावधिभित्र दर्ता नभएको खण्डमा भने दूरसञ्चार प्राधिकरणले उक्त फोन रेडलिस्टमा राख्छ । रेडलिस्टमा परेसँग उक्त फोनले नेपालकाे कुनै पनि नेटवर्क सपोर्ट गर्दैन् ।

यसको अर्थ उक्त फोनमा नेपालको कुनै पनि सिम सपोर्ट हुने छैनन् । यसअघि फोन बाहिरबाट ल्याउनु भएको छ भने कुनै किसिमको दर्ताको काम गर्नु पर्दैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४