close

शुक्रबारबाट निःशुल्क ई–सिम उपलब्ध गराउँदै टेलिकम

टेकपाना टेकपाना

भदौ ३०, २०७९ १८:५६

शुक्रबारबाट निःशुल्क ई–सिम उपलब्ध गराउँदै टेलिकम

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भोलि शुक्रबारबाट इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को व्यावसायिक सुरुवात गर्ने भएको छ ।

हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा कम्पनीले मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ अर्थात् गाँस्न सकिने ई–सिम ग्राहकलाई उपलब्ध गराउने भएको हो ।

सुन्धारा काउन्टरबाट शुक्रबारदेखि ग्राहकलाई निःशुल्क ई–सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । यो सँगै ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने भएका छन् ।

हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने समेत उल्लेख गरिएको छ ।

नयाँ प्रिपेड सिमकार्डमा भने तत्कालै ई–सिम उपलब्ध नहुने देखिएको छ । टेलिकमका अनुसार नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकले भने ई–सिमका लागि केही समय पर्खनु पर्नेहुन्छ । तर, पुराना प्रिपेड ग्राहकले भने आफ्नो पुरानो सिमलाई ई–सिममा रूपान्तरण गर्न सक्नेछन् ।

त्यसका लागि ग्राहकले सिम लिन आवश्यक फारम भरेर काउण्टरमा बुझाउनु पर्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज ३, २०७९ १०:२०