close

दशैंका लागि अनलाइनबाटै बसको टिकेट काट्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

भदौ ३१, २०७९ १३:५४

दशैंका लागि अनलाइनबाटै बसको टिकेट काट्न सकिने, यस्तो छ तरिका

काठमाडौं । घुमिफिरी दशैंको माहोल विस्तारै बढ्दैछ । त्यससँगै काठमाडौं लगायत विभिन्न सहरमा भएकाहरू दशैंको टिका थाप्न आफ्नो जन्मघर फिर्तीको योजनामा छन् ।

दशैंलाई लक्षित गर्दै उपत्यकाबाहिर जानेहरूका लागि सरकारको समन्वयमा यातायात व्यवसायीले भाेलि असाेज १ देखि बसको अग्रिम टिकेट बुकिङ खुलाउने तयारी गरेका छन् ।

यसअन्तर्गत यात्रुले विभिन्न अनलाइन प्लेटफर्म प्रयाेग गरी बसको अग्रिम टिकेट बुकिङ गर्न सक्नेछन् ।

बसकाे अनलाइट टिकेटिङ प्लेटफर्म बस सेवा डटकमले पनि भाेलिदेखि विभिन्न यातायात व्यवसायीसँगकाे समन्वयमा अनलाइन टिकेट बुकिङ खुलाउने भएकाे छ ।

कम्पनीका अनुसार दशैंमा घर गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकेट काट्न सक्नेछन् ।

यात्रुले कम्पनीको वेबसाइट वा मोबाइल एपबाट टिकेट बुक गर्न सक्नेछन् ।

बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार यसपटक कम्पनीकाे सिस्टममा पर्याप्त टिकेटको व्यवस्था गरिएकाे छ ।

अनलाइनबाट टिकेट काट्न ईसेवा अकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकेट काट्न सक्नेछन् भने ईसेवा अकाउन्ट नभएका ग्राहकले नजिकै रहेको ईसेवा जोन तथा पोइन्टबाट टिकेट काट्न सक्नेछन् ।

मुलुकभर रहेका ईसेवाका एक लाख ५० हजारभन्दा बढी एजेन्ट नेटवर्कबाट समेत टिकेट काट्न सकिने कम्पनीले जनाएकाे छ ।

साथै खल्ती, आइएमईपेका एजेन्ट नेटवर्कका साथै हरेक बैंकका मोबाइल र्बैकिङमार्फत समेत टिकेट काट्न सकिनेछ ।

बससेवामा नेपालका अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेकाे कम्पनीकाे भनाइ छ ।

अनलाइन टिकेटिङको सेवा उपलब्ध अन्य वेबसाइट र एप पनि छन् । त्यसमध्ये बससेवा नेपाल, वेस्ट नेपाल बस, स्मार्ट यात्रु, बस नेपाल लगायतका प्लेटफर्म छन् ।

यी प्लेटफर्मले देशका विभिन्न स्थानमा जाने बस व्यवसायीसँगको सहकार्यमा अनलाइन टिकेट उपलब्ध गराउँदै आएका छन् । यद्यपि तपाईंले जान चाहेको ठाउँको टिकेट एउटा प्लेटफर्ममा उपलब्ध नहुन सक्छ । साथै प्लेटफर्मअनुसार बसको टिकेटको शुल्क पनि फरक पर्न सक्छ ।

त्यो हुँदा तपाईंले सबै विकल्पहरू हेर्न आवश्यक हुन्छ । यति गरेसँगै अब टिकेट काट्ने कसरी भन्ने हो । त्यसका लागि बससेवा, बससेवा नेपाल, वेस्ट नेपाल बस, स्मार्ट यात्रु, बस नेपाल अथवा अन्य कुनै वेबसाइट खोल्नुहोस् ।

त्योसँगै अब आफ्नो अकाउन्ट बनाउनुहोस् । जब तपाईंले अकाउन्ट बनाएर रजिस्टर गर्नुहुन्छ, अब लगईन गर्नुहोस् । लगईन भएसँगै वेबसाइटमा एउटा फर्म देख्नुहुनेछ । जहाँ तपाईंले आफू रहेको स्थान अर्थात कहाँबाट गाडी चढ्ने हो छनोट गर्न सक्नुहुनेछ ।

त्यसमध्ये आफूलाई पायक पर्ने बस र सिट छनोट गरी अब बुकिङ अघि बढाउन सक्नुहुनेछ । जब तपाईंले बुकिङको लागि अघि बढ्नुहुनेछ तब तपाईंले आफ्नो जानकारी उपलब्ध गराउनु पर्नेहुन्छ ।

जब तपाईंले आफ्नो जानकारी भरी बुकिङ गर्नुहुन्छ तब त्यहाँ पेमेन्टको अप्सन देखापर्नेछ । पेमेन्टका लागि बैंकका साथै, ई-सेवा, खल्ती, आईएमई पे जस्ता विभिन्न वालेट त्यहाँ देखिनेछन् । त्यसमध्ये आफूलाई पायक पर्ने विकल्प छनोट गरी त्यसमार्फत अनलाइन भुक्तानी गर्न सक्नुहुनेछ ।

त्यसरी भुक्तानी गरेसँगै तपाईंको टिकेट बुकिङ सफल हुनेछ । अब तपाईंको टिकेट बुकिङ भएसँगै त्यसलाई डाउनलोड गरी सुरक्षित राख्न भने आवश्यक छ । त्यो भएको खण्डमा यात्राको क्रममा तपाईंलाई सहज हुनेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४