close

ई-सिम वितरणमा कोटा प्रणाली छैन, बाहिर भ्रम फैलाइयोः टेलिकम

टेकपाना टेकपाना

भदौ ३१, २०७९ १४:४०

ई-सिम वितरणमा कोटा प्रणाली छैन, बाहिर भ्रम फैलाइयोः टेलिकम

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आज शुक्रबारदेखि ई-सिमको व्यावसायिक सुरुवात गरेको छ ।

हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा कम्पनीले मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ अर्थात् गाँस्न सकिने ई-सिम ग्राहकलाई उपलब्ध गराउन थालेकाे हाे ।

टेलिकमले याे सेवा उपलब्ध गराउने जानकारी दिएसँगै सामाजिक सञ्जालमा ई-सिमका लागि कोटा प्रणाली सुरु भएको भ्रम फैलिएको पाइएकाे छ ।

विभिन्न मिडिया र सामाजिक सञ्जालमा टेलिकमले दैनिक ४० देखि ५० जनालाई मात्र ई-सिम वितरण गर्नेगरी काेटा प्रणाली ल्याएकाे समाचार आएका छन् ।

यी सूचनामा कुनै सत्यता नभएकाे भन्दै कम्पनीले शुक्रबार प्राविधिक त्रुटिका कारण ई-सिम वितरण रोकिएको जानकारी दिएकाे छ ।

टेकपानासँग कुरा गर्दै टेलिकमका प्रवक्ता शाेभन अधिकारीले भने, “दैनिक ५० जनालाई मात्र ई-सिम उपलब्ध गराउने कुरा झुटो हो । आजबाट सुरुवात भएकाले केही प्राविधिक त्रुटि आएकाे छ । उक्त समस्याकाे समाधानपछि निरन्तर ई-सिम वितरण गरिनेछ ।”

ई-सिम वितरणमा आएका प्राविधिक त्रुटिलाई सच्याउन र अझ सरल रूपमा सेवा दिन कम्पनीले तयारी गरिरहेकाे उनकाे भनाइ छ ।

सुरुवाती चरणमा टेलिकमले आफ्नो सुन्धारास्थित काउन्टरबाट ई-सिम वितरण गरिरहेको भएपनि केही दिनपछि अन्य काउन्टरबाट पनि सेवा प्रदान गर्ने उनले जानकारी दिए ।

ई-सिम लिन प्रयोगकर्ताले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र लिएर टेलिकमले उपलब्ध गराएको फाराम भर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४