close

नेपाली पात्रो एपमा थपिए नयाँ ८ सुविधा, समाचार पढ्न अझ सजिलो हुने

टेकपाना टेकपाना

असोज १, २०७९ ८:१२

नेपाली पात्रो एपमा थपिए नयाँ ८ सुविधा, समाचार पढ्न अझ सजिलो हुने

काठमा । ‘नेपाली पात्रो’ एपमा नयाँ अपडेट आएको छ । नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग नजिक रहिरहन कम्पनीले एन्ड्रोइड र आईओएस एप अपडेट गरेको हो ।

नेपालको पहिलो कम्युनिटी एपका रूपमा ‘नेपाली पात्रो’ले समाचार सुविधा अन्तर्गत नेपालका विभिन्न मिडिया स्रोतहरूबाट ब्रेकिङ न्युज अलर्ट, छलफल, विशेष अन्तर्वार्ता, विश्लेषण, फिचर स्टोरीहरू दिँदै आएको छ ।

प्रयोगकर्ताको अनुभवका आधारमा जारी नयाँ डिजाइन सहितको समाचार सुविधामा १० नयाँ उपयोगी अपडेट संलग्न गरेको छ ।

यस नयाँ संस्करणअगाडि समेत रहेको आफ्नो रोजाइ (पर्सनलाइज्ड) सुविधालाई ‘यो गज्जब छ’ भन्ने थिममा झन् व्यवस्थित, अझै सजिलो व्यवस्थापन गर्न सकिने सुविधा थपेको कम्पनीले जनाएकाे छ ।

प्रयोगकर्ताले लगईन गरेर आफूले रोजेका मनपर्ने समाचार स्रोत मात्रका सञ्चार गृह र आफ्नो रुचि मात्रका सामग्रीहरु प्राप्त गर्न सक्नेछन् ।

नयाँ अपडेटबारे ‘नेपाली पात्रो’का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष देवकोटा भन्छन्, “नेपाली पात्रो’ समाचार खण्डको यस ताजा अपडेटमा, लाइभ समाचार वेबसाइट, पत्रपत्रिका, टेलिभिजनका अनलाइन संस्करणहरुलाई सबै एकै ठाउँमा स्मार्ट तरिकाबाट थप सुविधा तथा अनुभव पाउनुहुनेछ । राजनीति, खेलकुद, चुनाव, व्यापार, मनोरञ्जन वा अन्य कुनै थुप्रै विषयवस्तुका समाचारहरु केवल एक क्लिकमा प्राप्त गर्न त सकिन्छ नै समाचार पढ्ने अनुभवलाई अझ व्यवस्थित बनाउन यस अपडेटमा केही नवीन प्रयोग गरिएको छ ।”

‘नेपाली पात्रो’ को नयाँ अपडेटमा के छ ?

नयाँ डिजाइनः कम्पनीका अनुसार एपमा सरल, सफा र सुधारिएको फरक डिजाइन थपिएकाे छ, जसको मुख्य पेजको माथिल्लो भागमा प्रमुख विशेषता समेटिएका छन् ।

जस्तै यस भागमा समाचार खोज्नेदेखि लिएर समाचार बुकमार्क गर्ने, समाचार नोटिफिकेशन र भाषा सेटिङ राखिएको छ भने ९ वटा विषयवस्तु (क्याटोगरी) सहितको स्मुथ ट्याब संलग्न गरिएको छ । सोही ट्याबको तल्लो भागमा क्रमशः तस्वीर सहितको गोलाकार आइकनमा ट्रेन्डिङ विषयहरु समावेश गरिएका छन् ।

बुकमार्कः आफ्नो रोजाइका विषयगत समाचार सामग्रीहरु केवल समाचार होइनन् । ती भनेका एउटा कालखण्ड, समय, विशेष क्षण, खोजमूलक, तथ्यपरक महत्वपूर्ण जानकारी पनि हुन् ।

धैरेले यस्ता सामग्रीका समाचार लिंकहरु नोटप्याडमा, कतै ईमेलमा संग्रह गरेर राख्ने गर्छन् । यसकै समाधान भनेको बुकमार्क सुविधा हो ।

नेपाली पात्रो लगइन गरेपनि, नगरेपनि बुकमार्क सुविधालाई प्रयोग गर्न सकिन्छ ।

लगइन गरेका प्रयोगकर्ता र लगइन नगरेका प्रयोगकर्तामध्ये लगइन गरेका नेपाली पात्रो प्रयोगकर्ताले आफूले बुकमार्क गरी सेभ गरेका कुनै पनि समाचार भविष्यमा जुनसुकै मोबाइलमा सोही लगइन आईडीबाट लगइन गरेको खण्डमा सबथोक उही अवस्थामा भेटिनेछ भने लगइन नगरी बुकमार्क गर्ने प्रयोगकर्ताले केही कुनै कारणले नेपाली पात्रो पुनःइन्स्टल गरे अथवा मोबाइल परिवर्तन गरी नयाँ नेपाली पात्रो इन्स्टल गरेमा सुरक्षित राखिएका बुकमार्क सामग्रीहरु देखिनेछैनन् ।

उपयाेगी फुटर ट्याबः त्यस्तै फुटर भागमा समाचार, ट्रेन्डिङ, तपाइको लागि, नोटिफिकेसन तथा अन्य सुविधा समेटिएको छ ।

समाचार ट्याबले ९ वटा विषयवस्तु (क्याटोगरी) समेट्ने विभिन्न समाचार स्रोतहरुका ताजा समाचारलाई देखाएको छ भने ट्रेन्डिङ ट्याबले नेपाली पात्रो एपमा सबैभन्दा बढी पढिएका र चर्चामा रहेका समाचारहरु देखाएको छ ।

ट्रेन्डिङ समाचारः प्रचलन तथा चर्चामा रहेका समाचार सामग्री खोज्ने तथा ट्रेन्डिङ समाचार मन पराउनेहरूका लागि नेपालमै पहिलो पटक क्लिकको संख्या र धेरै मानिसहरूको पहुँचको आधारमा नेपाली पात्रो एपको ट्रेन्डिङ समाचार सार्वजनिक गरेको हो ।

तेस्रो फुटर ट्याबः फुटर भागको तेस्रो सुविधा भनेको पर्सनलाइजेसन सुविधा हो । यसमार्फत प्रयोगकर्ताले आफूलाई मनपर्ने विश्वसनीय समाचार स्रोतहरुमात्रको समाचार हेर्नका लागि विभिन्न समाचार स्रोतहरु छनोट गर्न सक्नेछन् भने आफ्नो रोजाइका विषयवस्तु (क्याटोगरी)हरु मात्रका समाचार पनि छनोट गर्न सक्नेछन् ।

यसका लागि फेसबुक, गुगल अथवा ईमेल आईडीबाट नेपाली पात्रोको समाचार सेवा लगइन गर्न आवश्यक छ ।

चौथो फुटर ट्याबः यसमा नोटिफिकेशन राखिएको छ । सबैलाई नोटिफिकेशन मन नपर्न सक्छ । ती प्रयोगकर्ताहरुका लागि स्मार्ट समाधानको रुपमा ‘सेभ्ड नोटिफिकेसन’ सुविधा सार्वजनिक गरिएक छ ।

आफ्नो मोबाइल सेटमा नोटिफिकेसन आएको मन नपराउने अथवा कुनै महत्त्वपूर्ण नोटिफिकेसन मेरो आज कुनै छुट्यो भनेर दिक्क मान्ने दुवैखाले प्रयोगकर्ताका लागि निःशर्त व्यवस्थित तथा हो-हल्ला नगर्ने ‘सेभ्ड नोटिफिकेसन‘ को सुविधा समेटेको छ ।

जसमा नोटिफिकेसन अफ गरेर समाचार हेर्ने प्रयोगकर्ताले आफ्नो समय अनुकूल जुनसुकै समयमा नोटिफिकेसन ट्याबमा गएर दिनभरीका महत्वपूर्ण समाचारका नोटिफिकेसन प्राप्त गर्न सक्नेछन् ।

यस नोटिफिकेशन ट्याबमा देखिने समाचारहरु क्लिक नभएको अथवा नपढिएको भएमा समाचार फोटोमा निलो रङ सहितको गोलो घेरा संकेतको रुपमा रहेको छ भने त्यो निलो घेरा त्यसबेला मात्र हट्ने छ, जतिबेला तपाईंले त्यस समाचार नोटिफिकेशनलाई क्लिक गर्नुहुनेछ ।

यस सुविधाले तपाईँले कुन नोटिफिकेसन पढ्नुभो या पढ्नुभएको छैन भन्ने कुरा सम्झाइरहने छ ।

पाँचौ फुटर ट्याबः ‘’नेपाली पात्रो”का अन्य ताजा अपडेट, सुविधाहरु तथा नवीन फिचरलाई विविध सुविधाहरुको रुपमा यस ‘अन्य’ ट्याबमा समेटिने छन् ।

शीर्ष १० समाचारः यो सुविधा नयाँ अपडेटेड समाचार सुविधामा समावेश गरिएको छ । जसले देश तथा विदेशका १० महत्वपूर्ण समाचारलाई स्वचालित ढंगले संग्रहित गरी देखाउने छ ।

नेपाली पात्रो एपको विभिन्न विषयवस्तु (क्याटोगरी)मा बढी खोजिएका उस्तै खालका शीर्षक तथा समाचारहरुलाई छुट्याएर एपले ‘शीर्ष १० समाचार’ तथा ‘तपाईंलाई मनपर्न सक्छ’ शीर्षक मार्फत समाचार सुझाउने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४