close

तपाईँको जीमेलमा ईमेल नआउने समस्या छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

असोज १, २०७९ ११:०

तपाईँको जीमेलमा ईमेल नआउने समस्या छ ? यसो गर्नुहोस्

काठमाडौं । ईमेल आदानप्रदानको भरपर्दो माध्यम हाे, जीमेल । स-साना कामदेखि व्यावसायिक तहसम्मका ठूला कामका लागि जीमेलको प्रयोग बढ्दो छ ।

त्यसबाहेक प्रयोगकर्ताले विभिन्न प्रयोजनका लागि जीमेल प्रयोग गरिरहेका हुन्छन् । जीमेल प्रयोग गर्नुको सबैभन्दा प्रमुख उद्देश्य भनेको नै कसैलाई ईमेल पठाउनु वा कसैले पठाएको ईमेल पाउनु हो ।

कतिपय अवस्थामा हामीलाई कसैले ईमेल पठाइसकेको भए पनि हामीले त्यो ईमेल पाइरहेका हुँदैनौँ । जीमेलको इनबक्समा ईमेल नआउनुका थुप्रै कारण हुन्छन् ।

आज हामी तपाईँको जीमेलमा किन ईमेल आइरहेका छैनन् र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

यसो त जीमेलको इनबक्समा मेल नआउनुको कारण यही हो भन्ने हुँदैन । किनभने यसलाई थुप्रै पक्षले प्रभाव पारेको हुन्छ । आज हामी इनबक्समा ईमेल नजानुका पछाडि के के कारण हुन सक्छन् भन्ने विषयमा चर्चा गर्दैछौँ ।

ईमेल स्प्याममा गएको हुनसक्छ

तपाईँको जीमेल इनबक्समा कयिपय मानिस वा सङ्घसंस्थाको ईमेल नआउनुको कारण उक्त ईमेल स्प्याम फोल्डरमा गएको हुनसक्छ ।

कसैले पठाएका कुनै ईमेल तपाईँका लागि उपयुक्त छैनन् भन्ने जानाकरी गुगलको एआई (आर्टिफिसियल इन्टेलिजेन्स)लाई जानकारी भयो भने उक्त ईमेल स्प्याममा जाने गर्छ ।

यसमा विशेषगरी कनै व्यक्ति वा संस्थाले एउटै ईमेल धेरै व्यक्तिलाई फर्वाड गरेको छ भने कतिपय अवस्थामा उक्त ईमेल जीमेलको स्प्याम फोल्डरमा जाने गर्छ । वा कुनै पनि ईमेलमा केही संवेदनशील लिङ्कहरू रहेको पाएमा गुगलले उक्त ईमेल स्प्याम फोल्डरमा राख्ने गर्छ ।

त्यसैले तपाईँलाई कसैले ईमेल पठाइसक्दा इनबक्समा कुनै ईमेल आएको छैन भने स्प्याम फोल्डर चेक गर्न सक्नुहुन्छ ।

इन्टरनेट कनेक्सन चेक गर्नुहोस्

कतिपय अवस्थामा इन्टरनेट कनेक्सन राम्रो नहुँदा तपाईँको जीमेलमा ईमेल नआएको हुनसक्छ । त्यसका लागि तपाईँले आफ्नो डिभाइसमा इन्टरनेट चलेको छ वा छैन भन्ने कुरा यकिन गर्नुपर्ने हुन्छ ।

इन्टरनेट स्पिड चेक गर्न यहाँ उल्लेख गरिएका विभिन्न प्रक्रिया अपनाउन सक्नुहुन्छ । यसबाट जाँच गरिसकेपछि इन्टरनेट चलेको पुस्टि भयो भने अन्य प्रक्रिया अपनाउनुहाेस् ।

 अकाउन्ट लगआउट गरेर पुनः लगइन गर्नुहोस्

कतिपय अवस्थामा जीमेलमा के समस्या आएको छ भन्ने कुरा यकिन गर्न सकिँदैन । पहिले नै अञ्जानमा विभिन्न सेटिङहरू परिवर्तन गरेर ईमेल आउने बनाउँछु भन्ने सोच्नुभन्दा गुगल अकाउन्ट जीमेलबाट लगआउट गर्नुहोस् ।

यसो गर्दा कुनै सेटिङ परिवर्तन भएको छ भने अर्को पटक लगइन गर्द उक्त सेटिङ डिफल्ट रूपमा उपलब्ध हुन्छ । जीमेलबाट गुगल अकाउन्ट लगआउट गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले ब्राउजरमा जीमेल खोल्नुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि देखाएको तपाईँको प्रोफाइलमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि तल रहेको साइनआउटमा क्लिक गरेर अकाउन्ट हटाउनुहोस् ।
  • त्यसपछि पुनः आफ्नो इमेल एड्रेस र पासवर्ड राखेर लगइन गर्नुभयो भने इनबक्समा इमेल नआउने समस्या हट्न सक्छ ।

प्रयोगकर्तालाई ब्लक गर्नुभएको हुनसक्छ

जीमेलमा तपाईँले कसैलाई अञ्जानमा वा जानीजानी ब्लक गर्नुभएको हुनसक्छ । तर, ब्लक गरेको कुरा तपाईँलाई मात्र थाहा हुन्छ ।

यदि कसैले तपाईँलाई ईमेल पठाएको छ र उक्त ईमेल ब्लक गर्नुभएको छ भने तपाईँको इनबक्समा सो ईमेल एड्रेसबाट आएको ईमेल इनबक्समा देखिँदैन ।

उक्त व्यक्तिले पठाएको ईमेल पाउन ब्लक लिस्ट चेक गरेर सो ईमेल एड्रेस त्यहाँबाट हटाउनुपर्ने हुन्छ । ब्ल्याकलिस्टबाट ईमेल एड्रेस हटाइसकेपछि तपाईँले इनबक्समा ईमेल पाउन सक्नुहुनेछ ।

अनावश्यक ईमेल डिलिट गर्नुहोस्

कतिपय अवस्थामा हाम्रो जीमेलको इनबक्समा भएका अनावश्यक ईमेलका कारणले पनि नयाँ ईमेल नआएको हुन सक्छ ।

जीमेलमा भएका अनावश्यक ईमेलले गुगलले उपलब्ध गराएको स्टोरेज खपत गरेका हुन्छन् । जसले गर्दा नयाँ ईमेलका लागि स्टोरेज नहुँदा नयाँ ईमेल नआएको हुन सक्छ ।

त्यसैले गुगलका विभिन्न सेवाबाट अनावश्यक फाइलहरू हटाउनुहोस् ।

विशेषगरी जीमेलमा भएका अनावश्यक ईमेल र गुगल ड्राइभमा भएका फाइलले गुगलले उपलब्ध गराएको स्टोरेज खपत गरेका हुन्छन् । त्यसैले अनावश्यक ईमेल हटाउँदा तपाईँको इनबक्समा नयाँ ईमेल आउँछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४