close

रेफ्रिजेरेटर खरिद गर्दा ख्याल राख्नुपर्ने कुरा

टेकपाना टेकपाना

असोज १, २०७९ १८:५५

रेफ्रिजेरेटर खरिद गर्दा ख्याल राख्नुपर्ने कुरा

काठमाडौं । चाडपर्वको मौसम छ । यो बेला घरमा धेरैले नयाँ सामान जोड्न चाहन्छन् । स्मार्टफोन, टिभीदेखि रेफ्रिजेरेटरसम्मको खरिदबिक्री अरु बेलाभन्दा दशैं तिहारको समयमा बढी हुने गर्छ ।

आज हामी रेफ्रिजेरेटरको चर्चा गर्दैछौं । बजारमा थुप्रै ब्राण्ड र गुणस्तरका विविध फिचर भएका रेफ्रिजेरेटर उपलब्ध छन् । तर कुन ब्रान्डको कुन मोडल खरिद गर्ने विषय पहिचान गर्न सहज हुँदैन ।

यस्तोमा यदि तपाईं नयाँ रेफ्रिजेरेटर खरिद गर्दै हुनुहुन्छ भने यी उपाय अपनाउन सक्नुहुन्छ ।

१. क्षमता

रेफ्रिजेरेटर खरिद गर्दा सबैभन्दा सुरुमा हामीले ख्याल गर्नुपर्ने कुरा भनेको रेफ्रिजेरेटरको क्षमता हो । रेफ्रिजेरेटरको क्षमता लिटरमा मापन गरिन्छ ।

बजारमा सबैभन्दा कम क्षमता भएकोदेखि सबैभन्दा धेरै क्षमता भएकोसम्मको रेफ्रिजेरेटर उपलब्ध छन् । तर तपाईंले आफ्नो परिवारको आकार र क्षमताअनुसारको रेफ्रिजेरेटर खरिद गर्न सक्नुहुन्छ ।

उदाहरणका लागि एकल परिवारका लागि १५० लिटरदेखि २५० लिटरसम्मको रेफ्रिजेरेटर उपयुक्त हुन्छ भने पाँच सदस्य भएको परिवारको लागि भने २५० देखि ५०० लिटरसम्मको उपयुक्त हुन्छ ।

तर यदि तपाईंको परिवारमा दुई जना ठूला मान्छे र दुई जना साना बच्चाहरू मात्र छन् भने २५० देखि ३५० लिटर सम्मको रेफ्रिजेरेटर ठिक्क हुन्छ ।

यदि तपाईं छ देखि सातजना भएको परिवारमा बस्नुहुन्छ भने चाहिँ ५५० देखि ८५० लिटरसम्मको रेफ्रिजेरेटर तपाईंलाई आवश्यक हुन सक्छ ।

यसका अलवा बजारमा एक्लै बस्ने व्यक्तिका लागि ४० लिटर देखि १०० लिटर सम्मको क्षमता भएको रेफ्रिजेरेटर पनि उपलब्ध हुन्छन् ।

यद्यपि आफ्नो परिवारको आका बाहेक तपाईंको आवश्यकता फरक हुनसक्छ । यसर्थ आफ्नो आवश्यकता अनुसारको क्षमता भएको रेफ्रिजेरेटर लिनु उपयुक्त हुन्छ ।

२.रेफ्रिजेरेटरको इनर्जी स्टार हेर्नुहोस्

इनर्जी स्टारको अर्थ हो, तपाईंको रेफ्रिजेरेटरले बचत गर्ने विद्युत । तपाईंको घरमा हुने अन्य विद्युतीय सामग्रीहरू जस्तै यसले पनि धेरै विद्युत खपत गर्छ ।

तर विकसित प्रविधिसँगै कम विद्युत खपत गर्ने रेफ्रिजेरेटरहरू पनि अहिले बजारमा उपलब्ध भएकाले यसका लागि धेरै आत्तिनुपर्ने स्थिति भने छैन ।

यद्यपि बजारमा कम विद्युत खपत गर्ने रेफ्रिजेरेटर छनौट गर्नको लागि तपाईंको रेफ्रिजेरेटरमा ‘इनर्जी स्टार’ शर्टिफाइड अर्थात् ताराको संकेत प्राप्त छ वा छैन अवश्य हेर्नुहोस् ।

किनभने कम्तीमा पनि १५ वर्ष पुरानो रेफ्रिजेरेटरले भन्दा अहिलेको तारा संकेत भएको रेफ्रिजेरेटरले करिब ३३ प्रतिशत कम विद्युत खपत गर्छ । औषतमा भने इनर्जी स्टार भएको रेफ्रिजेरेटरले अन्यभन्दा १० प्रतिशत कम विद्युत खपत गर्छ ।

जति धेरै स्टार भयो, त्यसले त्यति नै कम विद्युत खपत गर्छ । यसर्थ रेफ्रिजेरेटर खरिद गर्दा इनर्जी स्टार हेर्न नभुल्नु होला ।

३. टप माउन्टेड फ्रिजर (माथीपट्टि फ्रिजर भएको रेफ्रिजेरेटर)

प्राय: रेफ्रिजेरेटरहरू टप माउन्टेड अर्थात् माथिल्लो भागमा फ्रिजर भएको अथवा बटम माउन्टेड अर्थात् तल्लो भागमा फ्रिजर भएका हुन्छन् ।

बटम माउन्टेड फ्रिजभन्दा टप माउन्टेड फ्रिजले कम विद्युत खपत गर्ने हुँदा रेफ्रिजेरेटर छान्दा टप माउन्टेड छान्नु उपयुक्त हुन्छ । इनर्जी स्टार प्रमाणित टप माउन्टेड रेफ्रिजेरेटरले ६० वाटको लाइट बल्बले भन्दा कम विद्युत खपत गर्छ ।

४. डाइरेक्ट कुल अथवा फोर्स्ट फ्रि रेफ्रिजेरेटर

सबै रेफ्रिजेरेटरमा कुल एयर अर्थात् सामान्य हावाको प्रवाहको आवश्यकता पर्दछ । यसका लागि बजारमा दुई प्रकारका रेफ्रिजेरेटर पाइन्छ । एउटा डाइरेक्ट कुल फिचर भएको, अर्को फोर्स्ट फ्रि फिचर भएको ।

डाइरेक्ट कुल फिचर भएको रेफ्रिजेरेटरमा हावाको प्रभाव आफैं भइरहेको हुन्छ । यसले गर्दा रेफ्रिजेरेटरको सम्पूर्ण कम्पार्टमेन्टहरूमा बराबार हावा पुगेको हुँदैन ।

जसले गर्दा फ्रिजमा आइस जम्मा हुन सक्छ । त्यसैले समय समयमा आफैंले फ्रिजलाई डिफोर्स्ट अर्थात् आइस पग्लिने गराउनुपर्छ । यसका लागि फ्रिजरको साइडमा एउटा बटन हुन्छ । त्यसमा हप्ताा दुईपटक जति थिच्नुपर्छ ।

तर यस्तो फ्रिजको राम्रो पक्ष भनेको यो आर्थिक हिसाबले सस्तो र कम विद्युत खपत गर्ने पनि हो ।

त्यसैगरी फ्रोस्ट फ्रि रेफ्रिजेरेटरमा इलेक्ट्रिक फ्यानको सहायताले बराबर हावा प्रवाह हुने हुँदा यसमा आफैंले डिफ्रोस्ट गरिरहन आवश्यक हुन्न । यद्यपि यस्तो रेफ्रिजेरेटर धेरै महँगो पर्छ र यसको फ्यानको कारण विद्युत बढी पनि खपत गर्छ ।

यी मुख्य फिचर लगायत रेफ्रिजेरेटरमा तपाईंलाई आवश्यक अन्य फिचरहरू पनि हुन्छन् । जसको आधारमा तपाईं आफू अनुकूल रेफ्रिजेरेटर खरिद गर्न सक्नुहुन्छ ।

आजभोलि बजारमा स्मार्ट रेफ्रिजेरेटरहरू पनि उपलब्ध छन्, जसमा क्यालेन्डर, फोटो भिडिओ लगायतका फिचरहरू पनि उपलब्ध हुन्छन् । यद्यपि यस्ता रेफ्रिजेरेटरहरू सामान्यभन्दा धेरै नै महँगो पर्न जान्छ ।

सेकेन्ड ह्यान्ड रेफ्रिजेरेटर किन्दा ख्याल राख्नुपर्ने कुरा

सेकेन्ड ह्यान्ड रेफ्रिजेरेटर खरिद गर्दा धेरै कुरामा ख्याल राख्नुपर्ने हुन्छ, जसले गर्दा तपाईँ लामो समयसम्म प्रयोग गर्न सक्नुहुन्छ ।

सबैभन्दा पहिले आफ्नो ठाउँ मापन गर्नुहोस्

सेकेन्ड ह्यान्ड खरिद गर्दा सबै अवस्थामा रोजेर आफ्नो आवश्यकता अनुसार लग्न सकिन्छ भन्ने हुँदैन । नयाँ खरिद गर्दा आफ्नो ठाउँ खाली हुन्छ, त्यही आकारको खरिद गर्न सकिन्छ ।

तर, सेकेन्ड ह्यान्डमा त्यस्तो नहुन सक्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो कोठा वा घरमा उक्त रेफ्रिजेरेटरका लागि उपयुक्त ठाउँ खाली छ या छैन भन्ने कुरा मापन गर्नुहोस् ।

यदि खाली छ भने आफूले सेकेन्ड ह्यान्ड रेफ्रिजेरेटर खरिद गर्नेबारे सोच्नुहोस् ।

मूल्य निर्धारण गर्नुहोस्

सेकेन्ड ह्यान्ड सामान विशेषगरी सस्तो परोस् भन्ने चाहनाले खरिद गरिएको हुन्छ । आफूलाई उपयुक्त हुन्छ भन्ने लाग्यो भने त्यसलाई कतिसम्ममा खरिद गर्दा ठीक हुन्छ भन्ने कुराको मूल्याङ्कन गर्नुहोस् ।

प्रयोग गरेको कति समय भयो, वारेन्टी कति बाँकी छ भन्ने कुरा ख्याल गरेर त्यही अनुसारको मूल्य निर्धारण गर्नुपर्ने हुन्छ । 

खरिद गर्नुअघि केही खोज गर्नुहोस्

सस्तो पाएँ वा नजिकै छ भन्दैमा कुनै पनि सामग्री हतार गरेर खरिद गर्न हुँदैन । यस्ता विद्युतीय उपकरण खरिद गर्दा केही खोज तथा अनुसन्धान गर्नुपर्ने हुन्छ ।

तपाईँले उक्त रेफ्रिजेरेटरको नाम इन्टरनेटमा सर्च गरेर त्यससम्बन्धी आएका प्रतिक्रिया वा विश्लेषण अध्ययन गर्नु सक्नुहुन्छ ।

कतिपय ब्रान्डका रेफ्रिजेरेटर लामो समयसम्म प्रयोग गर्दा बिग्रिरहेका घटना पनि हुन सक्छन् ।

त्यसैले आफूले खरिद गर्न लागेको रेफ्रिजेरेटर कुन कम्पनीको हो, त्यसमा के-कस्ता विशेषता छन्, उल्लेख भएका फिचरमध्ये कति फिचरले राम्रोसँग काम गर्छन् भन्ने कुरा हेर्नुपर्ने हुन्छ ।

त्यसैले खरिद गर्नुअघि एकपटक मजाले त्यससम्बन्धी जानकारी लिएर रेफ्रिजेरेटर जाँच्नुहाेस् ।

कुन ठाउँमा पाउन सकिन्छ होला ?

प्रयोग भइसकेका रेफ्रिजेरेटर जहाँकहीँ खरिद गर्न नपाइन सक्छ । त्यसका लागि एक उपयुक्त साइट ‘हाम्रो बजार डटकम’ हुनसक्छ । फेसबुकको मार्केटप्लेसमा पनि सेकेन्ड ह्यान्ड रेफ्रिजेरेटर बिक्रीका लागि लागिएको हुन्छ । साथै विभिन्न पसलहरूले पनि सेकेन्ड ह्यान्ड सामान राख्न सक्छन् ।

तपाईँले सेकेन्ड ह्यान्ड रेफ्रिजेरेटर पाउने ठाउँ तपाईँको वरपर छिमेकी पनि हुनसक्छन् । रेफ्रिजेरेटर सानो भएर वा आफू अन्तै बसाइँ सर्न लागेको भएर उनीहरूले बिक्री गर्न खोजिरहेका हुनसक्छन् ।

रेफ्रिजेरेटर खरिद गर्नुअघि बिक्रेतासँग यी प्रश्न सोध्नुहोस्

कुनै पनि उपकरण सेकेन्ड ह्यान्डमा खरिद गर्दै हुनुहुन्छ भने सो व्यक्तिले किन बिक्री गर्न खोजिरहेको छ भन्ने कुरा बुझ्न आवश्यक छ । उसलाई पैसाको आवश्यकता भएर बिक्री गर्न लागेको छ भने छुट्टै कुरा ।

तर, यदि त्यो फ्रिज बिग्रिएको भएर बिक्री गर्न लागेको छ भने तपाईँलाई समस्या हुन्छ । त्यसैले सेकेन्ड ह्याण्ड रेफ्रिजेरेटर खरिद गर्दा तल उल्लेख गरिएका प्रश्न सोध्न नबिर्सिनुहोस् ।

  • तपाईँ यो रेफ्रिजेरेटर किन बेच्दै हुनुहुन्छ ?
  • यसमा केही खराबी छ ?
  • के तपाईँकै रेफ्रिजेरेटर हो ?
  • यो कस्तो अवस्थामा छ ?
  • के यसका सबै पाटपुर्जा सही छन् ? यी पक्षबारे खोजी गर्नुहोस्

तपाईँले माथि उल्लेख गरेका कुराहरू ख्याल गर्नुभयो र खरिद गर्नेबारे सोच्नुभयो भने त्यसपछि पनि केही पक्षबारे जिज्ञासु हुनुपर्छ ।

उक्त रेफ्रिजेरेटर खरिद गर्दा यी कुराहरू बारे बुझ्नुहोस् ।

रेफ्रिजेरेटर प्रयोग भएको अवधि

तपाईँले सेकेन्ड ह्यान्डमा खरिद गर्न लागेको भए पनि उक्त रेफ्रिजेरेटर अरूले थुप्रै पटक सेकेन्ड ह्यान्डमा बिक्री गरिसकेको हुनसक्छ । त्यसका लागि उक्त रेफ्रिजेरेटर खरिद गरेको समय कति भयो, कतिपटक बिग्रियो वा कुन कुरा बिग्रिएको छ, त्यसबारे बुझ्ने प्रयास गर्नुहाेस् ।

सबैभन्दा महत्त्वपूर्ण कुरा त्यसको वारेन्टी हुन्छ । कतिपय अवस्थामा उक्त रेफ्रिजेरेटर बनाउनुभन्दा नयाँ खरिद गर्नु नै फाइदाजनक हुन्छ ।

त्यसैले उक्त रेफ्रिजेरेटर प्रयोगमा आएको कति भयो, त्यसको वारेन्टी छ वा छैन भन्ने कुरा ख्याल गर्नुपर्ने हुन्छ ।

त्यसमा हुने चिस्याइँको अवस्था

रेफ्रिजेरेटर खरिद गर्नुको प्रमुख उद्देश्य नै वस्तुलाई चिसो राख्नका लागि हो । त्यसैले रेफ्रिजेरेटरभित्र कति तापक्रम छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

खानालाई सड्नबाट बचाउनका लागि रेफ्रिजेरेटरको आन्तरिक तापक्रम शुन्य डिग्री फरेनाइट र ३८ डिग्री फरेनाइट हुन आवश्यक हुन्छ ।

त्यसबाट आउने गन्ध

यदि रेफ्रिजेरेटरबाट एकपटक केमिकल मिसिएको दुर्गन्ध आउन थालेको छ भने त्यसबाट मुक्ति पाउन गाह्रो नै हुन्छ ।

त्यसैले सेकेन्ड ह्याण्ड रेफ्रिजेरेटर खरिद गर्दा त्यस्तो कुनै किसिमको दुर्गन्ध नआएको सुनिश्चित गर्नुपर्छ ।

सिल ताेडिएको छ भने खरिद नगर्नुहोस्

रेफ्रिजेरेटरमा कहिँबाट पनि बाहिरको हावाभित्र प्रवेश गर्ने ठाउँ भएमा त्यसले सही तरिकाले काम गर्दैन ।

विशेषगरी ढोका लिक भएको छ भने यस्तो समस्या आउँछ । त्यसैले सेकेन्ड ह्यान्ड रेफ्रिजेरेटर खरिद गर्दा कतै पनि रेफ्रिजेरेटर लिक नभएको सुनिश्चित गर्नुहोला ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४