close

असोज ६ देखि नाडा ईभी एक्स्पो, कुन कुन विद्युतीय सवारी हेर्न पाइन्छ ?

टेकपाना टेकपाना

असोज १, २०७९ २१:२

असोज ६ देखि नाडा ईभी एक्स्पो, कुन कुन विद्युतीय सवारी हेर्न पाइन्छ ?

काठमाडौं । यही असोज ६ गतेदेखि चार दिनसम्म नेपालमै पहिलाे पटक विद्युतीय सवारीहरूको प्रदर्शनी आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसियसनले आयोजना गर्न लागेको ‘नाडा ईभी एक्स्पो २०२२’ मा विभिन्न ब्रान्डका विद्युतीय सवारीको प्रदर्शनी गर्न लागिएकाे हाे ।

आयोजकका अनुसार ईभी एक्स्पोमा हाल नेपाली बजारमा उपलब्ध विद्युतीय सवारी साधनहरू देख्न सकिनेछ । नेपालमा विदेशी मुद्रा सञ्चितिमा ह्रास आएको भन्दै सरकारले अतिआवश्यक बाहेकका अन्य वस्तु आयातमा रोक लगाएकाले नयाँ सवारी प्रदर्शनीमा राखिने छैन ।

एक्स्पोमा मुख्य आकर्षणका रूपमा रहेका विद्युतीय सवारी

१. नेटा 

चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले भित्र्याएको नेटा ईभी एक्स्पाेमा राखिने छ । यो कारले एक पटकको फुल चार्जमा ३८० भन्दा माथिको रेन्ज प्रदान गर्दछ । साथै ३८.५४ किलोवाट प्रति घण्टा ब्याट्री र १६० एनएम टर्क उत्पादन गर्दछ । यसको उच्च गति १०१ किलोमिटर प्रति घण्टा रहेको छ ।

कम्पनीले ब्याट्री, मोटर र पावर इलेक्ट्रोनिक्समा ८ बर्ष वा एक लाख ५० हजार किलोमिटर सम्मको वारेन्टी प्रदान गरेको छ । त्यस्तै अन्य संरचनामा भने १० वर्ष वा एक लाख ५० हजार किलोमिटरसम्म वारेन्टी तोकिएको छ । नेपाली बजारमा यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ छ ।

२. टाटा नेक्सन

पछिल्लो समय टाटा नेक्सनलाई नेपाली बजारमा लोकप्रिय विद्युतीय सवारी साधनको रुपमा लिइन्छ । ट्राइ एरो डिजाइनमा रहेको यस विद्युतीय सवारीमा १२९ पिएसको पावर र १२९ एनएम बराबरको अधिकतम टर्क उत्पन्न गराउन सक्ने क्षमता रहेको छ । 

एक पटकको फुल चार्जमा ३१२ किलोमिटरसम्म गुडाउन सकिन्छ । यो कार पनि नाडा ईभी एक्पो २०२२ मा अवलोकन गर्न सकिने छ ।

 ३. टेस्ला 

टेस्लाको मोडल वाई नेपाली बजारमा रुचाइएको अर्काे विद्युतीय सवारीमध्ये एक हो । नेपालमा टेस्ला सवारी तीन मोडलमा उपलब्ध छ । टेस्लाको वाई मोडलको कुरा गर्नुपर्दा एक पटकको फुल चार्जमा यसबाट ३२६ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ भने, १५५ माइलको उच्च गतिमा गुडाउन सकिने कम्पनीले दावी गरेको छ ।

हाल नेपाली बजारमा टेस्ला मोडल वाईको मूल्य एक करोड ६५ लाख रुपैंयाँ रहेको छ । नाडा इभी एक्स्पो २०२२ मा टेस्ला मोडल वाई, टेस्ला मोडल ३ र टेस्ला मोडल एक्समध्ये कुन मोडल राख्ने भन्ने विषयमा यकिन भइनसकेको कम्पनीले जनाएको छ ।

४. बीवाईडी एट्टो 

नेपाली बजारमा पाइने विभिन्न विद्युतीय सवारीको ब्रान्डमध्ये बीवाईडी एट्टो पनि एक हो । बीवाईडी एट्टो एक वर्षअगाडि नै नेपालमा उपलब्ध छ ।

ड्रागन फेस डिजाइनमा निर्माण गरिएको यो कारमा ब्लेड ब्याट्री उपलब्ध छ । ३२० किलाेमिटरसम्मकाे स्ट्यान्डर्ड रेन्ज दिने यस कारले १६० किलोमिटर प्रति घण्टाको उच्च गतिमा गुड्नसक्ने बताइएकाे छ ।

५. ट्रीओ 

अग्नि इनर्जी प्रा.लि. ले ल्याउन लागेको ट्रीओ नयाँ लुक्समा देख्न सकिने छ । यो तीन पाङ्ग्रेमध्येमा काठमाडौं उपत्यकामा पहिलो ईभी टेम्पोको रुपमा देख्न सकिने छ ।

लिथियम आयन ४८ भोल्टेजमा ब्याट्री उपलब्ध छ । त्यस्तै ब्याट्री क्षमता ७.३७ किलोवाट प्रति घण्टा रहेको छ, जसलाई चार्ज गर्न ३ घण्टा ५० मिनेट लाग्नेछ । एक पटकको फुल चार्जमा १४१ किलो मिटर सम्म गुडाउन सकिनेछ, भने यसको उच्चतम गति ५५ किलोमिटर प्रति घण्टा रहेको कम्पनीले दाबी गरेको छ । 

६. कोना

लक्ष्मी इन्टरनेशनल प्राइभेट लिमिटेड नेपाल, हुन्डाई कोनाको नेपाली आधिकारिक बिक्रेता हो । हुन्डाई कोनालाई इलेक्ट्रिक एसयूभीमध्ये पनि विशेष रुपमा लिइन्छ ।

अधिकतम पावर १०० किलोवाट रहेको यस कारले अधिकतम ३९५ एनएम टर्क उत्पादन गर्दछ । १५५ किलोमिटर प्रति घण्टाको गतिमा गुडाउन सकिने यो गाडीले एक पटकको फुल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ ।

३९.२ किलोवाट प्रति घण्टा ब्याट्री क्षमता रहेको हुन्डाई कोना नेपालमा सेतो, निलो, रातो र कालो रङमा पाउन सकिन्छ । याे गाडी तत्काल खरिद गर्न चाहनेलाई माग गरेको तीन महिनाभित्र उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ ।

 ७. सीजी केवाईसी (चङ्गन) 

सीजी केवाईसी (चङगन) चिनियाँ ब्रान्डको नयाँ कार हो । यो कार सन २०२१ मा विश्वको ६० देशमा बिक्री भएको थियो । नेपालमा भने पहिलो पटक सार्वजनिक हुन लागेको हो ।

८. ज्याक

एनईभी नेपालले सार्वजनिक गरेको ज्याक ई–टी८ यस पटक इभी एक्स्पो २०२२ मा अवलोकन गर्न सकिनेछ ।

नेपाल इलेक्ट्रिक भेहिकल प्राइभेट लिमिटेडले नेपालकै पहिलो नाडा ईभी एक्स्पोमा यो गाडी प्रदर्शन गर्न लागेको हो । ६७.२ किलोवाट प्रति घण्टा ब्याट्री क्षमता रहेको बोलेरो गाडीलाई एक पटकको फुल चार्जमा ३०० किलोमिटरदेखि ३५० किलोमिटरसम्म गुडाउन सकिनेछ ।

अधिकतम ३१० पावर भएको यस गाडीले ३३० एनएम टर्क उत्पादन गर्दछ । उच्चतम गति ९० किलोमिटर प्रति घण्टा रहेको यस गाडीको मूल्य नेपाली बजारमा ७२ लाख रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज ३, २०७९ ११:२९