close

चौंथो वर्ष प्रवेशसँगै ‘फेरिएको’ टेकपाना

टेकपाना टेकपाना

असोज १, २०७९ २१:१८

चौंथो वर्ष प्रवेशसँगै ‘फेरिएको’ टेकपाना

सूचना प्रविधि प्रधान समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्ने टेकपाना डट कमको यात्रा आजदेखि चौथो वर्ष प्रवेश गरेको छ ।

दैनिकीको अभिन्न हिस्साका रुपमा स्थापित सूचना प्रविधिलाई नेपाली परिवेशमा थप सहज ढङ्गले बुझाउने, प्रयोगका उपायसहित लाभहानिको जानकारी गराउने र परिवर्तित प्रविधि बजारसँगै त्यसको नीतिगत व्यवस्थाका लागि जिम्मेवार निकायलाई झक्झक्याउने दिशामा विगत तीन वर्ष टेकपाना डटकमले आफूलाई उभ्याएको छ ।

यही प्रयासलाई निकै विश्वास गरेर स्नेह दर्शाई दिनु भएकोमा सबैभन्दा पहिले हाम्रा प्रिय पाठक एवम् दर्शकलाई धेरैधेरै धन्यवाद ! 

हामीलाई थाहा छ, सूचना प्रविधिको प्रयोग त बढेको छ, तर त्यो सबैतिर भने होइन । सूचना प्रविधिमा पहुँच हुने र नहुनेबीच झन् गहिरो खाडल बन्ने आशंका बढ्न थालेको छ । टेकपाना डटकमको आगामी प्रयास प्रविधिमा पहुँच नहुने त्यही वर्गको हितमा बढी केन्द्रित गर्न चाहन्छौँ । त्यसका लागि कानुनी र नीतिगत सुनिश्चितताको पैरवी हाम्रा समाचार सामग्रीको प्राथमिकतामा रहनेछन् ।

प्रविधिको सही प्रयोगको अभावमा जोखिममा रहनेलाई (खासगरी नयाँ प्रयोगकर्ता) यसको सुरक्षित र सामयिक प्रयोगको बाटो देखाउने हाम्रो अर्को मूल ध्येय हुनेछ । टेकपाना डटकमले विगतमा पनि यही दिशामा आफूलाई उभ्याउँदै आएको स्पष्ट छ । 

विगतमा सूचना प्रविधि सम्बन्धी समाचार सामग्री आम सञ्चारमाध्यमका मुख्य प्राथमिकताका विषय हुँदैनथे । तर प्रयोगकर्ताको झुकाव यो क्षेत्रमा अत्यधिक बढ्दो थियो । सँगै प्रयोगका आयाम पनि झन् विस्तार हुँदै थिए ।

हुर्कदो युवा पुस्ता सूचना प्रविधिकै सहारामा आफ्नो भविष्यको बाटो तय गर्ने योजनामा देखिन्छन् ।  सञ्चार माध्यमले यस्तो बदलिँदो प्रवृत्तिलाई इन्कार गर्न मिल्दैन । समयको यही वास्तविकतालाई बुझेर टेकपाना डटकमले निरन्तर गरिरहेको प्रयत्नकै कारण सूचना प्रविधिसँग सम्बन्धित समाचार मूलप्रवाहमा आउन थालेका छन् । सञ्चार माध्यमले अब सूचना प्रविधिलाई बिर्सेर आफूलाई पूर्ण बनाउन नसक्ने अवस्था बनेको छ । 

चौथो वर्ष प्रवेशको खुसियालीमा छौँ, हामी । यो खुसीसँगै पाठक तथा दर्शकमाझ अर्को एउटा खुसीको खबर पस्किन चाहन्छौँ । यहाँहरूकै सुझाव सल्लाहअनुसार आजदेखि टेकपाना डटकमको वेबसाइटलाई झन् पाठकमैत्री बनाउने गरी परिवर्तन गर्दै छौँ ।

एक औपचारिक कार्यक्रमबीच आज दिउँसो टेकपाना डटकमको नयाँ वेबसाइट सार्वजनिक हुनेछ । सँगै आजदेखि नै टेकपानाका समाचार सामग्री मोबाइल एपमा समेत पढ्न र हेर्न सकिनेछ । सोही कार्यक्रममै उक्त एप समेत अनावरण गर्ने जमर्को हामीले गरेका छौँ । आशा छ, टेकपाना डटकमले समयसँगै आफूलाई फेर्न गरेका यी प्रयत्न यहाँहरूलाई मन पर्नेछन् । हामीलाई सुझाव पनि पक्कै दिनुहुने नै छ । 

अन्तमा, पत्रकारिताको मूल मर्म र मिडियाका रूपमा निर्वाह गर्नुपर्ने जिम्मेवारी हाम्रा हरेक समाचार सामग्री तयार गर्दैगर्दा मन्त्रका रूपमा सधैँ स्मरणमा हुनेछन् । मिडियाको बदलिँदो भूमिका र सीमासँग हामी पूर्णतः सचेत छौँ । फरक शैलीको हाम्रो पत्रकारितालाई सहजै विश्वास गरिदिनु भएकोमा पाठक एवम् दर्शक, विज्ञापनदाता, सरोकारवाला सबैलाई हार्दिक आभार सहित धेरै धन्यवाद । 

गोपाल साउद

सम्पादक

टेकपाना डटकम

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४