close

‘लक्की ड्र’ स्क्याममा यसरी फस्दैछन् नेपाली

हिक्मत आचार्य हिक्मत आचार्य

असोज ३, २०७९ १०:४

‘लक्की ड्र’ स्क्याममा यसरी फस्दैछन् नेपाली

काठमाडौं । बाँके, नेपालगन्जकी सरिता थारू (नाम परिवर्तन) सामान्य लेखपढ गर्न जान्ने मध्यम वर्गीय परिवारकी सदस्य हुन् । उनी नेपालगञ्जस्थित बीपी चोकमा आफ्ना पति राजेश थारू (नाम परिवर्तन) र छोरीसँग बस्ने गर्थिन् ।सरिताका पति राजेश प्रायः आफ्नो होटलमा नै बसिरहेका हुन्थे । सरिता भने छोरीसँग छुट्टै घरमा बस्थिन् । उनीहरूको भेट हप्तामा पनि विरलै हुने गर्थ्यो ।

सरिता प्रायः एक्लै हुन थालेपछि राजेशले उनका लागि स्मार्टफोन खरिद गरिदिए । नेपाली अक्षर मात्र पढ्ने जान्ने सरितालाई स्मार्टफोन प्रयोग गर्न केही असहज भइरहेको थियो । उनले धेरै कुरा आफ्ना पति र छोरीको सहयोगमा सिकिरहेकी थिइन् । उनका प्रायः आफन्त देशबाहिर भएकाले र नेपालमा भएका अन्य आफन्तसँग सामाजिक सञ्जालबाट कुरा गर्न सहज हुने भएपछि उनले मेसेजिङ एप इमो प्रयोग गर्न थालिन्  । 

कोठामा वाई–फाई नभएकाले बेलाबखत उनी मोबाइल डेटा प्रयोग गरेर इमो चलाउँथिन् । त्यही इमोमा आएको मेसेजको भर पर्दा उनी थुप्रै पक्षबाट ठगिएकी छन् ।

एकपटक उनलाई इमोमा २५ लाखको चिठ्ठा परेको मेसेज आयो ।

त्यसभन्दा पहिले कहिल्यै यस्तो मेसेज नदेखेकी उनी सो मेसेज देख्नासाथ उत्साहित भएर सो खबर श्रीमान् राजेशलाई सुनाइन् । राजेशले सामाजिक सञ्जालमा हुने यस्ता घटनाबारे जानकार थिए । त्यसैले उनले सरितालाई त्यसमा विश्वास नगर्न सुझाव दिए । तर, सरितालाई स्क्यामरको कुराले २५ लाख रुपैयाँ पाउने कुरामा निकै विश्वास लागेको थियो ।

उनी स्क्यामरले गरेको अडियो कललाई आधार बनाएर आफूले २५ लाख पाउने कुरामा विश्वस्त थिइन् । सरिताले उक्त खबर, रकम हात परेपछि मात्र श्रीमानलाई सुनाउने योजना बनाइन् । स्क्यामरको गिरोहले उताबाट २५ लाख जितेको कुरा विश्वस्त बनाउन विभिन्न नक्कली प्रमाणहरू पठाइरहेका थिए । यिनै प्रमाणलाई आधार बनाएर सरिता स्क्यामरले भनेका सबै कुरा मान्न तयार भइन् ।

“मलाई यस्तो कुराको जानकारी थिएन,“ सरिता भन्छिन्, “उनीहरूले हाम्रो खातामा २५ लाख पठाइदिने भनेपछि हो जस्तो लाग्यो ।“ स्क्यामरले सबैभन्दा पहिले सरितालाई उनको खाता नम्बर पठाउन भनेका रहेछन् । उक्त खातामा पैसा ट्रान्सफर गर्दा सरकारी कर तिर्नुपर्ने भएकाले उनलाई छुट्टै ई–सेवा अकाउन्टमा ५ हजार पठाउन भनियो ।

उनले उक्त पैसा पठाउन केही समय लाग्ने जानकारी दिइन् । त्यसपछि स्क्यामरले पैसा आउन ढिलो हुने कुरा अनुमान गरे । पैसाको कुरा गरेपछि पनि स्क्यामरले उनलाई अर्को जालोमा फसाउन चाहन्थे । त्यसपछि स्क्यामरले उनको नम्बर प्रयोग गरी ह्वाट्सएप अकाउन्ट खोलेर सोही नम्बरबाट स्क्याम गर्ने योजना बनाए ।

“उताबाट इमोमा कल गरेर उनीहरुले (स्क्यामर)ले मलाई एउटा नम्बर पठाएर त्यो नम्बरको ई-सेवा अकाउन्टमा पैसा पठाउन भने तर, मसँग पैसा थिएन । श्रीमानसँग मागेर पठाउँछु भनेर जवाफ दिए । उनीहरूले पैसा पठाउने काम केही समयपछि गरे पनि मेरो मोबाइलको मेसेजमा आएको ६ अङ्कको नम्बर पठाउन भने,“ थारूले भनिन्, “मैले पनि कसैलाई नसोधेर एसएमएसमा आएको नम्बर पठाएँ । त्यसपछि मलाई तपाईँ जस्तै धेरै मान्छेले कल गरिरहेका छन् ।“

सरिताले पैसाको मोहले आफ्नो मेसेज बक्समा आएको नम्बर कसैलाई नसोधेर पठाइन् । वास्तवमा त्यो नम्बर ह्वाट्सएपको ओटीपी नम्बर रहेछ । स्क्यामरले उनको नम्बर प्रयोग गरी ह्वाट्सएपको बिजनेस अकाउन्ट बनाएर थुप्रै मानिसहरूलाई स्क्यामिङको मेसेज पठाइरहेका रहेछन् । विभिन्न नेपाली ह्वाट्सएप प्रयोगकर्ता (जसलाई यो स्क्याम हो भन्ने जानकारी छ) ले ह्वाट्सएपमा आएको उक्त मेसेज नेपाली नम्बर भएको थाहा पाएपछि कल गर्ने गरेका रहेछन् ।

त्यसपछि उनलाई बारम्बार धेरै नम्बरबाट एउटै प्रकृतिका कल आउने क्रम जारी रह्यो । “कति जनाले त पुलिसलाई खबर गर्छौँ भन्नुहुन्छ,“ सरिता भन्छिन्, “कतिजनाले कल उठाउने बित्तिकै गाली गर्न सुरु गर्नुहुन्छ । किन गाली गर्नु भएको भन्ने मलाई थाहा नै थिएन । मलाई डर लागिरहेको थियो ।“ 

उनलाई दैनिक ३० देखि ४० ओटा कल आइरहेका हुन्थे । कल गर्ने सबैलाई उक्त काम आफूले नगरेको जवाफ दिँदादिँदै हैरान भएकी सरिताले अन्ततः आँट गरेर सो कुरा आफ्ना श्रीमानलाई भनिन् । उनका श्रीमानले त्यो घटनालाई कसरी समाधान गर्ने भनेर बुझे । उनलाई सोही नम्बरबाट नयाँ ह्वाट्सएप अकाउन्ट खोल्न सुझाव आयो । त्यसपछि उनलाई त्यस्ता कल दिनमा दुई÷तीन ओटा मात्र आइरहेको सरिता बताउँछिन् ।

डिजिटल साक्षरताको अभावमा सोझा साझा व्यक्ति कसरी सजिलै स्क्यामरको फन्दामा परिरहेका छन् भन्ने एउटा उदाहरण हो । त्यसो त मोबाइल र इन्टरनेटको प्रयोग बढेसँगै सामाजिक सञ्जाल हाम्रो दैनिकीको अभिन्न हिस्सा बनेको छ ।

सामाजिक सञ्जालकै प्रयोगले कतिपयको जीवनमा आमूल परिवर्तन आएको छ भने कतिपयको जिन्दगीलाई बर्बादितर्फ धकेलिदिएको छ । सामाजिक सञ्जालबाट विभिन्न नकारात्मक घटना (ठगी, भेटघाटको निहुँमा लुटपाट, बलात्कार) भइरहेका समाचार दिनहुँ जस्तो आइरहेका हुन्छन् । यसलाई आधार बनाउने हो भने नेपालमा डिजिटल साक्षरतालाई मानिसहरूले स्वभाविक तरिकाले नलिएको देखिन्छ ।

पछिल्लो केही समयदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा (विशेषगरी ह्वाट्सएप र इमो) ’लक्की ड्र’ को नाममा ठगी गरेका घटना आइरहेका हुन्छन् । त्यस्तोमा कतिपयलाई आफ्नो नम्बर उनीहरूसँग कसरी पुग्यो भन्ने लागिरहेको हुन सक्छ ।

साइबर सुरक्षा विशेषज्ञ नरेश लामगादे भन्छन्, “उनीहरूले विशेषगरी दुई ओटा तरिकाले हाम्रो नम्बर पाउने गर्छन् । एउटा भनेको कतै लिक भएको डेटाबाट र अर्को भनेको सिक्वेन्समा नम्बर मिलाएर पठाउँदा हाम्रो नम्बर परेको हुन्छ ।“

कतिपय अवस्थामा प्रयोगकर्ताले आफ्नो नम्बर कुनै असुरक्षित साइटमा लगइन गरेका छन् भने उनीहरूको नम्बर स्क्यामरले उक्त साइटबाट पनि पाएका हुन सक्छन् । यसरी विभिन्न नम्बर मिलाएर उनीहरूले ह्वाट्सएपमा हजारौं मानिसहरूलाई एकसाथ ’लक्की ड्र’ स्क्यामको मेसेज पठाउने गरेको उनले जानकारी दिए । यसरी ह्वाट्सएप तथा इमोमा आउने यस्ता मेसेजलाई केहीले बेवास्ता गरे पनि कतिपयले गम्भिर तरिकाले स्वीकार गर्छन् ।

डिजिटल साक्षरताको अभाव हुँदा यसरी थुप्रै नेपाली नम्बर स्क्यामिङका लागि प्रयोग भइरहेको अनुमान गर्न सकिन्छ । ह्वाट्सएप वा इमोमा आएका ’लक्की ड्र’ परेका भन्ने म्यासेज गलत मनसायले प्रवाह भइरहेका हुन्छन् । जसरी दिनानुदिन प्रविधिको स्वरूप बदलिरहेको छ त्यसरी नै त्यसबाट हुने अपराधका घटना बदलिरहेका छन् । कतिपय नयाँ प्रयोगकर्तालाई ह्वाट्सएप वा इमोमा हुने लक्की ड्रको बारेमा थाहा नभए पनि कतिपय प्रयोगकर्ता यस्ता कुराबारे जानकार छन् ।

ठगी सधैं यही प्रकृतिले भइरहन्छ भन्ने हुँदैन । ठगी गर्ने सोच भएका मानिसहरूले यसको स्वरूप परिवर्तन गरेर नयाँ तरिकाले ठगी गर्न खोजिरहेका हुन्छन् । सामाजिक सञ्जालमा आएका अफर वा त्यस्तो प्रकृतिका कुनै पनि अफरको सकेसम्म प्रतिक्रिया नदिनुहोस् । यदि दिनै पर्ने भए त्यसबारे केही बुझेको व्यक्तिलाई सो कुराको जानकारी दिनुहोस् ।

कसैले सामाजिक सञ्जालको प्रयोग गरेर रकम माग गर्नु मात्र ठगी होइन । तपाईँको नम्बर तपाईँको अनुमतिबिना विभिन्न प्रयोजनले प्रयोग गर्नु पनि एक किसिमको ठगी हो ।

पछिल्लो अध्यावधिक: असोज ४, २०७९ ७:५९