close

के विद्यार्थीको डिप्रेसनको कारण मार्क जुकरबर्ग हुन् ?

टेकपाना टेकपाना

असोज ३, २०७९ २०:३१

के विद्यार्थीको डिप्रेसनको कारण मार्क जुकरबर्ग हुन् ?

काठमाडौं । फेसबुक, मार्क जुकरबर्गले सन् २००४ मा तयार पारेको सामाजिक सञ्जालको एक माध्यम हो, जुन यो समयमा दैनिक दुई अर्ब मानिसले प्रयोग गरिरहेका छन् । यो माध्यम चर्चित हुन थालेपछि यसबारे कयौँ सकारात्मक र नकारात्मक पक्षको चर्चा हुने गरेको छ ।

यही माध्यमका कारण अहिले कलेज पढ्ने थुप्रै विद्यार्थीको मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको कुरा बाहिर आएको छ । यो कुरा अमेरिकाका विभिन्न विश्वविद्यालयमा फेसबुक प्रयोग गर्ने र नगर्ने विद्यार्थीबीच गरेको अध्ययनले देखाएको छ ।

केही समयपछि मात्र अमेरिकन इकोनोमिक्स रिभ्युको 'सोसल मिडिया एण्ड मेन्टल हेल्थ' शीर्षकमा प्रकाशित हुने यो अध्ययनले पहिले नै पुरस्कार पाइसकेको छ । यस अध्ययनमा फेसबुकका सुरुवाती दुई वर्ष (२००४(२००६) सार्वजनिक भएको अढाई वर्षको समयमा बढी केन्द्रित गरिएको छ ।

त्यो समयमा फेसबुक तीव्र गतिले शैक्षिक संस्थाहरूको माध्यमबाट फैलिरहेको थियो । त्यसैले त्यस समयमा फेसबुक प्रयोग गर्ने र नगर्ने विद्यार्थीबीच तुलना गर्न सम्भव थियो । उक्त अध्ययनमा फेसबुक प्रयोग गरेर डिप्रेसन र एन्जाइटी (चिन्ता) भएका विद्यार्थी ७ प्रतिशतबाट बढेर २० प्रतिशत पुगेको कुरा उल्लेख थियो ।

विद्यार्थीहरूमा गम्भीर डिप्रेसनमा वृद्धि

सन् २००४ मा फेसबुक हार्बर्ड विश्वविद्यालयका विद्यार्थीसँग मात्र पहुँच थियो । किनभने त्यस समयमा हार्बर्ड ईमेल एड्रेस हुने विद्यार्थीले मात्र आफ्नो अकाउन्ट बनाउन सक्थे । त्यसपछि फेसबुक अन्य विश्वविद्यालयमा फैलियो ।

सेप्टेम्बर २००६ सम्म फेसबुक अमेरिकाका हरेक सर्वसाधारणका लागि उपलब्ध भइसकेको थियो । अनुसन्धानकर्ताले फेसबुक सुरुवाती दुई वर्षमा तीव्र गतिले बढेको उल्लेख गरेका छन् ।

त्यो समयमा फेसबुक प्रयोग गर्ने विभिन्न प्रयोगकर्ताबीच अध्ययन गर्न सहज थियो । किनभने त्यसबेला सबैसँग फेसबुकको पहुँच थिएन, जसले गर्दा फेसबुक प्रयोग गर्ने र फेसबुक प्रयोग नगर्ने प्रयोगकर्ताको मानसिक अवस्थाबारे अध्ययन गर्न सहज थियो ।

अहिले अर्बौँ प्रयोगकर्ताले विभिन्न सामाजिक सञ्जालका अकाउन्ट प्रयोग गरिरहेका हुन्छन् । यसबाट एउटा सीमित माध्यमले पारेका प्रभावको हिसाब गर्न सकिँदैन ।

सामाजिक सञ्जाल र डिप्रेसन

विभिन्न अध्ययनले सामाजिक सञ्जालको प्रयोग र मानसिक अवस्थामा तिनले पार्ने समस्याबारे खोज गरेका छन् । अहिले थुप्रै सामाजिक सञ्जालका माध्यम विकास भइसकेपछि मानसिक स्वास्थ्यमा कुन माध्यमले समस्या पारेको छ भन्ने कुरा यकिन गर्न गाह्रो  छ ।

तर खोजकर्ताले नोबेल रिचर्ड पद्धति प्रयोग गरेर उक्त विषयमा अध्ययन गरेको बताएका छन् । यस अध्ययनबाट फेसबुक सार्वजनिक भएपछि विद्यार्थीहरूको मानसिक अवस्था कमजोर भएको पत्ता लागेको थियो । विशेषगरी उनीहरू डिप्रेसनबाट ग्रसित भएको उनीहरूको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज ३, २०७९ २०:३१