close

घट्यो मार्क जुकरबर्गको सम्पत्ति

टेकपाना टेकपाना

असोज ५, २०७९ १४:१२

घट्यो मार्क जुकरबर्गको सम्पत्ति

काठमाडौं । फेसबुक तथा मेटाका संस्थापक मार्क जुकरबर्गको मेटाभर्सको परियोजना वास्तविक संसारमा निकै महँगो सावित भएको छ ।

कुनै समय विश्वका धनाढ्यहरूको सूचीमा शीर्ष पाँचभित्र परिरहने अहिले २२औँ स्थानमा झरेका छन् ।

सन् २०२१ मा कुल औसत सम्पत्ति ९७ अर्ब डलर रहेकोमा सन् २०२२ को सुरुवातमा ७१ अर्ब पुगेको थियो । फेसबुक इन्कको नाम परिवर्तन गरेर मेटा इन्क राखेको एक वर्ष नपुग्दै उनको सम्पत्ति करिब ४५ प्रतिशतले घटेर ५२.८ अर्ब डलरमा पुगेको छ ।

३८ वर्षीय जुकरबर्गको दुई वर्षभन्दा कम समयअघि कुल १०६ अर्ब डलर सम्पत्ति रहेको थियो । उनको कम्पनीको शेयर प्रति कित्ता ३८२ डलर पुगेपछि सेप्टेम्बर २०२१ मा उनको सम्पत्ति १४२ अर्ब डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुमबर्गले उल्लेख गरेको छ ।

त्यसको एक महिनापछि अर्थात् २८ अक्टोबर २०२१ मा जुकरबर्गले मेटालाई परिचित गराई फेसबुक ईन्कको नाम परिवर्तन गरे । त्यसपछि उनको मेटाभर्स दुनियाँको खोजमा उनको यात्रा ओरालो लागिरहेको देखिन्छ । मार्क जुकरबर्गका समाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामका प्रतिद्बन्दी टिकटकले गर्दा पनि उनका प्लेटफर्मले दिनानुदिन प्रयोगकर्ता गुमाइरहेको छ ।

कम्पनीले आफ्नो लगानी मेटाभर्समा बढी गरेको भएकाले उनको सम्पत्ति घटेको नीधाम एण्ड कम्पनीकी वरिष्ठ इन्टरनेट विश्लेषक लाउरा मार्टिनले एक सञ्चार माध्यमसँगको अन्तर्वार्तामा बताएकी छिन् ।

यसो त जुकरबर्गले पनि उक्त परियोजनाका कारण अबको तीनदेखि पाँच वर्षसम्म कम्पनीको आम्दानी घट्ने बताएका थिए ।

ब्लुमबर्ग इन्टेलिजेन्सका प्रविधि विश्लेषक मन्दीप सिंह भन्छन्, "यदि मेटाले भर्चुअल रियालिटीमा काम नगरेको भए अहिले यो कम्पनी गुगलभन्दा अघि पुगिसकेको हुन्थ्यो ।"

जुकरबर्गको प्रायः सबै सम्पत्ति मेटाको स्टकमा जोडिएको छ । कम्पनीको पछिल्लो प्रोक्सी स्टेटमेन्ट अनुसार मार्क जुकरबर्गसँग मेटाको ३५० मिलियन शेयर रहेको छ, जसको मूल्य अहिले प्रतिकित्ता १४६.०९ डलर छ ।

 

 

पछिल्लो अध्यावधिक: असोज ५, २०७९ १४:१२