close

सुरु भयो नाडा ईभी एक्स्पो, यस्ता छन् मुख्य आकर्षण

टेकपाना टेकपाना

असोज ६, २०७९ १२:४३

सुरु भयो नाडा ईभी एक्स्पो, यस्ता छन् मुख्य आकर्षण

काठमाडौं । राजधानीमा आजदेखि नाडा ईभी एक्स्पो सुरु भएको छ । नाडा मोबाइल्स एसोसिएसको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा चार दिनसम्म चल्ने एक्स्पोको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरे । 

विद्युतीय सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको वृहत् प्रदर्शनीका रूपमा यो एक्स्पो आयोजना गरिएकाे नाडाले जनाएकाे छ ।

एक्स्पाेमा कुल ५१ ओटा स्टल र ब्लक छन् । यसअन्तर्गत सात ब्रान्डका चार पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे, १६ ब्रान्डका दुई पाङ्ग्रे, तीन ब्रान्डका टायर, दुई ब्रान्डका ब्याट्री, नाै ओटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा चार विभिन्न वित्तीय संस्था सहभागी रहेकाे जनाइएकाे छ ।

आयोजकका अनुसार ईभी एक्स्पोमा हाल नेपाली बजारमा उपलब्ध विद्युतीय सवारी साधनहरू देख्न सकिनेछ ।

नेपालमा विदेशी मुद्रा सञ्चितिमा ह्रास आएको भन्दै सरकारले अतिआवश्यक बाहेकका अन्य वस्तु आयातमा रोक लगाएकाले नयाँ सवारी प्रदर्शनीमा राखिने छैन ।

एक्स्पोमा मुख्य आकर्षणका रूपमा रहेका विद्युतीय सवारी

१. नेटा 

चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले भित्र्याएको नेटा ईभी एक्स्पाेमा राखिने छ । यो कारले एक पटकको फुल चार्जमा ३८० भन्दा माथिको रेन्ज प्रदान गर्दछ । साथै ३८.५४ किलोवाट प्रति घण्टा ब्याट्री र १६० एनएम टर्क उत्पादन गर्दछ । यसको उच्च गति १०१ किलोमिटर प्रति घण्टा रहेको छ ।

कम्पनीले ब्याट्री, मोटर र पावर इलेक्ट्रोनिक्समा ८ बर्ष वा एक लाख ५० हजार किलोमिटर सम्मको वारेन्टी प्रदान गरेको छ । त्यस्तै अन्य संरचनामा भने १० वर्ष वा एक लाख ५० हजार किलोमिटरसम्म वारेन्टी तोकिएको छ । नेपाली बजारमा यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ छ ।

२. टाटा नेक्सन

पछिल्लो समय टाटा नेक्सनलाई नेपाली बजारमा लोकप्रिय विद्युतीय सवारी साधनको रुपमा लिइन्छ । ट्राइ एरो डिजाइनमा रहेको यस विद्युतीय सवारीमा १२९ पिएसको पावर र १२९ एनएम बराबरको अधिकतम टर्क उत्पन्न गराउन सक्ने क्षमता रहेको छ । 

एक पटकको फुल चार्जमा ३१२ किलोमिटरसम्म गुडाउन सकिन्छ । यो कार पनि नाडा ईभी एक्पो २०२२ मा अवलोकन गर्न सकिने छ ।

 ३. टेस्ला 

टेस्लाको मोडल वाई नेपाली बजारमा रुचाइएको अर्काे विद्युतीय सवारीमध्ये एक हो । नेपालमा टेस्ला सवारी तीन मोडलमा उपलब्ध छ । टेस्लाको वाई मोडलको कुरा गर्नुपर्दा एक पटकको फुल चार्जमा यसबाट ३२६ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ भने, १५५ माइलको उच्च गतिमा गुडाउन सकिने कम्पनीले दावी गरेको छ ।

हाल नेपाली बजारमा टेस्ला मोडल वाईको मूल्य एक करोड ६५ लाख रुपैंयाँ रहेको छ । नाडा इभी एक्स्पो २०२२ मा टेस्ला मोडल वाई, टेस्ला मोडल ३ र टेस्ला मोडल एक्समध्ये कुन मोडल राख्ने भन्ने विषयमा यकिन भइनसकेको कम्पनीले जनाएको छ ।

४. बीवाईडी एट्टो 

नेपाली बजारमा पाइने विभिन्न विद्युतीय सवारीको ब्रान्डमध्ये बीवाईडी एट्टो पनि एक हो । बीवाईडी एट्टो एक वर्षअगाडि नै नेपालमा उपलब्ध छ ।

ड्रागन फेस डिजाइनमा निर्माण गरिएको यो कारमा ब्लेड ब्याट्री उपलब्ध छ । ३२० किलाेमिटरसम्मकाे स्ट्यान्डर्ड रेन्ज दिने यस कारले १६० किलोमिटर प्रति घण्टाको उच्च गतिमा गुड्नसक्ने बताइएकाे छ ।

५. ट्रीओ 

अग्नि इनर्जी प्रा.लि. ले ल्याउन लागेको ट्रीओ नयाँ लुक्समा देख्न सकिने छ । यो तीन पाङ्ग्रेमध्येमा काठमाडौं उपत्यकामा पहिलो ईभी टेम्पोको रुपमा देख्न सकिने छ ।

लिथियम आयन ४८ भोल्टेजमा ब्याट्री उपलब्ध छ । त्यस्तै ब्याट्री क्षमता ७.३७ किलोवाट प्रति घण्टा रहेको छ, जसलाई चार्ज गर्न ३ घण्टा ५० मिनेट लाग्नेछ । एक पटकको फुल चार्जमा १४१ किलो मिटर सम्म गुडाउन सकिनेछ, भने यसको उच्चतम गति ५५ किलोमिटर प्रति घण्टा रहेको कम्पनीले दाबी गरेको छ । 

६. कोना

लक्ष्मी इन्टरनेशनल प्राइभेट लिमिटेड नेपाल, हुन्डाई कोनाको नेपाली आधिकारिक बिक्रेता हो । हुन्डाई कोनालाई इलेक्ट्रिक एसयूभीमध्ये पनि विशेष रुपमा लिइन्छ ।

अधिकतम पावर १०० किलोवाट रहेको यस कारले अधिकतम ३९५ एनएम टर्क उत्पादन गर्दछ । १५५ किलोमिटर प्रति घण्टाको गतिमा गुडाउन सकिने यो गाडीले एक पटकको फुल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ ।

३९.२ किलोवाट प्रति घण्टा ब्याट्री क्षमता रहेको हुन्डाई कोना नेपालमा सेतो, निलो, रातो र कालो रङमा पाउन सकिन्छ । याे गाडी तत्काल खरिद गर्न चाहनेलाई माग गरेको तीन महिनाभित्र उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ ।

 ७. सीजी केवाईसी (चङ्गन) 

सीजी केवाईसी (चङगन) चिनियाँ ब्रान्डको नयाँ कार हो । यो कार सन २०२१ मा विश्वको ६० देशमा बिक्री भएको थियो । नेपालमा भने पहिलो पटक सार्वजनिक हुन लागेको हो ।

८. ज्याक

एनईभी नेपालले सार्वजनिक गरेको ज्याक ई–टी८ यस पटक इभी एक्स्पो २०२२ मा अवलोकन गर्न सकिनेछ ।

नेपाल इलेक्ट्रिक भेहिकल प्राइभेट लिमिटेडले नेपालकै पहिलो नाडा ईभी एक्स्पोमा यो गाडी प्रदर्शन गर्न लागेको हो । ६७.२ किलोवाट प्रति घण्टा ब्याट्री क्षमता रहेको बोलेरो गाडीलाई एक पटकको फुल चार्जमा ३०० किलोमिटरदेखि ३५० किलोमिटरसम्म गुडाउन सकिनेछ ।

अधिकतम ३१० पावर भएको यस गाडीले ३३० एनएम टर्क उत्पादन गर्दछ । उच्चतम गति ९० किलोमिटर प्रति घण्टा रहेको यस गाडीको मूल्य नेपाली बजारमा ७२ लाख रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज ६, २०७९ १५:१९