close

अब नेपालमै विद्युतीय गाडी बनाउनुपर्छः अर्थमन्त्री

टेकपाना टेकपाना

असोज ६, २०७९ १४:३

फाइल तस्वीर फाइल तस्वीर

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै विद्युतीय गाडी निर्माण गर्नुपर्ने बताएका छन् । राजधानीमा बिहीबार नाडा ईभी एक्स्पो उद्घाटन गर्दै मन्त्री शर्माले यसका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“नेपालमै विद्युतीय गाडी बन्नुपर्ने माग मेरो पनि छ । तपाईँहरु मिलेर एउटा उद्योग बनाउनुस् वा १० ओटा बनाउनुस् । तर बनाउनुस् । यसका लागि ब्याजमा कहाँ मद्धत गर्नुपर्छ, बिजुलीमा कहाँ मद्धत गर्नुपर्ने हो, भन्सारमा कहाँ मद्दत गर्नुपर्ने हो, सरकार तयार छ,” उनले भने ।

नेपालको सन्दर्भमा गत वर्षमात्रै करिब तीन खर्बको पेट्रोलियम इन्धन आयात भएको बताउँदै यसले देशमा तरलता अभाव सिर्जना हुन नदिन विद्युतीय सवारीको प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।

साथै बजेट कार्यक्रममा ग्रीन हाइड्रोजन र ग्रीन एमोनियाका विषय समावेश भएको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत, पुँजी आदिलाई प्रविधिको प्रयोग गरी अर्थतन्त्र बढाउन सकिने भनाइ राखे । 

सम्पूर्ण पेट्रोलियम गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने योजनाबारे पनि सरकार अध्ययनमा जुटेको उनले जनाए । 

आजदेखि सुरू भएको ईभी एक्स्पो चार दिनसम्म सञ्चालन हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज ६, २०७९ १५:३८