close

लाइसेन्सका लागि ७० अंक ल्याए पास हुने व्यवस्था फेरि स्थगित

टेकपाना टेकपाना

असोज ७, २०७९ १३:४५

लाइसेन्सका लागि ७० अंक ल्याए पास हुने व्यवस्था फेरि स्थगित

काठमाडौं । बागमती प्रदेशभित्र सवारी चालक अनुमतिपत्रको ट्रायलमा अंकभार प्रणाली तत्काल लागू नहुने भएकाे छ । आवश्यक तयारी पूरा नभएको भन्दै प्रदेश अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले यो प्रणाली कार्यान्वयनमा ल्याउन नसकेको जानकारी दिएको छ ।

यसअघि बागमती प्रदेशमा असोजदेखि यो व्यवस्था लागू हुने बताइएको थियो ।

मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलका अनुसार प्रदेश अन्तर्गतका यातायात कार्यलयहरूले आवश्यक तयारी पूरा नभएको जनाएपछि अंकभार प्रणाली स्थगित गरिएकाे हाे ।

‘सरोकारवालाहरूसँग छलफल गरिसेकपछि असोज १ देखि सवारी चालक अनुमतिपत्रको ट्रयालमा ७० अंक ल्याए पास हुने नियम लागू गर्ने निर्णय भएको थियो । यातायात कार्यालयहरू अझै पनि तयार नभइसकेको हुँदा यो नियम लागू गर्न नसकिएको हो,’ उनले टेकपानासँग भने ।

प्रदेश अन्तर्गत हाल एउटा कार्यालयले कम्तीमा पनि ८०० देखि ८५० जनाको परीक्षा लिने गरेको छ ।

सेवाग्राहीकाे चाप धेरै भएका कारण नयाँको लागि तयारी गर्न नसकिएको उनकाे भनाइ छ । 

साथै अब कहिलेदेखि अंक प्रणाली लागू हुनेछ भन्ने विषयमा अहिले नै केही भन्नसक्ने स्थिति नभएको उनले बताए । 

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ १४:४७