close

आईफोन १४ को 'क्रयाश डिटेक्सन फिचर' परीक्षण गर्न जानीजानी कार ठोकाएपछि...

टेकपाना टेकपाना

असोज ७, २०७९ १४:३८

आईफोन १४ को 'क्रयाश डिटेक्सन फिचर' परीक्षण गर्न जानीजानी कार ठोकाएपछि...

काठमाडौं । एक युट्युबरले आईफोन १४ प्रोमा भएको नयाँ क्रयाश डिटेक्सन फिचर परीक्षण गर्नका लागि आफ्नो कार नै ठोकाएका छन् ।

७० लाख बढी सब्सक्राइबर भएका युट्युबर 'टेकर्‍याक्स'ले उक्त परीक्षण गरेका हुन् । यस क्रममा उनले एउटा कारमा गोप्रो क्यामेरा र आईफोन १४ प्रो जडान गरेर सो कारलाई अर्को पुरानो कारमा रिमोट प्रयोग गरी ठोकाएका थिए ।

टेकर्‍याक्सले सबैभन्दा पहिले पुरानो कारमा ठोकाएका थिए । त्यसबेला फोनले कुनै रेस्पोन्स गरेको थिएन ।

त्यसपछि उनले एउटा लाइनमा विभिन्न कार राखेर आईफोन १४ प्रो भएको कारलाई पुराना कारहरूमा ठोकाएका थिए ।

"आईफोन १४ मा भएको क्रयाश डिटेक्सन फिचरले साँच्चै काम गर्छ वा स्क्याम मात्र हो, आज हामी चेक गर्न गइरहेका छौँ," उनले भिडिओको सुरुवातमा भनेका छन् ।

विभिन्न पुराना कारलाई एउटा लाइनमा राखेर उनले आईफोन १४ जडान गरिएको कारलाई सोझै ती कारमा ठोकाए । त्यसपछि उक्त फोनमा क्र्याश भएको देखिएको छ ।

एप्पलले भने अनुसार आईफोन १४ ले गम्भीर दुर्घटना भएको पहिचान गरेर आपतकालीन सेवाका लागि इमर्जेन्सी कन्ट्याक्टका नम्बरलाई जानकारी दिन्छ ।

यदि कार दुर्घटना भएको २० सेकेन्डसम्म सो व्यक्तिले कुनै प्रतिक्रिया दिएन वा क्यान्सिल गरेन भने इमर्जेन्सी सेवाका लागि कल जान्छ ।

एप्पल भन्छ, "यदि तपाईँले कुनै पनि प्रतिक्रिया जनाउनुभएन भने तपाईँको आईफोनले इमर्जेन्सी सेवाका लागि अडियाे मेसेज पठाउँछ । जसले उनीहरूलाई तपाईँ गम्भीर दुर्घटनामा परेको जानकारी दिन्छ । त्यसका साथै तपाईँको आईफोनले तपाईँ रहेको लोकेसनको औसत 'ल्याटिट्युडनल र लङ्गिट्युटडनल कोअडिनेट' उपलब्ध गराउँछ ।"

एप्पलले क्रयाश डिटेक्सन फिचर आफ्नो नयाँ एप्पल वाचमा समेत उपलब्ध गराएको छ । यो डिफल्ट रूपमा अन भएर आउने भएकाले यसलाई सेटिङबाट अप गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ १४:४७