close

साइबर ब्यूरोलाई दक्षिण कोरियाको १ अर्ब ४ करोड अनुदान

टेकपाना टेकपाना

असोज ८, २०७९ ११:४४

साइबर ब्यूरोलाई दक्षिण कोरियाको १ अर्ब ४ करोड अनुदान

काठमाडौं । साइबर ब्यूरोको क्षमता अभिवृद्धि र सुदृढीकरणका लागि अर्थ मन्त्रालय र कोरियाको नेपालस्थित राजदूतावासबीच सम्झौता भएको छ ।

गणतन्त्र कोरिया सरकारको तर्फबाट गणतन्त्र कोरियाको राजदूतावासले "नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना" गर्ने आयोजनाका लागि ८० लाख अमेरिकी डलर (करिब १ अर्ब ४ करोड रुपैयाँ) अनुदान उपलब्ध गराउने सम्झौता गरिएको हो ।

उक्त समझदारीपत्रमा अर्थ सचिव श्री कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ-सुक पार्कले हस्ताक्षर गरेका थिए । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA) ले सम्बन्धित मन्त्रालय र अन्य सरकारी निकायहरूसँगको सहकार्य र समन्वयमा आयोजनाहरू कार्यान्वयन गर्ने बताइएको छ ।

साइबर ब्यूरो परियोजनाको मुख्य उद्देश्य नेपाल प्रहरीको साइबर अपराध विरुद्धको क्षमतालाई सुदृढ गर्नु रहेको बताइएको छ ।

यस आयोजना अन्तर्गत साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धानसँग सम्बन्धित उपकरण र डिजिटल फरेन्सिक ल्याब उपलब्ध गराउने र नेपाल प्रहरीको सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि हुनेछ ।

कोरियाली राजदुत चोङसुक पार्कले विश्वभर र नेपालमा पनि व्यापक रूपमा बढ्दै गएको साइबर अपराधको दरप्रति चिन्ता व्यक्त गर्दै साइबर अपराध नियन्त्रण गर्न नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न साइबर अपराध नियन्त्रण आयोजना महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: असोज ९, २०७९ १४:३३