close

अमेरिकाका स्कुल बसमा अब स्टारलिङ्कको इन्टरनेट

टेकपाना टेकपाना

असोज ८, २०७९ १२:३४

अमेरिकाका स्कुल बसमा अब स्टारलिङ्कको इन्टरनेट

काठमाडौं । स्पेसएक्सले अमेरिकाका विभिन्न विद्यालयमा आफ्नो स्याटलाइट इन्टरनेट विस्तार गर्ने योजना अगाडि बढाएको छ । मंगलबार अमेरिकाको फेडरल कम्प्युनिकेसन कमिसन (एफसीसी)लाई एक चिठी पठाउँदै स्पेसएक्सले आफ्नो योजनाबारे जानकारी दिएकाे छ ।

उक्त चिठीमा स्पेसएक्सले एफसीसीलाई ग्रामीण जिल्लाका विद्यालयसँग सहकार्य गरेर स्कुल बसमा स्टारलिङ्कको इन्टरनेट सेवा उपलब्ध गराउनेबारे काम गरिरहेको उल्लेख गरेकाे छ ।

एलन मस्कको कम्पनीले एफसीसीलाई भने अनुसार अहिले उक्त कम्पनी घण्टौँ लाग्ने बस रुटहरूका लागि पाइलट प्रोग्राममा केन्द्रित छ । उनीहरू त्यस्तो क्षेत्रमा काम गरिरहेका छन्, जहाँ मोबाइल ब्रोडब्यान्ड सेवा प्रभावित छ ।

"थुप्रै विद्यार्थीहरू, जसलाई स्कुल जाँदा लामो यात्रामा इन्टरनेट आवश्यक परिरहेको हुन्छ, उनीहरूलाई इन्टरनेटको पहुँच पुगेको छैन," स्पेसएक्सले एफसीसीलाई पठाएको चिठीमा भनेको छ, "कम आयस्रोत भएका विद्यार्थीहरूसँग घरमा पनि इन्टरनेट छैन ।"

चिठीमा स्पेस क्सले एफसीसीसँग स्कुल बसहरूमा वाई-फाई जडान गर्नका लागि संघीय कोष (फेडरल फन्डिङ) स्वीकृत गरिदिन आग्रह गरेको छ ।

हालसम्म स्पेसएक्स र एफसीसीले त्यसपछिका प्रक्रियाबारे कुनै जानकारी दिएका छैनन् । केही महिनाअघि मात्र स्पेसएक्सले अमेरिकाको ग्रामीण समुदायमा इन्टरनेट उपलब्ध गराउन ८६६ मिलियन डलरको सब्सीडी माग गरेपनि एफसीसीले अस्वीकार गरेको थियो ।

मस्कको कम्पनीले गत जुन महिनामा मात्र गाडीहरूमा स्टारलिङ्क इन्टरनेट प्रयोग गर्ने स्वीकृति पाएको थियो ।

गत हप्ता स्पेसएक्सले ३० हजार फिटभन्दा माथि प्राइभेट जेट प्लेनमा स्टारलिङ्कको परीक्षण गरेको थीयो ।

हाल विश्वभर स्टारलिङ्कका चार लाख बढी प्रयोगकर्ता रहेका छन् । कम्पनीसँग हाल तल्लो कक्ष (Lower Orbit) मा २५०० बढी स्याटलाइटहरू रहेका छन् ।

यो सेवालाई ग्रामीण भाग तथा अग्ला ठाउँमा २०० एमबीपीएस इन्टरनेट स्पीड उपलब्ध गराउन सकिने गरी डिजाइन गरिएको छ । 

 

 

पछिल्लो अध्यावधिक: असोज ८, २०७९ १२:५०