close

विद्युतीय स्कुटरमार्फत सामान डेलिभरी गर्दै दराज

टेकपाना टेकपाना

असोज ८, २०७९ १६:२

विद्युतीय स्कुटरमार्फत सामान डेलिभरी गर्दै दराज

काठमाडौं । ई-कमर्स प्लेटफर्म दराजले डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने भएको छ । कम्पनीको वातावरणमैत्री सञ्चालनतर्फको योजना अनुरुप कम्पनीले डेलिभरीको लागि विद्युतीय स्कुटरको प्रयोग गर्ने निर्णय गरेको हो ।

एक विज्ञप्ति जारी गर्दै कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जनाएको छ । हाललाई यी स्कुटरहरू काठमाडौं उपत्यकाभित्र मात्र डेलिभरीको लागि प्रयोग गरिनेछ ।

कम्पनीका अनुसार यो विद्युतीय स्कुटर धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुल्चोक, सानेपा, जावलाखेल लगायतका केही क्षेत्रका ग्राहकलाई सामान पुर्याउन प्रयोग गरिने छ ।

यस नयाँ पहलमार्फत, दराजले आयातित इन्धनको खपतलाई स्वदेशमै उत्पादन हुने "क्लिन एण्ड ग्रिन” बिजुलीले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरेको छ ।

साथै, कम्पनीले दुई र चार पाङ्ग्रे दुवै खण्डमा आफ्नो फ्लीटमा विद्युतीय सवारी साधनको संख्यालाई थप विस्तार गर्ने योजना रहेको पनि बताएको छ । “यो दराजमा दिगो तथा वातावरणमैत्री सञ्चालन तिरको थप एक कदम हो । हामी सधैं वातावरणमा हाम्रो कार्बन फुटप्रिन्ट कम गर्न कोसिस गर्दैछौं ।

हामी हाम्रो प्याकेजिङ्गको लगभग ८० प्रतिशत कामको लागि पुन: प्रयोग गरिएको कागज प्रयोग गर्दछौं र पूर्ण रूपमा कागजविहीन जाने प्रयास गर्दैछौं," दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले बताइन् ।

शुक्रबार दराजको थसिखेल हबमा आयोजित कार्यक्रममा दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीका गोपी कृष्ण, सोल्टीमोड र थसिखेल हबका डेलिभरी हिरोहरुलाई विद्युतीय बाइकको साँचो हस्तान्तरण गरेकी थिइन् ।

 

पछिल्लो अध्यावधिक: असोज ९, २०७९ १४:३२