close

इरानी सरकारले इन्टरनेट बन्द गरेपछि स्टारलिङ्कको स्याटलाइटबाट सेवा दिने एलन मस्कको घोषणा

टेकपाना टेकपाना

असोज ९, २०७९ २१:५८

इरानी सरकारले इन्टरनेट बन्द गरेपछि स्टारलिङ्कको स्याटलाइटबाट सेवा दिने एलन मस्कको घोषणा

काठमाडौं । इरानमा सरकार विरुद्धको आन्दोलन चर्किरहेको बेला इरानी सरकारले देशभर इन्टरनेट बन्द गरेको छ । जनतालाई इन्टरनेट प्रतिबन्ध गराउँदा एलन मस्कले भने स्टारलिङ्कको स्याटलाइटमार्फत इरानी जनतालाई इन्टरनेट उपलब्ध गराउने घोषणा गरेका छन् । फोर्ब्सका अनुसार अमेरिकी सरकारले आफ्ना इन्टरनेट सेवाप्रदायकलाई इरानमा सेवा उपलब्ध गराउन बाटो खोलिदिएपछि मस्कले यस्तो घोषणा गरेका हुन् । 

शुक्रबार मात्रै अमेरिकी सरकारले आफ्ना इन्टरनेट सेवाको नीतिमा संसोधन गरेर इरानमा इन्टरनेट सेवा उपलब्ध गराउने बाटो खुलाएको हो । स्टारलिङ्कको स्याटलाइट मार्फत उपलब्ध गराइने इन्टरनेटको पहुँच कति हुनेछ र कसरी उपलब्ध पुर्‍याइनेछ भन्ने विषयमा अहिले नै कुनै जानकारी आइसकेको छैन । 

इरानी पत्रकार महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानी जनता सरकार विरुद्ध उर्लिएका छन् । यही विषयलाई लिएर इरानी सरकारले इन्टरनेटमा बन्देज लगाएको हो । बुधबारदेखि इन्टरनेट सेवा बन्द गरिएपछि त्यसले आन्दोलनलाई थप चर्काएको छ । यसअघि सन् २०१९ मा पनि इरानी जनताले इन्धनको मूल्य बढाएको विरोधमा आन्दोलन गर्दा सरकारले इन्टरनेट बन्द गरिदिएको थियो । 

 बुधबारदेखि बन्द भएको इन्टरनेट कनेक्सन केही समयको लागि बिहीबार खुल्ला गरिए पनि शुक्रबारदेखि पुन: बन्द भएको उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १६:१७