close

कस्तो प्रविधि हो आईफोन १४ मा आएको ‘फोटोनिक इन्जिन’ ?

टेकपाना टेकपाना

असोज ९, २०७९ २२:२५

कस्तो प्रविधि हो आईफोन १४ मा आएको ‘फोटोनिक इन्जिन’ ?

काठमाडौं । एप्पलले केही साता अघि मात्र आफ्नो बहुप्रतिक्षित आईफोन १४ सिरिज सार्वजनिक गरेको थियो । कम्पनीले नयाँ आईफोन सार्वजनिक गरेसँगै त्यसमा भएका विभिन्न फिचरहरूको चर्चा भइरहेको छ । त्यसमा विशेषगरी डाइनामिक आइल्याण्ड फिचर, इमर्जेन्सी एसओएस भाय स्टाटलाइट, अलवेज अन डिस्प्लेका लागि प्रो-मोसन प्रविधि तथा फोटोग्राफीका लागि फोटोनिक इन्जिन फिचर समावेश छन् । आज हामी आईफोन १४ मा भएको फोटोनिक इन्जिन भनेको के हो, यसले कसरी काम गर्छ भन्ने विषयमा चर्चा गर्दै छौँ । 

कम्प्युटेसनल फोटोग्राफी

यदि तपाईँ मोबाइल फोटोग्राफीमा रुचि राख्नुहुन्छ भने तपाईँले कम्प्युटेसनल फोटोग्राफी भन्ने शब्द पक्कै पनि सुन्नु भएको होला । यसले विशेषगरी अल्गोरिदम र सफ्टवेयरको सहयोगमा फोटोलाई स्मार्टफोनको सानो क्यामेराबाटै आकर्षक बनाउने काम गर्छ । यही प्रविधिले गर्दा आईफोनले डीएसएलआर तथा मिररलेस क्यामेराभन्दा सानो हुँदा पनि आकर्षक फोटो खिच्ने गर्छ ।

फोटोलाई मिडदेखि लो लाइट (मध्यम देखि न्यून प्रकाश) अवस्थामा पनि आकर्षक फोटो खिच्नका लागि यो प्रविधिले सघाएको हुन्छ । त्यसका साथै यसले फोटोको डिटेल, कलर फिडेलिटी तथा उच्च ब्राइटनेस उपलब्ध गराउन सघाएको हुन्छ ।

एप्पलका अनुसार आईफोन १४ को प्रो र प्रो म्याक्स मोडेलको अल्ट्रावाइड क्यामेरामा तीन गुणा बढी सुधार पाउन सकिनेछ । कन्ट्रास्टको सन्दर्भमा भने यसले तस्वीरहरू आईफोन १४ र १४ प्लसको अल्ट्रावाइड शुटरमा दुई गुणा बढी आकर्षक देखाउँछ ।

  

यसले कसरी गर्छ काम ?

एप्पलका अनुसार फोटोनिक इन्जिनले यसमा भएको डिप फ्युजन प्रविधिको प्रयोग गरी आईफोनको क्यामेराबाट खिचिएको फोटोको गुणस्तर बढाउँछ । डिप फ्युजन कम्प्युटेसनल फोटोग्राफीको एउटा प्रख्यात टेक्निक हो । जसलाई एप्पलले आईओएस १३.२ मा आईफोन ११ सिरिजका माध्यमबाट बाहिर ल्याएको थियो । यो आईफोन एसई बाहेक अन्य हरेक नयाँ आईफोन मोडेलमा उपलब्ध छ ।

डिप फ्युजनले विभिन्न एक्सपोजरमा नौ ओटा फोटो खिचेर त्यसलाई जोडी आकर्षक फोटो तयार पार्ने काम गर्छ । यो प्रक्रियामा लाखौँ पिक्सेललाई पहिचान गरेर त्यसमध्येबाट सबैभन्दा उत्कृष्ट पिक्सेललाई छनौट गरी अन्तिम परिणाम निकालिन्छ । जसले गर्दा आईफोनबाट खिचेका फोटोमा नोइज अर्थात अनावश्यक र बिग्रिएको भाग हटेको हुन्छ ।

एप्पलले आईफोनमा भएको डिप फ्युजनका माध्यमबाट फोटोलाई उपयुक्त कलर उपलब्ध गराउने, फोटोको डिटेललाई सुधार गर्ने, उपयुक्त टेक्स्चर दिने दाबी गरेको छ ।

कुन आईफोनमा फोटोनिक इन्जिन छ ?

फोटोनिक इन्जिन आईफोन १४ सिरिजमा मात्र उपलब्ध छ । यसपछि आउने हरेक आईफोन सिरिजमा यो फिचर रहने अपेक्षा गर्न सकिन्छ । कम्पनीले आईफोन १३ को क्यामेरा हार्डवेयरमा परिवर्तन ल्याई आईफोन १४ मा फोटोनिक इन्जिन समावेश गरेको हो ।

फोटोनिक इन्जिन कसरी प्रयोग गर्ने ?

नाइटमोड वा त्यस्तै फिचर जस्तै यो फिचरलाई डिसेबल वा इनेबल गर्ने आवश्यकता पर्दैन । यो फिचरलाई आईफोनले आवश्यक भएको महसुस गर्‍यो भने ब्याकग्राउन्डमा स्वतः सक्रिय तुल्याउँछ । यसको अर्थ तपाईँले यो फिचर म्यानुअल्ली इनेबल वा डिसेबल गरिरहनु पर्ने झन्झट उठाउनु पर्दैन । तर, यदि तपाईँ नाइट मोडका लागि उपयुक्त नहुने ठाउँ (कम उज्यालो  भएको ठाउँ जहाँ नाइट मोडले काम गरेको हुँदैन) मा रहनु भएको छ भने आईफोनले फोटोमा सुधार ल्याउन यो प्रविधि प्रयोग गर्नेछ ।

 

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १६:१६