close

बालबालिकाकाे सिकाइमा सहयाेग गर्ने ८ उपयाेगी वेबसाइट

टेकपाना टेकपाना

असोज १०, २०७९ १२:३१

बालबालिकाकाे सिकाइमा सहयाेग गर्ने ८ उपयाेगी वेबसाइट

काठमाडाैं । प्रविधिकाे जमानामा बालबालिकाहरुले ल्यापटप, कम्प्युटर अथवा माेबाइल फाेन प्रयाेग गर्नु सामान्य बन्दै गइरहेकाे छ । अर्काे पाटाेमा ‘माेबाइल अथवा ल्यापटपमा धेरै समय’ भनेर  अभिभावकहरुले गर्ने  गुनासाे छँदै छ । तर सही प्रविधिसँग उनीहरु परिचित भए भने त्यसले एउटा राम्राे नतिजा ल्याउँदछ । बालबालिकालाई पढाउने, सामान्य सीपहरु सिकाउने वेबसाइटहरु धेरै छन्, जहाँ अभिभावक अथवा शिक्षकशिक्षिकाले सहजीकरण गरि दिएर उनीहरुलाई सिकाउन सकिन्छ । आज हामी तीमध्ये ८ वेबसाइटकाे चर्चा गर्दैछाैँ, जसले बालबालिकालाई प्रविधिसँग थप परिचित गराउनुका साथै उसकाे पढाइ र व्यक्तिगत विकासमा समेत सहयाेग गर्दछ ।

 

१. कुल म्याथ

याे वेबसाइटले आफैंलाई ‘गणितको एक मनोरञ्जन पार्क’ भनेर व्याख्या गर्दछ । हुन पनि हाे,  यस वेबसाइटमा  बालबालिकाले गणितकाे जाेड, घटाउ, भाग र गुणाहरु अनलाइन भिडिओ गेम खेल्दै सिक्न सक्छन् ।

यसमा भएका कार्टुन जस्ता ग्राफिक्सहरुका कारण बालबालिकाहरुले याे वेबसाइटलाई चाँडै मन पराउने छन् । वेबसाइटका अरु सिस्टर वेबसाइटहरु उमेर विशेष बालबालिकाहरुमा केन्द्रित छन् ।

कुलम्याथ फाे किड्स डट कम ३ देखि १२ वर्षका बालबालिकालाई उपयुक्त हुन्छ । त्यस्तै कुलम्याथ  १३  वर्षदेखि माथिका बालबालिकालाई उपयुक्त हुन्छ । 

 

२. नेसनल जिओग्राफिक किड्स

यस वेबसाइटबाट बालबालिकाहरुले जनावरहरु, प्रकृतिका सुन्दर फाेटाे, विभिन्न देश र विज्ञानका विभिन्न कुराहरु थाहा पाउन सक्छन् ।

साथै यहाँ विभिन्न भिडिओ गेम, पजलहरु, खाली ठाउँ भर लगायत अरु धेरै कुराहरु उपलब्ध छन् । जसले बालबालिकालाई सिकाइमा मद्दत गर्दछ । 

 

३. स्टारफल

याे वेबसाइट सन् २००२ बाट सञ्चालन भइरहेकाे छ । यसमा सिकाइका लागि मद्दत हुने विभिन्न भिडि‌ओ गेम र अरु क्रियाकलापहरु रहेका छन् ।

विशेष गरेर याे वेबसाइटबाट बालबालिककालाई गणित, लेखाइ, पढाइ र सङ्गीत सिकाउन सकिन्छ । 

 

४. द किड्स पेज

यस वेबसाइटमा ५ हजारभन्दा धेरै सिकाइमा सहयाेग गर्ने भिडि‌ओ गेमका पृष्ठहरू रहेका छन् ।

यसबाहेक विभिन्न दिवस  तथा बिदा विशेष बनाइएका भागहरु छन्, जसमा बालबालिकाले खेल्दै धेरै कुराहरु सिक्न सक्छन् ।

 

५. फन ब्रेन

यस वेबसाइटमा भएकाे निकै आकर्षक ग्राफिक्स र भिडिओ गेमहरुका कारण बालबालिका निकै खुसी हुनेछन् । यसमा उनीहरुले गणित, विज्ञान विषयका कुराहरु सिक्न सक्नेछन् ।

साथै याे वेबसाइटले बालबालिकाकाे पढाइ, लेखाइमा समेत निकै मद्दत गर्ने छ । 

 

६. निक जुनियर

यस वेबसाइटमा बालबालिकाहरुका लागि विभिन्न खेल तथा अन्य गतिविधिहरु रहेका छन् । जसमा खेल्दै बालबालिकाहरुकाे रचनात्मकता, सङ्गीत, पजल, संख्या र आकार पहिचान गर्न सिक्नेछन् । 

 

७. हाइलाइटस् फर किड्स

याे एक ६० वर्षभन्दा पुरानाे पत्रिका हाे । यसले तपाईंका बच्चाहरूका लागि खेल्ने, पढ्ने र सिक्ने वातावरण अनलाइनबाट मिलाइदिने गर्दछ ।

वेबसाइटमा जाेडा मिलाउने खेलहरु, कला सम्बन्धी क्रियाकलापहरु, एनिमेटेड कथाहरु र विज्ञानका कुराहरु  बच्चाहरुले रमाइलाे तरिकाले सिक्न सक्नेछन् । 

 

८. लर्निङ  गेम्स फाेर किड्स

नामजस्तै यस वेबसाइटले आफ्नाे काम गर्ने गर्दछ । वेबसाइटमा विभिन्न विषयहरुमा बालबालिकाले खेल्ने भिडिओ गेमहरु रहेका छन् ।

हिज्जे, सामाजिक अध्ययन, विज्ञान, कला, साहित्य, टाइपिङ लगायत अन्य विषयहरुमा भिडिओ गेमहरु यसमा उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १२:३१