close

यसरी टिकाउनुहोस् लामो समयसम्म आफ्नो स्मार्टफोन

टेकपाना टेकपाना

असोज ११, २०७९ १३:०

यसरी टिकाउनुहोस् लामो समयसम्म आफ्नो स्मार्टफोन

काठमाडौं । माेबाइलकाे प्रयाेग कल गर्न वा टेक्स्ट गर्न मात्रै सीमित रहेन । आजकल माेबाइलमै असंख्य काम गर्न सकिन्छ । माेबाइलबिनाकाे जीवन अधुराे जस्तै बनिरहेकाे छ ।

खेल खेल्न, भिडियो कल गर्न, इन्टरनेट ब्राउज गर्न, च्याटिङ गर्नुका साथमा स्ट्रिमिङ गर्न पनि माेबाइलकाे प्रयाेग भइरहेकाे छ ।

यस्तो अवस्थामा स्मार्टफोन लामो समयसम्म टिकाउने चुनौती तपाईं हामी सबैलाई छ । स्मार्टफोन आफैंमा पनि किनिरहन सक्ने वस्तु होइन । एकपटक किनेपछि लामो समयसम्म प्रयोग गर्न सकियोस् भनेर नै हामीले महंगो रकम तिरेर मोबाइल खरिद गर्छौं ।

तर हाम्रै असावधनीका कारण स्मार्टफोन चाँडै बिग्रने खतरा हुन्छ । आज हामीलाई स्मार्टफोनको आयु बढाउने केही साधारण टिप्स दिँदै छौं ।

फाेन केस प्रयाेग गर्नुहाेस्

खरिद गर्दा सबै स्मार्टफाेन धेरै सुन्दर देखिन्छन् । तर याे निकै संवेदनशील हुन्छ र जुनसुकै बेला नाेक्सानकाे खतरामा याे पर्न सक्छ । यसर्थ यसकाे संवेदनशील भाग जाेगाइराख्न विभिन्न किसिमका फाेन केसहरू किन्न सक्नुहुन्छ ।

फाेन केस भन्नाले माेबाइलकाे सुरक्षाका लागि निर्माण गरिएका त्यस्ता एक्सेसाेरिजहरू हुन्, जसले तपाईंको फाेनलाई धुलाे, पानी आदिबाट जाेगाउँछ । यसले स्क्रिन बिग्रन दिँदैन भने ‘एक्सिडेन्टल ड्यामेज’ हुनबाट जाेगाउँछ ।

तपाईंले हजाराैं रूपैयाँ तिरेर स्मार्टफाेन खरिद गर्नुहुन्छ भने केही पैसा थपेर फाेन केस किन्न नभुल्नुहाेस् । किनकि स्क्रिनमा केही थाेपा पानी पर्दा फेरि अर्काे खर्च गरेर मर्मत गर्नुबाहेक केही विकल्प रहन्न ।

अहिले बजारमा धेरै फाेन केसहरू छन्, जसले फाेनकाे सुरक्षा मात्रै प्रदान गर्दैन, फाेनकाे लुक्समा पनि सुन्दरता बढाउँछन् ।

ब्याट्री चार्जिङमा उत्तम विधि अपनाउनुहाेस्

तपाईंको स्मार्टफोनको ब्याट्रीको आयु सधैं एकनाशको हुँदैन । समयअनुसार यसको क्षमता घट्दै जान्छ । यसकारण ब्याट्री टिकाइराख्न राम्राे विधि जान्नैपर्छ ।

यसका लागि चार्ज गर्ने उत्तम उपाय अपनाउन सकिन्छ । सबैभन्दा राम्रो उपाय भनेको माेबाइल आंशिक रुपमा चार्ज गर्ने तर पटकपटक चार्ज गर्ने बानी राम्राे हाे ।

उदाहरण को लागि तपाईंको फोनलाई पूर्ण क्षमता अर्थात् १०० प्रतिशत हुने गरी कहिल्यै पनि चार्ज नगर्नुहाेस् । फोनकाे ब्याट्री बढीमा ८० देखि ९० प्रतिशतसम्म चार्ज गर्नुहोस् र ३० प्रतिशतसम्म भन्दा कम हुन नदिनुहोस् ।

धेरै चार्ज गर्दा ब्याट्रीकाे कार्य क्षमतामा ह्रास त आउँछ नै, यस्ताे चार्जबाट ग्यास निस्कन थाल्छ, जसकाे असर निकै नराम्राे घटनासम्म हुन सक्छ ।

यसकारण रातभर ब्याट्री चार्ज गर्ने बानी छ भने तुरून्त त्यागिदिनुहाेस् । यसको सट्टामा तपाईंको फोनलाई दिनमा दुई पटक चार्ज गर्नुहोस्, बिहान र साँझ । अर्काे महत्वपूर्ण कुरा भनेकाे चार्जिंङ गरिरहँदा कहिल्यै पनि फाेन नचलाउनुहाेस् ।

स्मार्टफोनमा नियमित एप अपडेट गर्नुहाेस्

याे सामान्य विधिले तपाईंको स्मार्टफोनलाई अपडेटेड रहन र कुनै पनि इस्यु (समस्या) बाट स्वतन्त्र रहन सहयाेग गर्छ । स्मार्टफाेनमा अपरेटिङ सिस्टम र थर्ड पार्टी एपहरू अपडेट गरिरहँदा डिभाइसकाे आयु बढाउन सकिन्छ ।

अपडेट हुन केही समय त लाग्छ, यसपछिका फाइदाले तपाईंको स्मार्टफाेनकाे समग्र कार्य क्षमता बढाउन सहयाेग गर्छ ।

साथै यस्ता अपडेटले स्मार्टफाेनमा रहेकाे कमजाेरी (बग) समाधान गर्नुका साथै सुरक्षा जाेखिमबाट मुक्त राख्दछ ।

त्यस्तै एप अपडेट गरिरहनाले एपकाे कार्य क्षमता पनि चुस्त हुन थाल्छ । स्मार्टफाेनमा रहेकाे ‘अटाे-अपडेट’ सेक्सन स्विच गरी स्मार्टफाेनका सबै एपहरू स्वतः अपडेटेड राख्न सकिन्छ ।

डिभाइस र पाेर्ट सफा राख्नुहाेस्

स्मार्टफाेन किन्दा निकै राम्राे र सुन्दर देखिन्छ । तर नियमित प्रयाेग गर्दै जाँदा यसकाे रूप फाेहाेर हुन जान्छ । यसकाे मुख्य कारण भनेकाे फाेनमा रहेका पाेर्ट र सर्फेसहरूमा फाेहाेर जमेर बस्नु हाे, जसले फाेनकाे कार्य क्षमतामा समस्या निम्त्याउँछ ।

बेलाबेलामा चार्जिङ पाेर्ट, स्पिकर ग्रिल, हेडफाेन ज्याक, स्क्रिन लगायत सफा गर्नुहाेस् । कतिपय अवस्थामा पहुँच गर्न नसक्ने भागहरूमा सफा गर्न गार्हाे हुन सक्छ । घरमै बसेर टुथपिक, कटन स्वाब लगायतले त्यस्ताे भागकाे फाेहार विस्तारै निकाल्न सक्नुहुन्छ ।

स्टाेरेजमा ध्यान दिनुहाेस्

यदि तपाईंको फाेन सुस्त वा स्लाे हुन थालेकाे छ भने स्टाेरेजमा गएर कति स्पेस उपलब्ध छ भनेर जाँच्न सक्नुहुन्छ । स्टाेरेजकाे क्षमता भरिएकाे वा भरिन लागेकाे छ भने केही एप, फाेटाे, भिडियाे, रेकर्डिङ र अन्य मिडिया फाइल हटाउन सक्नुहुन्छ ।

याे बेला तपाइले आफ्ना मिडिया फाइल क्लाउड, पेन ड्राइभ वा कम्प्युटरमा लोकल स्टोरेजमा सार्न सक्नुहुन्छ । फाइल डिलिट गरी फाेन रिस्टार्ट गर्नुभयाे भने पुन: यसले राम्राे पर्फमेन्स गर्न थाल्छ ।

पछिल्लो अध्यावधिक: असोज ११, २०७९ १३:१