close

कस्तो छ ग्लोबल आईएमई बैंकको नयाँ मोबाइल बैंकिङ एप ?

टेकपाना टेकपाना

असोज ११, २०७९ १९:१२

कस्तो छ ग्लोबल आईएमई बैंकको नयाँ मोबाइल बैंकिङ एप ?

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो पुरानो मोबाइल बैंकिङ ग्लोबल स्मार्ट बन्द गरी नयाँ मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगमा ल्याएको छ । नयाँ मोबाइल बैंकिङ एप आएपछि पुरानो मोबाइल बैंकिङ एप चलाइरहेका कतिपय प्रयोगकर्तामा दुविधाको स्थिति समेत देखिएको छ । 

ग्लोबल स्मार्ट मोबाइल बैंकिङमा नयाँ मोबाइल एप डाउनलोड गर्न भन्दै नोटिफिकेसन देखाइरहेको हुन्छ । त्यस्तै गुगल प्ले स्टोर र एप्पल आईओएस एप स्टोरमा ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस गरी दुवै मोबाइल बैंकिङ एप हुँदा कुन डाउनलोड गर्ने भन्ने कुरामा झुक्किने अवस्था समेत छ । 

बैंकले ग्लोबल स्मार्ट नभई ग्लोबल स्मार्ट प्लस नामक एप डाउनलोड गर्न आग्रह गरेको छ । प्ले स्टोर तथा एप स्टोरमा एउटै नाम र लोगो प्रयोग गर्न नमिल्ने भएकाले नयाँ मोबाइल बैंकिङ एपको नाम र लोगो केही फरक राखिएको हो । 

त्यसो त सामान्यतया कुनै पनि कम्पनी, संस्था वा निकायको एपको अपडेट पुरानै एपमा आउने गर्छ । तर ग्लोबल आईएमईको अपडेटेड मोबाइल बैंकिङ एप छुट्टै डाउनलोड गर्नु पर्ने किन ? वास्तवमा यसअघि एफवान सफ्टले बनाएको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्लेटफर्मबाट नै ग्लोबल आईएमई बैंक बाहिरिएका कारण यस्तो अवस्था आएको हो । 

यसअघि बेटा भर्सनमा रहेको ग्लोबल स्मार्ट प्लस र ग्लोबल स्मार्ट गरी दुवै मोबाइल बैंकिङ एप समानान्तर रूपमा चलिरहेका थिए । ग्लोबल स्मार्ट प्लसको स्टेबल अर्थात स्थिर भर्सन आएसँगै पुरानो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्टमा बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा दिन छोडेको छ । 

 

ग्लोबल स्मार्ट प्लसमा के छ नयाँ ?

नयाँ मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस एससीटी टेक्नोलोजीले बनाएको हो । जसले इन्टरअपरेबल अर्थात जुनसुकै क्यूआर कोडलाई सपोर्ट गर्दछ । हालका लागि स्मार्ट क्यूआर, फोन पे र युनियन पेमा आवद्ध मर्चेन्टको भुक्तानी गर्ने सुविधा उपलब्ध छ ।

निकट भविष्यमा नेपाल क्यूआर, भिसा क्यूआर र भारतको यूपीआईमा समेत यसले काम गर्ने बैंकले जनाएको छ । यूपीआई आएपछि भारतीयहरूले पेटीएमबाट स्थानीय क्यूआर कोडमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । 

बैंकले नयाँ एप यस अघिको भन्दा बढी सुरक्षित रहेको बताएको छ । मोबाइल बैंकिङ प्रयोगकर्ताको ओटीपी मागेर अर्कैले ठगी गर्ने प्रवृत्ति बढेपछि बैंकले ओटीपी कोड शेयर गर्नै नमिल्ने फिचर नयाँ एपमा थप गरेको छ ।

यसको अर्थ प्रयोगकर्ताको बैंक खातामा लिङ्क भएको सिमकार्ड मोबाइल बैंकिङ एप रहेकै मोबाइलमा हुनुपर्छ । यस्तोमा ओटीपी कोड मोबाइल बैंकिङ एपले स्वचालित रूपमा भेरिफाई (प्रमाणीकरण) गर्दछ । ओटीपी कोड शेयर गर्दाको अवस्थामा भने त्यसले काम गर्ने छैन ।  

साथै ग्लोबल स्मार्ट प्लस भीपीएनमा चलाउन सकिने छैन । भीपीएन प्रयोग गरी मोबाइल बैंकिङ अन्यत्रबाट दुरुपयोग हुन सक्ने र त्यसलाई ट्रयाक समेत गर्न नसकिने भएपछि यस्तो व्यवस्था गरिएको बैंकले जनाएको छ । 

साथै ग्लोबल आईएमई बैंकको नयाँ मोबाइल बैंकिङ ओम्नी च्यानलमा समेत स्तरोन्नती भएको छ । यसको अर्थ अब प्रयोगकर्ताले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका लागि छुट्टा छुट्टै सेवा लिनु पर्ने छैन । यसको अर्थ मोबाइल बैंकिङको युजरनेम र पासवर्डबाटै इन्टरनेट बैंकिङ समेत प्रयोग गर्न सकिने भएको छ ।

बैंकका ग्राहकले ग्लोबल अनलाइन डट जीआईबीएल डट कम डट एनपीमा गई मोबाइल बैंकिङकै युजरनेम र पासवर्ड राखेर लगईन गर्न सक्नेछन् । त्यसबाट प्रति दिन २० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने बैंकले  जनाएको छ । 

यसअघिको ग्लोबल स्मार्ट मोबाइल बैंकिङ एप अन्य बैंकहरूको मोबाइल बैंकिङ एपसँग मिल्दोजुल्दो भएकाले प्रयोगकर्तालाई नयाँ र पृथक अनुभूति दिलाउन समेत नयाँ एप ल्याइएको बैंकले जनाएको छ । नयाँ मोबाइल बैंकिङ एपमार्फत भुक्तानी सेवाका साथै बैंकले दिने अन्य सेवा समेत थप गर्दै लैजाने ग्लोबल आईएमई बैंकको भनाइ छ । 

नयाँ मोबाइल बैंकिङ एपमा कार्ड फिचर समेत समावेश छ । जसबाट ग्लोबल आईएमई बैंकको डेबिट तथा क्रेडिट कार्ड लिएका ग्राहकले त्यसको स्टेटमेन्ट मोबाइल बैंकिङ एपमै हेर्न सक्नेछन् । यसैगरी कार्ड हराएको खण्डमा ब्लक गर्न सकिने, कार्डको पिन बिर्सिएको खण्डमा रिसेट गर्न पाउने, शेड्युलमा राखेर सिजनल पेमेन्ट गर्न सकिने फिचर समेत नयाँ एपमा पाउन सकिन्छ ।  

साथै एपबाटै फिक्स्ड डिपोजिट गर्न सकिने, बैंक खाता खोल्न मिल्ने, ऋण प्राप्त गर्न सकिने, केवाईसी अपडेट गर्न सकिने लगायतका फिचर पनि यसमा जोडिएका छन् । 

यति मात्र होइन, ग्राहकले भुक्तानी गरेको रकम सम्बन्धित व्यक्ति वा पक्षको खातामा जम्मा नभएको खण्डमा ‘डिस्प्युट’ अर्थात समस्याको उजुरी गर्न सकिने फिचर पनि नयाँ एपमा आएको छ । ग्राहकले त्यस्ता कारोबारमा मोबाइल बैंकिङ एपबाटै ‘डिस्प्युट रिपोर्ट’ गर्न सक्छन् ।

यस्तो अवस्थामा बैंकको सम्बन्धित विभाग वा शाखाले प्रमाणीकरण गर्नेछ । त्यसपछि उक्त रकम ग्राहकको खातामा फिर्ता गरिने बताइएको छ । 

नयाँ सिस्टममा मङ्गलबारसम्म तीन लाख ग्राहकले लगईन गरिसकेको बैंकले जनाएको छ । मोबाइल बैंकिङका जम्मा मासिक सक्रिय प्रयोगकर्ता चार लाख रहेको ग्लोबल आईएमईमा कूल ग्राहक सङ्ख्या ११ लाख रहेको छ । 

 

कसरी प्रयोग गर्ने नयाँ मोबाइल बैंकिङ एप ?

यसका लागि यदि तपाईँले ग्लोबल आईएमई बैंकको पुरानो मोबाइल बैंकिङ एप प्रयोग गरिरहनु भएको छ भने त्यसमा उपलब्ध लिङ्कमा क्लिक गरी नयाँ एप ग्लोबल स्मार्ट प्लस डाउनलोड गर्नुहोस् । यसको साटो एन्ड्रोइडका लागि यहाँ क्लिक गरी तथा आईओएसका लागि यहाँ क्लिक गर्न समेत सक्नुहुन्छ । 

ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप नयाँ प्लेटफर्ममा बनेकाले तपाईँको पुरानो युजरनेम र पासवर्डले काम गर्दैन । यसका लागि पहिलो पटक नयाँ पासवर्ड तयार पार्नुपर्ने हुन्छ । 

यदि तपाईँको मोबाइल नम्बर परिवर्तन भएको छ वा केवाईसी अपडेट हुन बाँकी छ भने पनि ग्लोबलको नयाँ मोबाइल बैंकिङ एप नचल्न सक्छ । 

एपमा मोबाइल नम्बर, बैंक खाता नम्बर, नागरिकता नम्बर वा जन्म मिति राख्नुहोस् । यति गरिसकेपछि तपाईँको बैंक खातामा लिङ्क भएको मोबाइल नम्बरमा ओटीपी कोड आउँछ र स्वचालित रूपमा प्रमाणीकरण हुन्छ ।

अब पासवर्ड राख्ने वा परिवर्तन गर्नुहोस् । सुरक्षालाई ध्यान दिएर बैंकले ९० दिनभन्दा बढी समयसम्म प्रयोग नभएका मोबाइल बैंकिङ प्रयोगकर्तालाई निष्कृय पार्ने गरेको छ । अन्य व्यक्तिले तपाईँको बैंक खाता दुरुपयोग गर्न नसकोस् भनेरै यसो गरिएको बैंकको स्पष्टीकरण छ । 

यदि मोबाइल बैंकिङ अकाउन्ट निष्क्रिय छ भने तपाईँले एपमा कारोबारका लागि कुनै पनि फिचर प्रयोग गर्न सक्नुहुने छैन । निष्क्रिय खाता पुनः सक्रिय पार्न बैंकको कल सेन्टरमा फोन गर्न वा शाखा कार्यालयमा सम्पर्क गर्न सकिने बताइएको छ । 

यस्तोमा देश बाहिर रहेका ग्राहकले समस्या भोग्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा विदेशमा आफूले प्रयोग गरिरहेकै मोबाइल नम्बर बैंक खातामा लिङ्क गर्न सकिन्छ । यस बाहेक ओटीपीका लागि गुगल, माइक्रोसफ्ट जस्ता अथेन्टिकेटर एपको सपोर्ट लिने योजना समेत रहेको बैंकले जानकारी दिएको छ । 

यद्यपि निष्क्रिय ग्राहकका लागि ‘रेस्ट्रिक्टेड पेमेन्ट’ को विकल्प दिने बैंकको योजना रहेको छ । जसमा ग्राहकले दैनिक पाँच हजार रुपैयाँसम्मको कारोबार गर्न सक्नेछन् । 

 

पछिल्लो अध्यावधिक: असोज ११, २०७९ २१:५१