close

एप्पल म्याप र गुगल म्यापमा कुन उत्कृष्ट ?

टेकपाना टेकपाना

असोज १२, २०७९ ८:५२

एप्पल म्याप र गुगल म्यापमा कुन उत्कृष्ट ?

काठमाडौं । अनलाइन म्यापले हाम्रो यात्रा गराइको शैलीमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । यस्ता एपका माध्यमबाट हामी नयाँ सहर, गाउँ, कुनै पनि ठाउँको ट्राफिक अवस्था, बाटोको दुरीजस्ता कुरा अन्वेषण गर्न सक्छौँ । तर, सबै म्याप बराबर हुँदैनन् ।

आईओएस र एन्ड्रोइडले आफ्ना म्यापमा विभिन्न समयमा थुप्रै सुविधा थप गर्नुका साथै सुधारका काम गरिरहेका हुन्छन् । यसमा दुईमध्ये कुन उत्कृष्ट हुन्छ भन्ने कुरा छुट्याउन मुस्किल हुन्छ । हामी कुन क्षेत्रमा कुन एप राम्रो छ भन्ने कुराको जानकारी भने दिन सक्छौँ ।

यही कुरालाई मध्यनजर गर्दै हामी गुगल म्याप्स राम्रो कि एप्पल म्याप्स भन्ने कुराको तुलना गर्दै छौँ ।

मुल्य र उपलब्धता

गुगल म्याप र एप्पल म्याप डाउनलोड गर्नका लागि निःशुल्क उपलब्ध छन् । यसको अर्थ दुवै एपलाई हरेक डिभाइसमा प्रयोग गर्न सकिन्छ भन्ने चाहिँ होइन । एप्पल म्याप नितान्त एप्पल डिभाइसका लागि मात्र तयार पारिएको एप हो । यसका लागि हामीलाई आईफोन, आईप्याड वा म्याकको आवश्यकता पर्ने गर्छ ।

एप्पल म्यापलाई एप्पलबाहेक अन्य डिभाइसमा प्रयोग गर्न सकिँदैन । तर गुगल म्याप हरेक डिभाइसमा प्रयोग गर्न सकिन्छ ।

विन्डोज, म्याक, एन्ड्रोइड फोन, आईओएस फोन जहाँ पनि गुगल म्याप प्रयोग गर्न सकिन्छ । एन्ड्रोइड फोनमा भने गुगल म्याप पहिले नै उपलब्ध गराइएको हुन्छ । अन्य डिभाइसमा डाउनलोड गरेर वा ब्राउज गरेर प्रयोग गर्न सकिन्छ ।

 एकुरेसी

एकुरेसी भन्नाले कुन एपले कति सटिक परिणाम दिन्छ भन्ने बुझिन्छ । एप्पल म्याप २०१२ मा आईओएस ६ मा प्रयोगमा ल्याई सार्वजनिक गरिएको थियो । त्यसबेला एकुरेसीका कुरामा एप्पल म्याप निकै पछि थियो । एपमा आएका सयौँ अपडेपछि अहिले एप्पल म्यापमा त्यो अवस्था छैन ।

अहिले एकुरेसीको कुरा गर्नुपर्दा एप्पल म्याप र गुगल म्याप दुवै उही स्तरमा रहेका छन् । कुनै ठाउँमा नयाँ बाटो बन्यो वा नयाँ केही थपियो भने गुगल म्याप छिटो अपडेट हुन्छ, जसले गर्दा एप्पल म्यापभन्दा बढी जानकारी गुगल म्यापमा पाउन सकिन्छ । गुगल म्यापका प्रयोगकर्ता धेरै भएकाले डेटा छिटो भेरिफाई गरेर अपडेट गर्न गुगललाई सहज छ ।

एप्पल म्याप अलिक समय लाग्ने भएकाले एकुरेसीका कुरामा याे केही पछाडि रहेको छ ।

कार नेभिगेसन

तपाईँले गाडी चलाइरहँदा हरेक मोडमा यी दुवै एपले उही तरिकाले काम गरिरहेका हुन्छन् । गुगल म्याप र एप्पल म्यापले चलिरहने आइकन प्रयोग गरेका हुन्छन् । जसले गर्दा तपाईँले यात्रा गरिरहेको बाटोलाई उक्त आइकनले पछ्याइरहेको हुन्छ । यसले गर्दा तपाईँ आफूलाई कुन बाटोबाट लग्ने भन्ने कुराको निर्णय लिन सक्नुहुन्छ ।

दुवै एपले तपाईँ पुग्नुपर्ने अपेक्षित समय, दुरी र बाटोको अवस्था उपलब्ध गराएका हुन्छन् । यदि बाटोमा केही कमजोरी फेला पार्नुभयो भने दुवै एपमा रिपोर्ट गर्न सकिने व्यवस्था छ । जसले गर्दा अन्य ड्राइभरलाई बाटोको खराबी बारे जानकारी दिन सकिन्छ । ड्राइभ गरिरहँदा दुवै एपले भ्वाइस कन्ट्रोलको सुविधा उपलब्ध गराएका छन् ।

एउटा पक्षमा भने एप्पल म्याप केही अगाडि रहेको छ । तपाईँको कारमा इन्धन सकिएको अवस्थामा एप्पल म्यापले नजिकका ग्यास स्टेसनको जानकारी दिन्छ । तर, गुगल म्यापले त्यसका धेरै सम्भावनाहरू उपलब्ध गराउने गर्छ । जसले गर्दा प्रयोगकर्ता धर्मसङ्कटमा पर्न सक्छन् । गुगलमा रोडका लागि अन्य विविध विकल्प समावेश गरिएको हुन्छ । जसले गर्दा गाडीको इन्धन बढी खपत हुन सक्छ ।

सार्वजनिक यात्रा, हिँडाइ वा साइक्लिङ

गुगल म्यापमा ड्राइभिङका लागि थुप्रै विकल्प रहेका छन् । यदि तपाईँ हिँड्डै, सार्वजनिक सवारी वा साइकल वा बाइकमा यात्रा गरिरहनु भएको छ भने के सुविधा रहेका छन् त?

यस सन्दर्भमा पनि गुगल म्याप र एप्पल म्यापले समान सुविधा उपलब्ध गराएका छन् । गुगल म्याप र एप्पल म्याप दुवैले सार्वजनिक सवारीको सटीक जानकारी उपलब्ध गराएका हुन्छन् । त्यस्तै हिँड्दै यात्रा गरिरहनु भएको छ वा साइकलमा यात्रा गरिरहनु भएको छ भने उही जानकारी उपलब्ध गराएका हुन्छन् ।

डिजाइन

कुनै पनि सर्भिसलाई सोही स्तरको अन्य सर्भिससँग तुलना गर्नुपर्दा डिजाइन सबैभन्दा पहिले आउने गर्छ । डिजाइन नै कुनै नि एप प्रयोग गर्नुको महत्त्वपूर्ण कारण बनिदिन्छ ।

एप्पल म्यापको लेवाउट (आवरण) सिम्पल र क्लिन छ । हरेक फिचरहरू एक अर्कासँग जोडिएका छन् । जसले एपको आवश्यकतालाई झुल्काएको हुन्छ । यसमा डिफल्ट म्याप पनि कम बिजी देखिन्छ । त्यस्तै ब्याकग्राउन्ड तथा घुम्ती भएको बाटाका लागि विशेष टोन प्रयोग भएको छ । तपाईँले यात्रा गर्न लागेको बाटोलाई निलो रङले अंकित गरेको हुनाले उक्त एप प्रयोग गर्न सहज छ ।

यसमा गुगल म्याप भने रङ्गीचङ्गी देखिन् । बाटो र त्यसको ब्याकग्राउन्ड विभिन्न रङ्गले सजाइएको हुन्छ । यसमा हरियो रङ्गले गाउँ तथा खैरो रङ्गले सहरी क्षेत्रलाई अंकित गरेको हुन्छ । मुख्य बाटो भने सधैँ पहेँलो रङ्गले सजाइएको हुन्छ ।

तपाईँले गुगल म्यापको सबैभन्दा माथिको भागमा सर्च बार देख्न सक्नुहुन्छ । जहाँ तपाईँले आफ्नो आवश्यकता अनुसार सबैभन्दा बढी खोजिएका ठाउँ देखिन्छन् । यसले गर्दा कुनै ठाउँ पत्ता लगाउन गुगल म्यापमा केही छिटो हुन्छ ।

एप्पलले आईफोन १४ र आईफोन १४ मोडेलमा यी विविध फिचर समावेश गरेको  छ । आईफोन १४ को प्रो मोडमा भएको अलवेज-अन डिस्प्लेको विकल्पले फोन लक हुँदा पनि डिरेक्सन, बाँकी समय, बाँकी दूरी हेर्न सकिन्छ ।

गोपनीयता

कुनै पनि एपमा गोपनीयता पक्षले निकै ठूलो भूमिका निभाएको हुन्छ । यसमा आईफोन नै अगाडि छ भन्दा केही फरक पर्दैन । किनभने एप्पलले प्रयोगकर्ताको गोपनीयतालाई आफ्नो सबैभन्दा प्रमुख प्राथमिकता भएको बताउँदै आएको छ । एप्पल म्यापमा भएका तपाईँका व्यक्तिगत डेटा सबै डिभाइसमा भण्डारण भएको हुँदा आफ्नो आवश्यकता अनुसार हटाउन सकिन्छ ।

गुगल म्यापमा भएका व्यक्तिगत डेटा भने रिमोट सर्भरमा बस्ने गर्छन्, जसलाई हामीले हटाउन सक्दैनौँ ।

यदि तपाईँले गुगल म्यापलाई कुनै पर्मिसन दिनुभयो भने सो एपले तपाईँको थुप्रै डेटा प्रयोग गरेर विज्ञापन पठाउने गर्छ, जसले गर्दा तपाईँलाई उपयुक्त हुने ठाउँ वा वस्तु तपाईँले गुगल म्यापमा सहजै भेट्न सक्नुहुन्छ ।

गुगल म्यापमा इनकग्निटाे मोड पनि रहेको छ । तर विश्लेषकहरू यो एप्पलले उपलब्ध गराउने सेवाका अघि फिक्का रहेका बताउँछन् ।

त्यसोभए कुन उत्कृष्ट हो त?

विभिन्न पक्षलाई विश्लेषण गर्दा गुगल म्याप नै अगाडि भएको देखिन्छ । आईओएस प्रयोगकर्ताले गुगल म्याप प्रयोग गर्न सक्छन् । तर, एन्ड्रोइड प्रयोगकर्ताले एप्पल म्याप प्रयोग गर्न सक्दैनन् ।

हामीले माथि उल्लेख गरेका विभिन्न पक्षलाई आधार बनाउँदा गुगल म्याप नै अगाडि देखिन्छ ।

गोपनीयताको सन्दर्भमा भने एप्पल म्याप निकै अगाडि छ । यसलाई आधार बनाउने प्रयोगकर्ताले गुगल म्यापको तुलनामा एप्पल म्याप नै उत्कृष्ट देख्छन् ।

 

पछिल्लो अध्यावधिक: असोज १२, २०७९ ९:२