close

स्मार्टफोनले अब डीएसएलआर क्यामेरालाई विस्थापन गर्छ:  क्वालकम

टेकपाना टेकपाना

असोज १२, २०७९ १०:१७

स्मार्टफोनले अब डीएसएलआर क्यामेरालाई विस्थापन गर्छ:  क्वालकम

काठमाडाैं । एक समय थियाे, जब हामी आफ्नाे तस्वीर लिनका लागि फाेटाे स्टुडियाे जानैपर्थ्याे । तस्वीर खिच्‍ने रहर भएकाहरुले क्यामेरा किन्थे । विस्तारै सेन्सर प्रविधिमा विकास हुँदै गएपछि विभिन्न प्रकारका क्यामेराहरु बजारमा आए, जसमध्ये डीएसएलआर पनि एक हाे ।

तस्वीरकाे गुणस्तर, आकार र मूल्यका कारण याे क्यामेरा धेरै फाेटाेग्राफरहरुले प्रयाेग गर्छन् । तर स्मार्टफाेनहरुकाे क्यामेराले पनि गुणस्तरीय तस्वीरहरु लिन थालेपछि तस्वीरका लागि फोनहरु बढी प्रयाेगमा आउन थालेका छन् । 

यसका साथै ती तस्वीरहरुलाई एआई प्रविधि प्रयाेग गरेर गुणस्तरीय बनाउन सकिने भएकाे छ । एआईकाे प्रयाेग गरी ब्याकग्राउण्ड हटाउने, गुणस्तर बढाउने, आकार परिवर्तन गर्ने जस्ता कुराहरु सजिलैसँग गर्न सकिन्छ । जुन डीएसएलआर क्यामेराहरुका लागि निकै ठूलाे चुनाैती बनेकाे छ ।

एआईकाे बढ्दाे विकास र प्रयाेगलाई आधार मान्दै क्वालकमकाे क्यामेरा प्राेडक्ट म्यानेजमेन्टका उपाध्यक्ष जुड हेपले एआई प्रयाेग स्मार्टफोनहरूले तीनदेखि पाँच वर्षभित्र डीएसएलआरलाई प्रतिस्थापन गर्ने बताएका छन् ।

एन्ड्रोइड अथाेरिटी डट कमसँगकाे एक अन्तर्वातामा उनले भनेका छन् “डीएसएलआरकाे गुणस्तर राम्राे हुनुकाे कारण सेन्सर हाे । फाेनहरुकाे क्यामेरा प्रविधिमा भएकाे विकास हेर्दा सेन्सरकाे त्याे सफलता उति टाढा छैन।” 

स्मार्टफाेनहरुमा भएका स्न्यापड्रागन प्रोसेसर निकोन र क्यानन क्यामेराका भन्दा दश गुणा राम्रो रहेको उनको दाबी छ । यो प्रशोधन क्षमताले स्मार्टफोनको क्यामेरा सेन्सरहरू साना भएपनि क्षमतावान बनाउने उनकाे तर्क छ । 

 

एआईले कसरी स्मार्टफाेनकाे क्यामेरामा परिवर्तन ल्याएकाे छ?

क्यामेराको गुणस्तर सुधार गर्न एआईको प्रयोग नयाँ भने होइन । गुगल पिक्सेल सिक्सले म्याजिक इरेजरको प्रयाेग गरी क्यामेरामा एआई प्रयाेग गरिसकेकाे छ । यस प्रविधिले पृष्ठभूमिका अनावश्यक भागहरू हटाउने गर्दछ । 

यसबाहेक धेरै ब्राण्डहरुले इमेज कम्पाेजिसनकाे सेटिङ स्वत: हुने बनाउन एआईकाे प्रयाेग गर्ने गरेका छन् । साथै धेरै ब्राण्डहरुका क्यामेराहरुले रअ फाेटाहरु खिच्‍न सक्छन्, जुन डीएसएलआरमा भएकाे निकै प्रयाेगमा आउने विशेषता हाे ।

हाल धेरै डीएसएलआर प्रयाेगकर्ताहरुले स्मार्टफाेनकाे क्यामेराबाट काम गर्न थालेका छन् । त्यसैगरी स्मार्टफाेन निर्माताले क्यामेरा प्रविधिमा निकै सुधार गरिरहेका छन् । यी सबै कुराहरुले डीएसएलआरलाई एआई प्रयाेग भएका स्मार्टफाेनहरुले विस्थापन गर्ने देखिन्छ । 

पछिल्लो अध्यावधिक: असोज १२, २०७९ १०:१७