close

फेसबुक र गुगलको सम्मेलनमा शीर्ष २५ भित्र परे चार नेपाली

टेकपाना टेकपाना

असोज १३, २०७९ ७:२८

फेसबुक र गुगलको सम्मेलनमा शीर्ष २५ भित्र परे चार नेपाली

काठमाडौं । गुगल र फेसबुकको आयोजनामा सिङ्गापुरमा बग बाउन्टी सम्मेलन ‘बाउन्टी कन सिङ्गापुर २०२२’ सम्पन्न भएको छ । सेप्टेम्बर २४ र २५ तारिखमा आयोजित एसिया प्रशान्त क्षेत्रका साइबर सुरक्षा अनुसन्धानकर्मी तथा इथिकल ह्याकरहरूको सहभागिता रहेको थियो ।

बग बाउन्टी हन्टरहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा फेसबुक र गुगलको प्लेटफर्ममा सुरक्षा कमजोरी पत्ता लगाउँदै आएका एसिया क्षेत्रका सुरक्षा अनुसन्धानकर्मी र क्याच द फ्ल्याग (कम्प्युटर सेक्युरिटी कम्पिटिसन) बाट छनौट भएका इथिकल ह्याकरहरू सहभागी थिए, जसमा नेपालबाट गुगलको प्लेटफर्मबाट सुरक्षा अनुसन्धान गर्दै आएका नरेश लाम्गादे, फेसबुक (मेटा) को प्लेटफर्ममा बग पत्ता लगाउँदै आएका सौगात पोखरेल, समीप अर्याल, मनोज गौतम र रिकेश बानियाँ सहभागी भएका थिए ।

त्यस्तै सीटीएफ कम्पिटिसनबाट छनोट भएका आयुष श्रेष्ठ र मधुसुधन आचार्य पनि कार्यक्रमका लागि सिङ्गापुर गएका थिए । करिब सय जना सहभागीमध्ये लिडरबोर्डका आधारमा २५ जना छनौटमा परेका छन् । नेपालबाट सहभागी भएका सात जनामध्ये चार जना शीर्ष २५ मा छानिन सफल भएका हुन्, जसमा छैटौँ स्थानमा रिकेश बानियाँ, नवौँ स्थानमा मनोज गौतम, दशौँ स्थानमा समीप अर्याल र १६ औँ स्थानमा नरेश लाम्गादे रहेका छन् ।

कार्यक्रममा सहभागीहरूबीच विभिन्न विषयमा छ घण्टासम्म अन्तरक्रियाको साथै लाइभ ह्याकिङ भएको थियो । शीर्ष १५ मा परेका चार जना नेपालीले कुल २० लाख रुपैयाँ बढीको पुरस्कार हात पारेका छन् । गुगल र फेसबुकले कार्यक्रममा नेपालबाट सात जना सहभागी नेपाली ह्याकरको हवाई टिकेट, होटेल लगायतका खर्च व्यहोरेको थिए ।

उक्त कार्यक्रममा सहभागी एक नेपाली इथिकल ह्याकर भन्छन् “भौगोलिक रूपमा सानो देशबाट सहभागी भएर त्यति विभिन्न शक्तिशाली देशलाई पछाडि पारेर अगाडि बढ्न पाउँदा हामी निकै उत्साहित छौँ । पहिलो पटक इन्टरनेट सुरक्षा जस्तो कार्यक्रममा देशलाई चिनाउन पाउँदा गर्व महसुस भएको छ । त्यसभन्दा पनि बढी साइबर सुरक्षाको क्षेत्रमा नेपाली प्रतिभा अब्बल रहेको देखाउन  पाउँदा झनै खुसी छौँ ।"

 

 



 

पछिल्लो अध्यावधिक: असोज १३, २०७९ १३:५८