close

काठमाडौंमा इञ्जिनियरिङ एक्स्पो: ह्याकाथनदेखि रोबोटहरुको फुटबल म्याचसम्म हुने

टेकपाना टेकपाना

असोज १३, २०७९ १५:५७

काठमाडौंमा इञ्जिनियरिङ एक्स्पो: ह्याकाथनदेखि रोबोटहरुको फुटबल म्याचसम्म हुने

काठमाडौं । आउँदो मंसिर २३ र २४ गते बृहत्त इञ्जिनियरिङ एक्स्पो हुने भएको छ । नेपाल र भारतका विभिन्न संस्थाहरुसँगको सहकार्यमा इञ्जिनियर्स भ्लग्स अर्गानाइजेसनले काठमाडौंको एड्भान्स इञ्जिनियरिङ कलेज, कलंकीमा यो एक्स्पो गर्न लागेको हो ।

एक्स्पोमा रोबोटहरुले फुटबल म्याचदेखि रोबोवारसम्म हुने बताइएकाे छ । एक्स्पोलाई प्रविधि प्रदर्शनीसँगै मनोरञ्जनात्मक बनाउन सांस्कृतिक साँझ पनि गरिने आयोजक संस्थाका अध्यक्ष आषुतोष कर्णले जनाए ।

उनका अनुसार प्रदर्शनीमा कम्प्युटरको सफ्टवेयर सुरक्षासम्बन्धी ह्याकाथन, विभिन्न कलेज तथा विश्वविद्यालयले तयार पारेका सिभिल, इलेक्ट्रोनिक्स, अर्किटेक्चर प्रोजेक्ट सामग्रीलगायत प्रदर्शनीमा राखिनेछ । विशेषगरी इञ्जिनियरिङ संकायमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै प्रदर्शनीमा सिभिल, इलेक्ट्रिकल, मेकानिकल लगायत क्षेत्रका इञ्जिनियरहरुको सहभागिता रहने छ ।

‘इञ्जिनियरिङ क्षेत्रमा पछिल्लो समय भएको प्रविधिको विकास र यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी आदनप्रदान गर्नका लागि कार्यक्रम आयोजना गरेका हौं ।’ सातै प्रदेशका क्याम्पस र विश्वविद्यालयमा इञ्जिनियरिङ विषय अध्ययन गरिहेका विद्यार्थीहरुको सहभागिता रहने प्रदर्शनीमा उत्कृष्ट प्रर्दशन गर्ने समूहलाई नगद पुरस्कारका साथै आईआईटी बम्बईको टेकफेस्ट इन्टरनेश्नलमा थप अध्ययनका लागि जाने अवसर प्रदान गरिने अध्यक्ष कर्णले जानकारी दिए ।

८० भन्दा बढी इञ्जिनियरिङ सम्बन्धी स्टल रहने प्रदर्शनीमा सहभागिताका लागि दर्ता प्रक्रिया सुरु भइसकेको छ । काठमाडौंको एड्भान्स इञ्जिनियरिङ कलेज, कलंकीमा हुने प्रदर्शनीमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइने उनले जनाए ।

पछिल्लो अध्यावधिक: असोज १३, २०७९ १५:५७