close

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासचिवमा पहिलो पटक महिला निर्वाचित

टेकपाना टेकपाना

असोज १५, २०७९ १४:४९

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासचिवमा पहिलो पटक महिला निर्वाचित

काठमाडौं । डोरेन बोगदान-मार्टिन अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)को महासचिवमा निर्वाचित हुने पहिलो महिला बन्न सफल भएकी छन् ।

आईटीयू संयुक्त राष्ट्रभित्रको दूरसञ्चार प्रविधि सम्बन्धी मुख्य संस्था हो । सन् १८६५ मा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ नेटवर्क व्यवस्थापन गर्न स्थापना भएको आईटीयुले हाल रेडियो, उपग्रह र इन्टरनेटको प्रयोगलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । यो संस्थाको जिम्मेवारी अब मार्टिनले सम्हाल्नेछिन् ।

मार्टिन आफ्ना रुसी प्रतिद्वन्द्वी राशिद इस्माइलोभलाई ११४ मतले जित्दै महासचिव पदका लागि निर्वाचित भएकी हुन् । यसअघि आईटीयूको दूरसञ्चार विकास ब्यूरोमा निर्देशकका रूपमा उनले काम गरिरहेकी थिइन् । रोजगारी सिर्जना, डिजिटल सीप विकास र लैंगिक समानता समावेश लगायतका क्षेत्रमा उनले काम गरिरहेकी थिइन् ।

शीर्ष पदका लागि उनको उम्मेदवारीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले समर्थन गरेका थिए । मार्टिनसँग डिजिटल परिदृश्य परिवर्तन गर्न आवश्यक इमानदारी, अनुभव र दृष्टि रहेको बाइडेनको भनाइ थियो ।

उनले हरेक विद्यालयलाई इन्टरनेटमा जोड्ने र हरेक विद्यार्थीले भर्चुअल सिकाइमा पहुँच पुर्‍याउने, महिलालाई सफल हुन आवश्यक पर्ने डिजिटल उपकरणहरू उपलब्ध गराउने र अनलाइन स्वास्थ्य र शैक्षिक स्रोतहरूको फाइदा विस्तार गर्न भूमिका खेल्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज १५, २०७९ १४:४९