close

प्रविधिमा महिलालाई प्रोत्साहन गर्दै 'गर्ल्स ईन टेक- नेपाल'

टेकपाना टेकपाना

असोज १५, २०७९ १८:५६

प्रविधिमा महिलालाई प्रोत्साहन गर्दै 'गर्ल्स ईन टेक- नेपाल'

काठमाडौं । प्रविधिमा रुचि हुने महिलाहरूका लागि 'गर्ल्स ईन टेक- नेपाल'ले विभिन्न विषयमा तालिम दिने भएको छ । यसमा छनौट हुने सहभागीले एक वर्षसम्म साताको दश घण्टा सम्बन्धित विषयमा तालिम पाउन सक्नेछन् । गर्ल्स ईन टेक- नेपालले मार्केटिङ मेनेजर, ग्राफिक डिजाइनर, पार्टनरशिप मेनेजर, इभेन्ट/प्रडक्सन मेनेजर, अपरेसन एण्ड स्ट्राटेजिक मेनेजर, मेम्बरशिप इंगेजमेन्ट मेनेजर र आउटरिच कोअर्डिनेटर जस्ता सङ्कायमा तालिम दिनेछ ।

गर्ल्स ईन टेक विश्वभरका ५२ वटा देशमा रहेको संगठन हो । त्यसै अन्तर्गतको 'गर्ल्स ईन टेक- नेपाल' नेपालमा रहेको एक संस्था हो । हरेक वर्ष यस संस्थाले विभिन्न विभागमा स्वयंसेवक लिने गर्छ । यसरी विभिन्न सङ्कायमा छानिएका स्वयंसेवकले प्रविधिसँग सम्बन्धित विभिन्न कार्यक्रम तथा बुटक्याम्पमा सहभागी हुन पाउँछन् ।

टेकपानासँग कुरा गर्दै गर्ल्स ईन टेक नेपालकी प्रबन्ध निर्देशक आस्था शर्माले प्रविधि सम्बन्धी कुनै पनि काम सिक्न चाहने महिलाहरूलाई एडभाइजरी र एम्बेस्डरका रूपमा लिइने बताइन् । विभिन्न सात सङ्कायबाट एडभाइजरीमा दुई जना र एम्बेस्डरमा एकजना गरी कुल २१ जना महिला यस कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

त्यस्तै यसबाहेक हरेक प्रदेशबाट प्रोभिन्स लिड र एम्बास्डरका रूपमा दुई जना महिलाका लागि पनि आवेदन खुलाइएको छ । यस कम्पनीमा आवद्ध भएर विभिन्न कार्यक्रमा सहभागी हुन चाहने महिलाले पनि फारम भर्न सक्नेछन् ।

"यसमा सहभागी हुने इच्छुक व्यक्तिले एक वर्षसम्मको प्रतिबद्धता दिनुपर्ने हुन्छ । एक वर्षको अवधिमा हामी उहाँहरूलाई विभिन्न कार्यक्रममा सहभागी गराउँछौँ, सीप अभिवृद्धिका तालिममा सहभागी बनाउँछौँ," उनले भनिन् ।

कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले यहाँ क्लिक गरी आवेदन दिन सक्नेछन् । आवेदनमा सहभागीले उल्लेख गरेका कुराहरूको आधारमा छानिने भएकाले फारम भर्दा शर्माले विशेष ध्यान दिन आग्रह गरेकी छिन् ।

यसबाट छानिएपछि उनीहरूको अन्तर्वार्ता लिइन्छ । यसमा पनि तीन तहको अन्तर्वार्ता हुन्छ । पहिलो चरण परिचयात्मक चरण हुनेछ, दोस्रो चरणमा उनीहरूले आफू कुन सङ्कायका लागि जान लागेको त्यस विषयमा अन्तर्वार्ता हुन्छ । त्यस्तै तेस्रो स्तरको अन्तर्वार्तामा आयोजक टिमबाट भइ त्यसमा छानिएपछि उनीहरू तालिममा छनौट हुन्छन् ।

विभिन्न चरणका अन्तर्वार्ता पार गरिसकेपछि उनीहरू तालिममा सहभागी हुन सक्नेछन् । तालिममा सहभागी हुनेले एक वर्षसम्म आफ्नो रुचि भएको सङ्कायमा तालिम पाउन सक्नेछन् ।

यसमा छानिसकेपछि सहभागीले आफूलाई रुचि भएको सेक्टरको प्लेटफर्म पाउने शर्माको भनाइ छ । त्यस्तै तालिमका सहभागीले आफ्नो क्षेत्रका विज्ञहरूसँग नेटवर्किङ बनाउन सक्नेछन् ।

अन्तर्राष्ट्रिय स्तरको टेक कम्युनिटीसँग नेटवर्किङ हुने भएकाले भविष्यमा विभिन्न अवसर पाउनसक्ने उनकाे भनाइ छ । तालिममा सहभागी हुन चाहनेले असोज २८ गतेभित्र फारम भरिसक्नुपर्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज १५, २०७९ २२:३८