close

अन्ततः ट्वीटरमा आयो ट्वीट एडिट गर्न मिल्ने फिचर

टेकपाना टेकपाना

असोज १८, २०७९ ९:२१

अन्ततः ट्वीटरमा आयो ट्वीट एडिट गर्न मिल्ने फिचर

काठमाडौं । अन्तत: ट्वीटरले एडिट बटन सार्वजनिक गरेको छ । याेसँगै ट्वीटरमा पोस्ट गरिसकेका ट्वीटहरू पनि एडिट गर्न मिल्नेछ । यद्यपि कम्पनीले यो फिचरलाई सीमित बनाएको छ । हाललाई यो फिचर अष्ट्रेलिया, क्यानडा र न्युजिल्यान्डका प्रयोगकर्ताले मात्र प्रयोग गर्न सक्नेछन् । यसपछि अमेरिकामा पनि चाँडै नै उपलब्ध हुने बताइएको छ । अन्य देशका प्रयोगकर्ताले भने यो फिचरको लागि थप केही समय कुर्नुपर्नेछ ।   

साथै यो फिचर भेरिफाइड अकाउन्ट भएका प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउनेछन् । ट्वीटमा पेन्सिल आकारको नयाँ बटन थप गरिएको छ । उक्त बटनमा क्लिक गरेर ट्वीट एडिट गर्न सकिन्छ । प्रयोगकर्ताले आफूले ट्वीट पोस्ट गरेको ३० मिनेट भित्र पाँच पटकसम्म ट्वीट एडिट गर्न सक्नेछन् । 

अन्य प्रयोगकर्ताले पनि एडिट भएको ट्वीट पत्ता लगाउन सक्नेछन् । एडिट भएको ट्वीटमा 'लास्ट एडिटेड' भनेर लेखिएको हुनेछ । उक्त स्ट्याम्पमा क्लिक गरेर के कुरा एडिट भएको हो, सो पत्ता लगाउन सकिन्छ । यो फिचर भेरिफाइड प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध गराएर कम्पनीले आफ्ना प्रयोगकर्ताहरूलाई आफ्नो अकाउन्ट भेरिफाइ गर्नको लागि आकर्षित गरेको अनुमान गरिएको छ । 

ट्वीटर खरिद गर्ने निर्णय गरेका एलन मस्क प्लेटफर्ममा नक्कली प्रयोगकर्ता धेरै छन् भन्ने कारण देखाउँदै आफ्नो निर्णयबाट पछि हटेका थिए । यही विषयको विवाद चलिरहँदा कम्पनीले एडिट बटनको सुरुवात गरेको हो । ट्वीटरमा आफ्नो अकाउन्ट भेरिफाई गर्न प्रतिमहिना ५ डलर शुल्क तिर्नुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज १८, २०७९ ९:४१