close

मोबाइलबाटै यसरी बनाउनुहोस् दशैंको शुभकामना पोस्टर

टेकपाना टेकपाना

असोज १८, २०७९ ११:१३

मोबाइलबाटै यसरी बनाउनुहोस् दशैंको शुभकामना पोस्टर

काठमाडौं । विजया दशमी नजिकिएको छ । यस्तो हामी सबैलाई एउटा कुराको महसुस पक्कै भएको होला, त्यो हो  पहिले जस्तो दशैंको शुभकामना दिन चिठी वा अन्य पत्र पठाउने प्रचलन करिब हटिसकेको छ । अहिले मानिसहरू सामाजिक सञ्जालमा नै सक्रिय हुने भएकाले शुभकामना आदानप्रदानका लागि यो निकै उपयुक्त माध्यम बनेको छ ।

सामाजिक सञ्जालबाट शुभकामना दिनका लागि पोस्टरको धेरै महत्त्व हुन्छ । के तपाईंलाई थाहा छ रु हामी आफ्नो फोनबाट नै स्तरीय पोस्टर बनाउन सक्छौं । यस्ता पोस्टरहरू विभिन्न चाडपर्वमा आफ्नो सामाजिक सञ्जालमा राखेर शुभकामना दिन उपयुक्त हुन्छन् ।

आज हामी एन्ड्रोइड फोनबाट राम्रा शुभकामना पोस्टर बनाउन सिकाउँछौ । त्यसका लागि केही विशेष प्रक्रियामा ध्यान दिनुपर्छ । माथि देखिएको पोस्टर देख्दा बनाउन जति गाह्रो देखिन्छ वा गाह्रो लाग्न सक्छ, बनाउन थालेपछि सोचेभन्दा सजिलो छ ।

फोनबाटै पोस्टर निर्माण गर्न सघाउने एक एप र त्यसको प्रक्रियाबारे यहाँ चर्चा गरिएको छ । यसका लागि तपाईंले दुईवटा प्रक्रियामा राम्रोसँग काम गर्नुपर्ने हुन्छ ।

१) एप र एपमा फन्ट इन्स्टल

सबैभन्दा पहिले तपाईंले एन्ड्रोइडका लागि यस लिंकमा र आईओएसका लागि यस लिङ्कमा गएर पिक्सेलल्याब एप इन्स्टल गर्नुहोस् ।

यदि तपाईंले निर्माण गर्न लागेको पोष्टरमा अङ्ग्रेजी अक्षर प्रयोग हुन्छन् भने त केही गर्न परेन, एपमा डिफल्ट रूपमा रहेका फन्ट प्रयोग गर्न सक्छौं  । तर, यदि पोष्टरमा नेपाली अक्षर प्रयोग गर्नुपरेको खण्डमा भने तपाईंले तल उल्लेख गरिएको प्रक्रियाबाट फन्ट इन्स्टल गर्न सक्नुहुन्छ ।

प्रक्रियागत रुपमा लामो देखिए पनि यहाँ हामीले विस्तृत जानकारी दिएकाले तपाईंले सहजै बुझ्न सक्नुहुन्छ । यस्ता पोस्टरलाई आकर्षक बनाउन हामीले विभिन्न फन्टहरू प्रयोग गर्नुपर्ने हुन्छ ।

गुगलमा गएर नेपाली फन्ट कलेक्सन जिप फाइल (Nepali Font Collection Zip File) सर्च गरेर फन्ट डाउनलोड गर्नुहोस् । वा यहाँ क्लिक गरेर पनि सोझै फन्ट डाउनलोड गर्न सकिन्छ ।

फन्ट डाउनलोड गरिसकेपछि त्यसलाई आफ्नो स्मार्टफोनमा रहेको फाइल म्यानेजरमा एक्स्ट्रयाक्ट गर्नुपर्ने हुन्छ । एक्स्ट्रयाक्याट गर्नका लागि तपाईंले आफूले डाउनलोड गरेको फन्टको जिप फाइल कुन फोल्डरमा छ भन्ने पत्ता लगाउनुपर्ने हुन्छ ।

प्रायः फोनमा डाउनलोड गरेका सामग्री डाउनलोड फोल्डरमा हुने भएकाले तपाईं त्यहीँ जान सक्नुहुन्छ । आफूले डाउनलोड गरेको जिप फाइलमा ट्याप गर्नुभयो भने एक्स्ट्रयाक्ट गर्ने अप्सन देखाउँछ ।

  1. यसरी फन्ट कुनै फोल्डरमा एक्स्ट्रयाक्ट गर्न सकिन्छ । यो प्रक्रियापछि पिक्सेलल्याबमा सो फन्ट इन्स्टल गर्नुपर्ने हुन्छ ।
  2. पिक्सेलल्यावमा फन्ट इन्स्टल गर्न सबैभन्दा पहिले एप खोल्नुहोस् ।
  3. एप खोलिसकेपछि त्यहाँ न्यु टेक्स्ट (New Text) लेखिएको एक अप्सन देखिन्छ । तपाईंले त्यसमा क्लिक गर्नुहोला ।
  4. त्यसपछि तलको ए (A) को आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि त्यसको माथि थुप्रै अप्सनहरू देखिन्छन् ।
  5. त्यसलाई बायाँ तर्फ सार्दै जानुभयो भने फन्ट भन्ने अप्सन भेट्नुहुनेछ । 
  6. फन्टमा क्लिक  गर्नुभयो भने एउटा नयाँ सेक्सन देखिन्छ । जसमा तपाईंलाई तीन विकल्प दिएको हुन्छ ।
  7. तपाईंले बीचको माई फन्ट (My Font) मा ट्याप गर्नुभयो भने त्यहाँ खाली सेक्सन देखिन्छ । अब हामीले डाउनलोड गरेको फन्ट यही सेक्सनमा इन्स्टल गर्नुपर्ने हुन्छ ।
  8. फन्ट इन्स्टलका लागि साेही सेक्सनको तल सर्च बक्स रहेको छ । सर्च बक्सको छेउमा दुईवटा आइकन छ । त्यसमध्ये तपाईंले अन्तिमको अप्सन छान्नुहोस् ।
  9. यसपछि फाइल म्यानेजरको अप्सन देखिन्छ । त्यहाँ तपाईंले पहिले फन्ट एक्स्ट्रयाक्ट गरेको फोल्डरमा गई फन्ट सेलेक्ट गर्नुहोला । यसरी फन्ट पिक्सेलल्याबमा इन्स्टल गरिसकेपछि पहिलेको माई फन्टको ठाउँमा तपाईंले थुप्रै फन्टहरू देख्न सक्नुहुन्छ ‌।

 २) डिजाइन गर्ने तरिका

फन्ट इन्स्टलको प्रक्रिया सकिएपछि अब पोस्टर डिजाइनको प्रक्रियामा जाऔं । यसमा डिजाइन गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

  1. सबैभन्दा पहिले तपाईंले डिजाइन कुन पर्वका लागि बनाउन लागेको हो, त्यो ख्याल गर्नुहोस् ।
  2. त्यो भन्दा पनि विशेष पर्वमा कुन-कुन कलरलाई प्राथमिकता दिएको छ भन्ने ख्याल गर्नुपर्ने हुन्छ । त्यही अनुसार हामी यहाँ रातो र हरियो रङ्ग‌को प्रयोग गरिरहेका छौं ।
  3. सबैभन्दा पहिले ब्याकग्राउन्ड कलर छान्नुहोस्, त्यसका लागि सो पेजको अन्तिममा अप्सन देख्नुहुनेछ । त्यसमध्ये सकेण्ड लास्ट अप्सन छान्नुहोला । सो अप्सन छानिसके पछि कलर भन्ने अप्सन देखिन्छ । त्यसमा  क्लिक गरेर आफूलाई आवश्यक कलर छान्न सक्नुहुनेछ ।
  4. कलर छानी सकेपछि, तलको तेस्रो अप्सनमा जानुहोस् । त्यसपछि माथि शेप्स (Shapes) भन्ने अप्सन देखिन्छ । त्यसमा ट्याप गर्दा वर्गाकार बक्स देखिन्छ । अब तपाईंले त्यही बक्सलाई आफ्नो आवश्यकता अनुसार साइज र कलर मिलाउन सक्नुहुन्छ ।
  5. त्यसरी हामीले बनाएको पोस्टर जस्तै विभिन्न कलरका बक्स बनाउनुहोस् ।
  6. यो प्रक्रिया सकिएपछि तपाईंले अन्य दुईवटा कुरामा ध्यान दिनुपर्छ । यदी तपाईं आफ्नो फोटो राख्न चाहनुहुन्छ भने फोटो र जमरा, टिकाको फोटो । यी सबै पहिले नै डाउनलोड गरेर राख्नुपर्ने हुन्छ ।

फोटोको ब्याकग्राउन्ड भएको खण्डमा हटाउनका लागि तपाईंले कुनै एक ब्याकग्राउन्ड रिमुभर साइट प्रयोग गर्न सकिन्छ, जस्तै रिमुभ डट बिजी । यसरी फोटोमा देखाए जस्तो पोस्टर तपाईंले आफ्नो फोनको एपबाट केही समयमा नै बनाउन सक्नुहुन्छ ।

यस पोस्टरमा प्रयोग भएका विभिन्न तत्व (जमराको फोटो, बीचमा रहेको लाइन, त्यस्तै तल भएको मन्दिरको फोटो) सबै पीएनजी फर्म्याटमा डाउनलोड गर्न सकिन्छ । यदि ब्याकग्राउन्ड हटाउन पर्‍यो भने पनि हामीले ब्याकग्राउन्ड हटाउने तरिकाको बारेमा जानकारी दिइसकेका छौं । पोस्टरमा के कुराले आकर्षक देखिन्छ भन्ने विषय तपाईंको छनौटमा निर्भर रहन्छ ।

पछिल्लो अध्यावधिक: असोज १८, २०७९ १३:१९