close

ओपन सोर्स के हो, अनि यसलाई कसरी प्रयोग गर्न सकिन्छ ?

टेकपाना टेकपाना

असोज २५, २०७९ १६:९

ओपन सोर्स के हो, अनि यसलाई कसरी प्रयोग गर्न सकिन्छ ?

काठमाडौं । इन्टरनेटको सञ्जालमा ओपन सोर्स बढी नै प्रचलित शब्द हो । सामान्य रूपमा ओपन सोर्स भन्नाले त्यस्तो सोर्स कोडलाई जनाउँछ, जो सार्वजनिक रूपमा पहुँचयोग्य हुने गर्छन् । ओपन सोर्सका सोर्स कोडलाई जोकोहीले मोडिफाई गरेर व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न सक्छन् ।

तर, त्यसका लागि केही निश्चित सर्तहरू तोकिएका हुन्छन् । निजी सफ्टवेयर जस्तो ओपन सोर्स सफ्टवेयर पनि एक किसिमको कम्प्युटर सफ्टवेयर हो । कतिपय ओपन सोर्समा भने प्रयोगका सर्त राखेर लाइसेन्स जारी गरिएको हुन्छ ।

ओपन सोर्सका पनि उत्पादन र प्रयोगका सर्त अनुसार जनरल पब्लिक लाइसेन्स, मिट लाइसेन्स, कमन डेभलपमेन्ट एन्ड डिस्ट्रिब्युसन लाइसेन्स जस्ता विभिन्न लाइसेन्स जारी हुन्छन् । ओपन सोर्स इनिसिएटिभ (ओएसआई) नामक एउटा गैरनाफामूलक संस्थाले यस्ता लाइसेन्सका मान्यताहरू तय गर्छ । ओपन सोर्स अर्थात् खुला स्रोत शब्दको सुरुवात खास किसिमका कम्प्युटर प्रोग्रामहरूको डिजाइनको सन्दर्भमा र सफ्टवेयर सम्बन्धी लेखोट वा छलफलमा प्रयोग भएको हो ।

ओपन सोर्स शब्दको पहिलो प्रयोगको श्रेय अमेरिकास्थित फोर्टिच्युड इन्स्टिच्युटकी क्रिस्टिन पिटरसनलाई जान्छ । उनले सन् १९९८ मा 'सफ्टवेयर विथ कनेक्सन'मा ओपन सोर्स शब्द प्रयोग गर्न सुझाव दिएकी थिइन् । ओपन सोर्स सफ्टवेयरलाई जो-कोहीले पनि निरीक्षण, र अभिवृद्धि गर्न सक्छन् ।

हुन त सबै कम्प्युटर प्रयोगकर्ताले सोर्स कोडलाई हेर्ने गर्दैनन् । तर, कोड प्रोग्राम चलाउनेहरूले कुनै प्रोग्राम र एपहरूलाई परिमार्जन गर्न सक्छन्, नयाँ फिचरहरू जोड्न सक्छन् र पहिले काम गर्न नसक्ने भागहरूलाई चल्न मिल्ने बनाउन सक्छन् ।

क्रियटरले पूर्ण स्वामित्वमा राखेका व्यावसायिक सफ्टवेयरलाई क्लोज्ड सफ्टवेयर भनिन्छ । यस्तोमा सफ्टवेयर बनाउने व्यक्ति वा संस्थाले मात्र परिमार्जन र स्तरउन्नति गर्न सक्छन् । त्यस्ता सफ्टवेयर लेख्नेहरूले मात्र कानूनी रूपमा सार्ने (कपी गर्ने), निरीक्षण र परिवर्तन गर्ने हक राख्छन् ।

माइक्रोसफ्ट अफिस र एडोबी फोटोसप यस्ता क्लोज्ड वा प्रोप्राइटरी सफ्टवेयरका उदाहरण हुन् । जुन तपाई-हामी जस्ता ग्राहकले उनीहरूको सर्त मानेर किन्नुपर्छ । हामीलाई त्यस्ता सफ्टवेयरमा अनुमति दिएका काम बाहेक अरू कुरा गर्न मिल्दैन ।

अर्कोतिर, लिब्र अफिस, जिनयु इमेज म्यानिपुलेसन, भिएसी मिडिया प्लेयर, रेड ह्याट सफ्टवेयर जस्ता ओपन सोर्स सफ्टवेयर भने ग्राहकले सार्ने, त्यहाँबाट सिक्ने, परिमार्जन गर्ने र त्यसलाई बाँड्ने काम गर्न सक्छन् । लिनक्स र अपाची जस्ता ओपन सोर्स सफ्टवेयर अहिले अत्यन्तै लोकप्रिय छन् । ओपन सोर्स भन्ने बित्तिकै मानिसमा सबै कुरा निःशुल्क हो भन्ने भ्रम पर्नसक्छ ।

ओपन सोर्समा आधारित सफ्टवेयरका निर्माताहरूले प्रयोगकर्तासँग निश्चित शुल्क लिन सक्छन् । कतिपयले सफ्टवेयरको मूल्य नलिने तर सफ्टवेयरको सेवा र सहयोगको शीर्षकमा पैसा लिने गर्छन् । यसरी सफ्टवेयरको मूल्य नतोके पनि निर्माताहरूले इन्स्टल, प्रयोग र आइपर्ने समस्या समाधान गर्न शुल्क लिन भने सक्छन् ।

हुन त ओपन सोर्स सफ्टवेयरहरूको हकमा प्रतिलिपि अधिकारको सट्टामा 'कपिलेफ्ट' शब्दको प्रयोग बढी हुने गर्छ । तर त्यसमा पनि प्रयोग, परिमार्जन र सेयर गर्ने निश्चित अधिकार ग्राहक वा प्रयोगकर्तालाई दिइएको हुन्छ । अहिले ओपन सोर्स जस्तै खुला लाइसन्सको प्रयोग र विस्तार सफ्टवेयर, इलेक्ट्रोनिक्स, खाना र पेय पदार्थ, डिजिटल सामग्री, औषधि, मिडिया, कृषि, विज्ञान र इञ्जिनियरिङ र रोबोटिक्सजस्ता क्षेत्रमा भइरहेको छ ।

ओपन सोर्स जस्तै क्रियटिभ कमन्स लाइसन्स शैक्षिक सामग्रीको क्षेत्रमा बढी प्रचलनमा छ । यो लाइसन्समार्फत जोकोहीले पनि सिर्जना अरूलाई कानूनी रूपमै बाँड्न र प्रसार गर्न सक्छन् । प्रख्यात वेबसाइट विकिपेडियाका सामग्री यसै लाइसन्स अनुसार निःशुल्क उपलब्ध छन् ।

ओपन सोर्सलाई सफ्टवेयरमा कसरी प्रयोग गरिन्छ ?

ओपन सोर्सले सफ्टवेयर डेभलपमेन्ट कम्युनिटीमा ठूलो भूमिका निर्वाह गरेको छ । डेभलपरले ओपन सोर्स टुलको प्रयोग गरेर ओपन सोर्स कोडका समस्या समाधान गरेका हुन्छन् । ओपन सोर्स कोडहरू विशेषगरी गिटहब, सोर्सफोर्ज (Sourceforge) र लन्चप्याड जस्ता माध्यममा शेयर गर्ने गरिन्छ ।

 

पछिल्लो अध्यावधिक: असोज २५, २०७९ १६:९