close

घाटा व्यहोरेर पनि युक्रेनमा इन्टरनेट उपलब्ध गराउँदै एलन मस्क

टेकपाना टेकपाना

असोज ३०, २०७९ १३:५७

घाटा व्यहोरेर पनि युक्रेनमा इन्टरनेट उपलब्ध गराउँदै एलन मस्क

काठमाडौं । स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क युक्रेनलाई उपलब्ध गराउँदै आएको ‘स्टारलिङ्क टर्मिनल’ मा लगानी नगर्ने निर्णयबाट पछि हटेका छन् । शुक्रबार एक ट्वीटमार्फत मस्कले कम्पनी घाटामा गएकाले अमेरिकी सरकारबाट सहयोग नपाएको खण्डमा इन्टरनेट उपलब्ध गराउन नसक्ने धारणा राखेका थिए ।

आफ्नो पुरानो निर्णयबाट पछि हट्दै युक्रेनलाई निरन्तर स्याटलाइट इन्टरनेट उपलब्ध गराउन कम्पनी तयार रहेकाे बताएका छन् । उनले शनिबार साँझ ट्वीट गर्दै कम्पनीले घाटा व्यहोरेको भए पनि युक्रेनलाई निरन्तर रुपमा नि:शुल्क स्याटलाइट इन्टरनेट सेवा उपलब्ध हुने जानकारी दिए ।

उनी लेख्छन्, "यद्यपि स्टारलिङ्कले अझै पनि पैसा गुमाइरहेको छ र अन्य कम्पनीहरूले अर्बौं करदाता प्राप्त गरिरहेका छन् । हामी केवल युक्रेन सरकारलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउनेछौँ ।"

शुक्रबार अन्तराष्ट्रिय सञ्चार माध्यम सीएनएनमा प्रकाशित प्रतिवेदनमा स्पेक्स एक्सले युक्रेनलाई थप टर्मिनल तथा इन्टरनेट सेवा उपलब्ध गराएको खण्डमा २०२२ को अन्त्यसम्म १२४ मिलियन डलर (करिब १६ अर्ब २५ करोड रुपैयाँ) खर्च हुने र अबको १२ महिनामा ३८० मिलियन डलर (करिब ५० अर्ब १० करोड रुपैयाँ) खर्च आउने उल्लेख गरिएको थियो । त्यसपछि मस्कले स्टारलिङ्कले तत्कालै इन्टरनेट सेवाका लागि सहयोग गर्न नसक्ने धारणा ट्वीटमार्फत राखेका थिए ।

त्यस्तै अर्को ट्वीट गर्दै मस्कले लेखेका छन्, "नयाँ टर्मिनल थप गर्नका लागि आवश्यक निर्माण कार्य, प्रक्षेपण, व्यवस्थापन तथा इन्टरनेटमा पहुँचका लागि दूरसञ्चार शुल्क गेटवेमार्फत भुक्तानी गरेका छौँ। त्यस्तै हामीले यी प्रणालीलाई साइबर आक्रमण र हुनसक्ने अवरोधबाट बचाउनु परेको छ । जुन दिनानुदिन कठिन बन्दै गइरहेको छ । त्यसलाई व्यवस्थापन गर्न मासिक औसत २० मिलियन डलर खर्च हुन्छ ।"

मस्कका अनुसार युक्रेनलाई युद्धमा सहयोग गर्न स्टारलिङ्कले हालसम्म २५ हजारभन्दा बढी टर्मिनल पठाइसकेको छ । यो सेवाले युद्धका क्रममा युक्रेनी सेनाहरू र नागरिकलाई अनलाइन राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ । जसले गर्दा स्टारलिङ्कमा साइबर आक्रमण हुने जोखिम बढ्दै गइरहेको छ ।

मस्कले अक्टोबर ३ तारिखमा ट्वीटरमा एक पोल तयार गर्दै शान्तिका लागि युक्रेनले रुससामु आत्मसमर्पण गरेर शान्ति कायम गर्नुपर्ने उल्लेख गरेका थिए । जसबाट मस्कले थुप्रै आलोचनाको सामना गर्नुपरेको थियो । व्यक्तिगत तवरबाट युक्रेनलाई सबैभन्दा बढी सहयोग गर्ने व्यक्तिको सूचीमा मस्क शीर्ष स्थानमा रहेका छन् ।  

 

 

पछिल्लो अध्यावधिक: असोज ३०, २०७९ १३:५८