close

नेपाल सुन्दरी भन्छिन्ः लाइसेन्स पाएको दिन म खुशीले रुन्छु

सुजिता बस्नेत

कात्तिक १, २०७९ १३:५

नेपाल सुन्दरी भन्छिन्ः लाइसेन्स पाएको दिन म खुशीले रुन्छु

मेराे जन्म अमेरिकामा भएकाे हो । तर म सानाे छँदा परिवारसँग केही समय नेपाल बसेकी थिएँ । एलकेजीसम्म यहीँ पढेँ । त्यसपछि परिवारसँगै अमेरिका गएँ र उच्च शिक्षा उतैबाट लिएँ । 

अहिले पनि मेरो स्थायी बसोबास नेपालमा छैन । सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२१ को विजेता भएपछि यहीँ केही गर्ने सोच भने पलाएको छ । 

तर पहिले पनि कलेज छुट्टी हुँदा म नेपाल आइरहन्थेँ । यहाँ आएकाे बेलामा आफन्त साथीभाइसँग भेट्दैमा समय बिति जान्थ्याे । नेपाल बस्‍न थालेपछि आफैँमा धेरै विकास भएकाे अनुभव गरेकी छु ।

अझ मिस युनिभर्स नेपालकाे ताज पहिरिए पछि धेरै जिम्मेवारीहरू थपिएका छन् । यात्रा धेरै गर्नु परिरहेकाे हुन्छ । अब म नेपालमा नै केही समय बस्‍ने भएका कारण लाइसेन्सकाे आवश्यकता देखेँ । 

काम विशेषले विभिन्न ठाउँहरुमा गइ रहनुपर्ने हुन्छ । त्यसै पनि कहिलेकहीँ साथीभाइसँग यताउती गइन्छ । सरसामान खरिदका लागि बजार जानु पर्छ । हुन त म सामान्य कामका लागि पठाओ प्रयाेग गर्छु । तर दिनमा थुप्रै ठाउँमा जाँदा पैसा धेरै नै खर्च हुन थाल्यो । 

यहीँ बस्‍ने र काम गर्ने भएपछि दैनिक पठाओ चढ्ने जीवनशैली खर्चिलो हुने नै भयाे । त्यसपछि म आफैँ लाइसेन्स लिने विषयमा सोच्न थालेँ । त्यसो त लाइसेन्स भन्ने कुरा भएपछि जुनसुकै बेला काम लाग्ने चिज पनि हो । 

एक पटक मैले साथीकाे स्कुटर चलाएकी थिएँ । रमाइलाे पनि भयाे । त्यसपछि आफैँ कुदाउन सक्छु भन्ने आत्मविश्वास पलायो । 

तर लाइसेन्स लिने प्रक्रियाबारे मलाई केही थाहा थिएन । एकदुई जना साथीलाई त्यसबारे साेधेकी थिएँ । सबैले ‘यातायात कार्यालय जाऊ, त्यहाँ आवश्यक जानकारी पाइन्छ’ भने ।

म यातायात कार्यालय पनि गएँ । तर त्यहाँ मान्छेहरूकाे लामो  लामो लाइन देखेर कुन झ्यालमा गएर साेधुँ साेधुँ भयो । एउटा सामान्य प्रश्नका लागि पूरै दिन लाइन बस्नु ? त्यति गर्दा पनि कसैले उत्तर दिएनन् भने के गर्ने ?

त्यसपछि गुगलमा ‘नेपाल ड्राइभिङ लाइसेन्स प्राेसेस’ लेखेर सर्च गरेँ । नजिता देखेर म छक्क परेँ । किनकी यातायात कार्यालयकाे वेबसाइटमा सबै प्रकृयाहरू प्रष्टसँग उल्लेख गरिएकाे रहेछ । 

त्यस पश्चात मैले उल्लेखित प्रकृया अनुसार अगाडि बढ्ने याेजना बनाएँ । तर मेराे एक जना साथीले ‘तिम्रो डेट ३/४ महिनामा पनि पाउँदैनौ, गाह्राे हुन्‍छ’ भनेकी थिइन् । तर भाग्य वश मैले फारम भरेकाे एक हप्ता भित्रको मिति पाएँ । 

तर ‘पढ्न पर्छ, ड्राइभिङ पनि सिक्‍नु पर्छ’ भन्ने केही पनि सोच आएको थिएन । मात्र उत्साहित भइरहेकाे थिएँ । त्यस बेलासम्म मलाई राम्राेसँग स्कुटर चलाउन पनि आउँदैन थियाे । 

मिति प्राप्त भएपछि म चाबहिलकाे यातायात कार्यालय गएँ । त्यहाँ पनि उस्तै मान्छेहरूकाे लाइन थियाे । त्यहाँ केके काम गर्नु पर्छ भन्‍ने पनि मलाई थाहा थिएन । लाइनमा भएकाहरूलाई साेध्दा थाहा छैन मात्र भन्थे ।

तर एक जना दाइले आवश्यक प्रकृया बताइदिनु भयाे । तर त्याे प्रकृया सुनेर म छक्क परेँ । एक नम्बर काेठामा गएर हस्ताक्षर गराऊ, दुई नम्बर काेठमा गएर हस्ताक्षर गराऊ, तीन नम्बर काेठामा गएर हस्ताक्षर गराऊ… ।

त्यसमाथि मान्छेहरूले लाम मिचेकाे देख्दा झन् दिक्क लाग्‍थ्यो । सामान्य काम गराउँदैमा मेरो सारा दिन बित्यो । 

भाेलि लिखित परीक्षा थियाे । म झन् समस्यामा परेँ । सुनेँ कि लिखित परीक्षा अङ्ग्रेजीमा हुँदैन, नेपालीमा मात्र हुन्छ ।

त्यसपछि मैले युट्युबमा ‘नेपाली ड्राइभर लाइसेन्स रिटन इक्जाम’ टाइप गरेर खोज्न थालेँ । यस विषयमा बनेका भिडिओमा भएका कुराहरु सकेसम्म याद गरेँ । 

 

लिखित परीक्षासँग म अलिक डराएकी थिएँ । किनकी लिखितमा एक पटक अनुत्तीर्ण भइयाे भने थप तीन महिना कुर्नुपर्ने हुन्थ्यो । ट्रायलमा अनुत्तीर्ण हुँदा त त्यस्ताे केही थिएन । ती पटकसम्म माैका पाइन्थ्याे । यसबीच परीक्षा दिन गएँ । 

अनुत्तीर्ण हुन्छु भन्ने डर लागिरहेकाे थियाे । २० प्रश्नमा १० ओटा मिलाए हुन्थ्याे । कम्तिमा मैले १० मिलाएर उत्तिर्ण गरेँ । अब पालाे थियाे, ट्रायलकाे । लिखित परीक्षाकाे ट्रायल भोलिपल्ट थियाे ।

मैले त्यस बिहान ८ बजे देखि १२ बजेसम्म ट्रायलकाे अभ्यास गरेँ । दिउँसाे १२ बजेपछि ट्रायलकाे समय थियाे । त्यसका लागि भनिएको ठाउँमा गएँ ।

जब मैले अङ्ग्रेजी ‘एट’ (8) आकार सफलताका साथ पूरा गरेँ, मलाई लागेकाे थियाे, अब त लाइसेन्स पाएँ । भगवानलाई पनि मन मनै धन्यवाद दिएँ । तर, उकालाेमा दुई ओटा खुट्टा एकै पटक राख्‍नु पर्नेमा पालैपालाे राखेको भनेर अनुत्तीर्ण गराइदिए । 

त्यसकाे १० दिन पश्चात पुन: ट्रायलका लागि थप शुल्क तिरेँ । यातायात कार्यालयका मान्छेहरूले ‘ट्रायल दिन जहिले गए पनि हुन्छ’ भनेका थिए । उनीहरूले निश्चित याे दिनमा जान भनेका थिएनन् ।

म केही दिनपछि पुन: ट्रायल दिन पुगेँ । तर त्यहाँका कर्मचारीहरुले ‘मिति सकिसकेको’ भने । फेरि दाेस्राे पटक ट्रायल नदिइकन अनुत्तीर्ण भएँ । मलाई उनीहरूले जहिले गए पनि हुन्छ भनेका थिए । तर जाँदा त्यस्तो जवाफ पाएँ । 

 

अब मसँग ट्रायल दिने अन्तिम माैका बाँकी छ । तर अझै पनि उनीहरूले कहिले ट्रायल दिनु पर्छ भनेर मिति यकिन गरिदिएका छैनन् । अब कहिले ट्रायल पर्छ मलाई थाहा छैन । फेरि कार्यालय साेमबारदेखि शुक्रबारसम्म खुल्ने भएका कारण शनिबार र आइतबार दिन मिल्दैन । यदि मैले लाइसेन्स पाएँ भने म खुशीले रुन्छु । म लाइसेन्सलाई नेपालले दिएकाे मायाकाे चिनाे सम्झनेछु । 

पछिल्लो अध्यावधिक: कात्तिक १, २०७९ १४:५३