close

के डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट फिर्ता आएकै हो त ?

टेकपाना टेकपाना

कात्तिक १२, २०७९ १२:४४

के डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट फिर्ता आएकै हो त ?

काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटर एलन मस्कको स्वामित्वमा आएपछि थुप्रै समाचार बाहिर आएका छन् । हालै अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट फिर्ता आएको कुरा र एलन मस्कले ट्वीटरमा परिवर्तन गरेका अफवाह फैलिरहेका छन् ।

अहिले सामाजिक सञ्जालमा डोनाल्ड ट्रम्पको नामबाट भएको ट्वीटको स्क्रिनशट भाइरल छ । ट्वीटरमा पनि उक्त अकाउन्टबारे विभिन्न चर्चा हुन थालेको छ । ट्वीटरले पूर्वराष्ट्रपति ट्रम्पको ट्वीटर ह्याण्डमाथि २०२१ मा पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो । उनले ट्वीटमार्फत आपराधिक कार्यहरू दोहोर्‍याउन मानिसहरूलाई प्रोत्साहन गरेको भन्दै ट्वीटरले उन्को अकाउन्ट निलम्बन गरेको थियो ।

ट्वीटरको यस कार्यलाई मस्क सुरुवाती दिनबाटै विरोध गर्दै आइरहेका थिए । उनले विभिन्न सञ्चारमाध्यमलाई आफूले ट्वीटरको पूर्ण स्वामित्व लिएपछि डोनाल्ड ट्रम्पको अकाउन्ट फिर्ता गर्ने बताएका थिए । ट्वीटर मस्कको स्वामित्वमा भएपछि ट्रम्पका नाममा थुप्रै अकाउन्ट बनेका छन् ।

दी यूएलटी जीएमआर (@theultGmr) युजरनेम भएका आधिकारिक ट्वीटर प्रयोगकर्ताले आफ्नो नाम परिवर्तन गरेर डोनाल्ड जुनियर ट्रम्प राखेका छन् ।

उक्त अकाउन्टबाट शुक्रबार लेखिएको, " धन्यवाद एलन मस्क ! फर्कन पाउँदा निकै रमाइलो लागिरहेको छ । सबै हेटर र लुजरहरूले मलाई याद गरेका छन् भन्ने आशा गरेको छु ।"

धेरैलाई यो भनाइ डोनाल्ड ट्रम्पकै हो भन्ने लागेको छ । वास्तवमा डोनाल्ड ट्रम्पको आधिकारिक ट्वीटर अकाउन्ट हालसम्म पनि फिर्ता आएको छैन । ट्रम्पको ट्रुथ सोसल नामक आफ्नै सामाजिक सञ्जाल छ । प्रतिबन्ध खुले पनि उनी यसमा जोडिने वा नजोडिने कुनै निश्चित छैन । एलन मस्कले ट्रम्पको अकाउन्ट फिर्ता ल्याउने संकेत भने पहिल्यै गरिसकेका छन् । ट्रम्पको आधिकारिक ट्वीटर ह्याण्ड (@realdonaldtrump) अहिले पनि सस्पेन्डमा रहेको देखिन्छ ।

त्यस्तै ट्वीटर एलन मस्कको स्वामित्वमा भएपछि थुप्रै परिवर्तन भएको खबर बाहिर आएका छन् । यसबारे स्पष्टीकरण दिँदै मस्कले हालसम्म ट्वीटरमा केही पनि परिवर्तन नगरेको जनाएका छन् ।

उनी भन्छन्, "स्पष्ट रूपमा भन्नुपर्दा, हामीले हालसम्म ट्वीटरको कन्टेन्ट मोडेरेसनका नीतिहरूमा कुनै परिवर्तन ल्याएका छैनौँ ।"

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०७९ १२:४४