close

तपाईँलाई कस्तो लाग्यो फेसबुक मेसेन्जरको नयाँ स्वरुप ?

टेकपाना टेकपाना

कात्तिक १३, २०७९ ९:१७

तपाईँलाई कस्तो लाग्यो फेसबुक मेसेन्जरको नयाँ स्वरुप ?

काठमाडौं । मेसेजिङ एप फेसबुक मेसेन्जरको युजर इन्टरफेस (यूआई) परिमार्जन भएको छ । फेसबुक ग्रुपमा ग्रुप च्याट समावेश गरेसँगै फेसबुकले मेसेन्जरको यूआई परिमार्जन गरेको हो । यसो त पछिल्लो समय मेसेन्जरलाई आकर्षक बनाउन फेसबुकको मातृ कम्पनी मेटा प्रयासरत छ ।

अहिले भिडिओ कलको यूआई समेत परिमार्जन गरिएको देख्न सकिन्छ । भिडिओ कल गरिरहँदा सँगै सहजै फेसबुकका भिडिओ हेर्न, भिडिओ कलमा सजिलै नयाँ प्रयोगकर्ता एड गर्न, इन्टाग्राम रिल हेर्न मिल्ने फिचर समावेश गरिएको छ । मेसेन्जर कल गरिरहँदा सँगै भिडिओ हेर्नका लागि स्क्रिन शेयर गर्नुपर्ने बाध्यतालाई यो फिचरले हटाएको छ ।

त्यस्तै फेसबुक ग्रुपमा ग्रुप च्याट फिचर समावेश गरेपछि फेसबुकले मेसेन्जरको प्रोफाइल यूआई परिमार्जन गरेको छ । परिमार्जित मेसेन्जर यूआईमा अब सजिलै नयाँ अकाउन्टमा स्वीच हुन, मेसेज रिक्वेस्ट हेर्न, अर्काइभमा भएका च्याट पढ्न र फेसबुक ग्रुप च्याट हेर्न सकिन्छ ।

याद गर्नुहोस् मेसेन्जर ग्रुप च्याट र फेसबुक ग्रुप च्याट फरक कुरा हो । तपाईँ जोइन भएका ग्रुपका एड्मिनले ग्रुप च्याट फिचर इनेबल गरेका छन् भने तपाईँ स्वतः त्यस ग्रुपमा जोइन हुन सक्नुहुन्छ । फेसबुक ग्रुपको ग्रुप च्याटमा एक्सेस पाउनका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

-सबैभन्दा पहिले मेसेन्जर खोल्नुहोस् ।

-त्यसपछि माथि बायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।

-त्यहाँ अन्तिममा ग्रुपको नाम समावेश गरिएको देख्न सकिन्छ । यदि त्यहाँ कुनै पनि ग्रुपको नाम देखिएन भने तपाईँ जोइन भएका ग्रुपले ग्रुप च्याट इनेबल गरेका छैनन् भन्ने बुझ्न पर्ने हुन्छ ।

तपाईँलाई उक्त ग्रुपको च्याट चित्त बुझेको छैन हाइड गर्न सक्नुहुन्छ । त्यसपछि उक्त ग्रुपबाट आएको मेसेजको नोटिफिकेसन आउँदैन । यदि तपाईँलाई त्यस ग्रुपमा च्याट गर्न मन लागेको छ भने पुनः अनहाइड गर्न सकिन्छ ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०७९ ९:२१