close

एलन मस्क किन फेसबुक चलाउँदैनन् ?

टेकपाना टेकपाना

कात्तिक १४, २०७९ १३:१४

एलन मस्क किन फेसबुक चलाउँदैनन् ?

काठमाडौं । टेस्ला तथा स्पेस एक्सका मालिक एलन मस्क सुरुवाती दिनबाटै ट्वीटरका ठूला समर्थक थिए । सन् २००९ मा ट्वीटरमा जोडिएका एलन मस्कले १२ वर्षको अवधिमा करिब २० हजार ट्वीट गरेका छन् । सामाजिक सञ्चालनमा हेर्ने हो भने उनी ट्वीटरबाहेक अन्त कतै सक्रिय देखिँदैनन् ।

के साँचै मस्कको फेसबुक वा इन्स्टाग्राम अकाउन्ट छैन त ? आज हामी यसै विषयमा केन्द्रित रहेर चर्चा गर्दैछौँ । संसारका सबैभन्दा धनाढ्य व्यक्ति सामाजिक सञ्जालका कुन कुन माध्यममा सक्रिय छन् भन्ने धेरैको जिज्ञासा हुनसक्छ ।

मस्क ट्वीटरमा सबैभन्दा बढी सक्रिय हुने गर्छन् । आफ्ना उत्पादनको प्रचार ट्वीटरबाट गर्न रुचाउने मस्क अधिकतम समय ट्वीटरमा नै बिताइरहेका हुन्छन् । ट्वीटरमा ११ करोड २० लाख बढी फलोअर भएका उनी ट्वीटरमा सर्वाधिक फलोअर हुने व्यक्तिको तेस्रो सूचीमा पर्छन् ।

तर मस्कको फेसबुक वा इन्स्टाग्राम अकाउन्ट भने छैन । सबैभन्दा बढी प्रयोगकर्ता भएका माध्यममा मस्क किन छैनन् भन्ने प्रश्न आउनु स्वाभाविक नै हो । मस्क ट्वीटरबाहेक सामाजिक सञ्जालका अन्य माध्यममा कतै सक्रिय छैनन् ।

मार्क जुकरबर्गलाई एलन मस्क ठीक नै मान्दैनन् । त्यस्तै उनको नियन्त्रणमा भएका सामाजिक सञ्जाल पनि । सन् २०१८ मा बिजनेस इन्साइडरसँगको अन्तर्वार्तामा मस्क आफूले कहिल्यै फेसबुक प्रयोग नगरेको बताएका थिए ।

मस्कलाई फेसबुकका संस्थापक मार्क जुकरबर्ग मन नपर्नुका धेरै कारण रहेका छन् । यसो त एलन मस्कले मार्क जुकरबर्गलाई मात्र नभई धनाढ्यको सूचीमा रहेका अन्य व्यक्तिलाई पनि ‘घृणा’ गर्ने गर्छन् । आफूलाई मन नपरेका मान्छेलाई मन नपरेको भन्न मस्कलाई केही गर्नु नै पर्दैन । उनी ट्वीटमै उक्त व्यक्तिको मजाक उडाइदिने गर्छन् ।

जेफ बेजस, वारेन बफेट, बिल गेट्स लगायत अन्य धनाढ्यलाई मस्क ठीक मान्दैनन् । त्यति मात्र नभई उनीहरूले गरेका कामलाई कहिल्यै पनि समर्थन गरेको पाइँदैन । यस सूचीमा मस्कले सबैभन्दा बढी घृणा गर्ने व्यक्तिमा पर्छन्, मार्क जुकरबर्ग ।

जुकरबर्ग र मस्कको तालमेल एक-आपसमा कहिल्यै मिलेको छैन । उनीहरू बीचको असमझदारी सन् २०१६ बाट भएको धेरैको बुझाइ छ ।

सन् २०१६ मा एलन मस्कको कम्पनी स्पेस एक्सको फाल्कोन ९ रकेटको प्रक्षेपण हुँदै थियो । उक्त रकेटमा फेसबुकको स्याटलाइट पनि थियो । जुकरबर्गले उक्त स्याटलाइट साहारा-अफ्रिका क्षेत्रमा तीव्र गतिको इन्टरनेट स्पीड उपलब्ध गराउन अन्तरिक्षमा प्रक्षेपण गर्न लागेका थिए । तर, दुर्भाग्यवश स्पेस एक्सको फाल्कोन ९ रकेट परीक्षण उडानका समयमै विस्फोट भयो ।

यसमा फेसबुकको पहिलो स्याटलाइट 'एमओ ६' सहित मार्क जुकरबर्गको सपना पनि गाँसिएको थियो । रकेट विस्फोट भएपछि मार्क जुकरबर्गको उक्त स्याटलाइट पनि त्यसैमा ध्वस्त भयो । यो खबर थाहा पाउना साथ जुकरबर्ग निकै रिसाए । उनले फेसबुक पोस्टमार्फत स्पेस एक्स र एलन मस्कमाथि प्रश्न उठाएका थिए ।

मस्कले भने जुकरबर्गको उक्त पोस्टको रिप्लाई दुई वर्षपछि ट्वीटमार्फत दिए । उनले भनेका थिए, "हो, हामीले उनीहरूको स्याटलाइट निःशुल्क प्रक्षेपण गर्ने प्रतिबद्धता दिनु नै हाम्रो गल्ती भयो । मलाई लाग्छ उनीहरूसँग उक्त स्याटलाइटको इन्स्याेरेन्स पनि छ ।"

यस ट्वीटको रिप्लाई दिँदै जुकरबर्गले पैसाभन्दा पनि यो स्याटलाइट तयार गर्न धेरै समय लाग्ने बताएका थिए । यो घटनाले गर्दा नै उनीहरूबीच मनमुटाव बढेको त हो । तर, यही घटनाका कारण मनमुटाव सुरु भएको भने होइन ।

उक्त रकेट प्रक्षेपण हुनुभन्दा पहिलेबाट नै यी दुईबीच मनमुटाव रहेको थियो । धेरै कुरामा जुकरबर्ग र मस्कको सोच एक-अर्काभन्दा फरक छ । जुकरबर्ग आर्टिफिसियल इन्टेलिजेन्सको समर्थन गर्छन् भने मस्क उक्त प्रविधि मानव जीवनका लागि खतरनाक सावित हुने तर्क दिन्छन् ।

मस्क भन्छन, "यदि एआईको विकास रोक्न सकिएन भने यसले ठूलो दुर्घटना निम्त्याउँछ । यो प्रमाणु बमभन्दा पनि घातक हुन्छ ।"

उनी मात्र नभई आफ्नो युगका महान् वैज्ञानिक स्टेफेन हकिङ पनि आर्टिफिसियल इन्टेलिजेन्स मानवको हितमा नभएको तर्क राख्थे ।

जुकरबर्ग भने एआई निकै नै सुरक्षित भएको दाबी गर्छन् । उनी भन्छन्, "एआई मानवको भविष्य हो । जसले हाम्रा हरेक कामलाई सहज बनाइदिन्छ ।"

यसलाई प्रविधिलाई आत्मसात् गर्दै जुकरबर्गले मेटाभर्सको परियोजना अगाडि बढाएका छन् । एआईबारे मस्कको धारणामा बदलाब ल्याउनका लागि जुकरबर्गले सन् २०१४ मा मस्कलाई डिनरका लागि निम्तो गरेका थिए ।

जुकरबर्गको निम्तोलाई सहर्ष स्वीकारेर उनको निवासमा पुगेका मस्कलाई विभिन्न विज्ञहरूले आर्टिफिसियलल इन्टेलिजेन्सका बारेमा चर्चा गर्न थाले । तर, यसपछि पनि मस्कले ट्वीट गर्दै एआईलाई लिएर जुकरबर्गको सोच सीमित भएको ट्वीट गरे । उनीसँग त्यो रात जुकरबर्ग र एआई ल्याबका अन्य विज्ञले एआईका बारेमा बुझाए पनि उनले अन्तमा उक्त प्रविधि निकै खतरनाक भएको राय दिए ।

मस्कलाई फेसबुक मन नपर्नुको यो अर्को पक्ष हो । त्यस्तै सन् २०१८ मा फेसबुकले आफूसँग भएको डेटा क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरेको पाइयो । त्यसपछि धेरैलाई के लाग्न थाल्यो भने जुकरबर्ग पैसाका लागि जे पनि गर्न तयार छन् ।

यही विषयलाई लिएर मस्कले कैयौँ पटक फेसबुकको आलोचना गरेका छन् । विशेषगरी गोपनीयतालाई प्राथमिकता दिने मस्क फेसबुकको यही असान्दर्भिक नीतिले गर्दा उक्त प्लेटफर्ममा आकर्षित नभएको देखिन्छन् ।

उनीसँग फेसबुक अकाउन्ट नभए पनि उनका कम्पनी टेस्ला र स्पेसको भने फेसबुक पेज रहेको थियो । मस्कले बारम्बार फेसबुकको आलोचना गरिरहँदा धेरै प्रयोगकर्ताले उनको कम्पनीको फेसबुक पेजबारे कुरा उठाउँथे ।

एक पटक आफूलाई कम्पनीको फेसबुक पेज भएको जानकारी नभएको भन्दै त्यसको केही दिनमा नै फेसबुक पेज डिलिट गरेका थिए । मस्कको फेसबुक अकाउन्ट नभए पनि इन्स्टाग्राम अकाउन्ट भने थियो । पछि इन्स्टाग्राम फेसबुकले खरिद गरेपछि उनी इन्स्टाग्रामबाट पनि टाढिए ।

अहिले उनी लगायत उनका कम्पनीको प्रोफाइल ट्वीटरमा मात्र सक्रिय छन् । मस्कले आफ्ना समर्थकलाई कैयौँ पटक फेसबुक अकाउन्ट तत्कालै डिलिट गर्न सुझाव दिएका थिए । अहिले मस्क फेसबुकको खासै चर्चा गर्दैनन् । ट्वीटरको पूर्ण स्वामित्व आफूसँग लिएपछि यसलाई नयाँ तवरबाट अघि बढाउन मस्कले अनेकन् कामहरू गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०७९ १३:२४