close

सुन्धारा र बबरमहल क्षेत्रबाट सुरु भयो फाइभजी !

टेकपाना टेकपाना

कात्तिक १४, २०७९ १६:१४

सुन्धारा र बबरमहल क्षेत्रबाट सुरु भयो फाइभजी !

काठमाडौं । सरकारी स्वामित्वकाे दूरसञ्चार कम्पनी नेपाल टेलिकमले राजधानीको सुन्धारा र बबरमहल क्षेत्रमा द्रुत गतिको मोबाइल इन्टरनेट सेवा फाइभजी सुरु गरेको छ । कम्पनीले यी क्षेत्रमा फाइभजी सेवाका लागि आवश्यक पूर्वाधार तयार पारी सिस्टम परीक्षणको काम थालनी गरेकाे हाे ।

टेलिकमले देशका चार प्रदेशका मुख्य एक सहरमा फाइभजी परीक्षण गर्ने योजना बनाएकाे छ । सोही योजनाअनुरुप कम्पनीले बागमती प्रदेशअन्तर्गत काठमाडौंका सुन्धारा र बबरमहल क्षेत्रमा फाइभजी सेवाको आन्तरिक परीक्षणका लागि आवश्यक पूर्वाधार तयार पारेको हो । भने, बाँकी तीन प्रदेशमा पनि फाइभजी परीक्षणका लागि आवश्यक तयारी अघि बढिसकेको टेलिकमले जनाएको छ ।

टेलिकम उच्च स्रोतका अनुसार फाइभजी प्रविधिकाे परीक्षण सुरु भएपनि सर्वसाधारण प्रयोगकर्ताले भने तत्काल प्रयोग गर्न पाउने छैनन् ।

‘फाइभजी हाम्रा लागि नयाँ प्रविधि हो,’ टेलिकम स्रोत भन्छ, ‘सिस्टम परीक्षणको काम भइरहेकाले ग्राहकका लागि परीक्षण सेवा सुरु गर्न अझै केही समय लाग्छ ।’

छिटाेमा आउँदाे जनवरी अर्थात् २०२३ को नयाँ वर्षसँगै ग्राहकका लागि फाइभजी परीक्षण सेवा दिने टेलिकमकाे तयारी रहेकाे बुझिएकाे छ ।

टेलिकमले २६०० मेगाहर्ज ब्याण्डमा आधारित भएर फाइभजी सेवा परीक्षण गरिरहेको छ । यसका लागि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीको लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण गरी टेलिकमलाई उपलब्ध गराइसकेको छ, जसमा टेलिकमले २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ ।

हुन त टेलिकमले फाइभजी परीक्षणको व्यवसायिक प्रस्ताव प्राधिकरणलाई पठाउँदा २६०० मेगाहर्ज ब्याण्डमा १०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउन माग अघि सारेको थियो । तर, नियामकले भने ६० मेगाहर्ज मात्रै फ्रिक्वेन्सी टेलिकमलाई उपलब्ध गराएको छ ।

सोही फ्रिक्वेन्सीमा आधारित रहेर अब टेलिकमले नेपालमा फाइभजीको परीक्षण गर्नेछ, जसमा पहिलो चरणमा काठमाडौं, दोस्रो चरणमा पोखरा लगायतका सहरमा र तेस्रो चरणमा देशको कुनै ग्रामीण भेगमा यसको परीक्षण हुने उल्लेख छ ।

उक्त परीक्षणबाट आएको परिणामको आधारमा टेलिकमले आगामी दिनमा फाइभजीको व्यवसायिक परियोजना अघि बढाउने छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०७९ १६:३५