close

सामाजिक सञ्जालमा नदिनुहोस् जन्मदिनको शुभकामना, हुनसक्छ यस्तो जोखिम

हिक्मत आचार्य हिक्मत आचार्य

कात्तिक १८, २०७९ २०:१५

सामाजिक सञ्जालमा नदिनुहोस् जन्मदिनको शुभकामना, हुनसक्छ यस्तो जोखिम

काठमाडौं । सामाजिक सञ्जालमा अभ्यस्त भइरहँदा ट्रेन्ड अनुसार हामी नयाँ-नयाँ तरिका पछ्याइरहेका हुन्छौँ । जन्मदेखि मृत्युसम्म भएका हरेक गतिविधि हाम्रो सामाजिक सञ्जालको अकाउन्टमा सङ्ग्रहित भएर बसेको हुन्छ । पछिल्लो समय इन्टरनेट तथा यसमा आधारित भएर चल्ने उपकरणको पहुँच सहज हुन थालेपछि आफ्नो र अरूको व्यक्तिगत जीवन नजिकबाट नियाल्न सकिने अवस्था बनेको छ ।

तपाईँले याद गर्नु नै भएको होला कतिपयले फेसबुकमा कसको अनुहार को जस्तो देखिन्छ वा भविष्यमा तपाईँको घर कस्तो हुन्छ, जस्ता ट्रेन्डलाई पछ्याएर पोस्ट गरिरहेका हुन्छन् । त्यस्तै सामाजिक सञ्जालमा फोटो राखेर जन्मदिनको शुभकामना दिने प्रचलन पनि पुरानै भइसकेकाे छ ।

विगतमा चिठी लेखेर टाढाको साथीलाई शुभकामना दिन सकिन्थ्यो भने अहिले त्यसको ठाउँ सामाजिक सञ्जालले लिएको छ । यसरी सामाजिक सञ्जाल विशेषतः फेसबुकमा हामी गोप्य रूपमा भन्दा पनि सबैले देख्ने गरी जन्मदिनको शुभकामना दिइरहेका हुन्छौँ । कसैको फोटो सम्झनास्वरूप आफ्नो फेसबुक वालमा राखेर शुभकामना दिनु किन गलत हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ ।

आफूले चिनेका व्यक्तिको फोटो राखेर सामाजिक सञ्जालमा शुभकामना दिँदा आत्मीयता बढिरहेको हुन्छ । फेसबुकले हरेक वर्ष जन्मदिन सम्झाइ दिँदा हामीलाई शुभकामना दिन झनै सहज भएको छ । यो एउटा संस्कार हो, जसलाई हामीमध्ये प्रायःले सकारात्मक रूपमा लिएका हुन्छौँ ।

वास्तवमा सामाजिक सञ्जालमा शुभकामना दिने काम जाेखिमपूर्ण हुनसक्छ । बैंक तथा अन्य संस्थाहरूले उपभोक्ताको जन्ममितिलाई प्रमाणपत्र प्रमाणीकरणको पहिलो आधार बनाएका हुन्छन् । जन्ममिति भनेको खण्डमा बैंकले सो व्यक्ति नै वास्तविक ठान्छ र कारोबार गर्छ । त्यसैले विभिन्न साइबर सुरक्षा विज्ञले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना सार्वजनिक रूपमा नदिन सुझाव दिन्छन् ।

बेलायत तथा युरोपेली संघले मानिसहरूको जन्ममितिलाई व्यक्तिगत डेटाका रूपमा सुरक्षित गरेर राखेकाे पाइन्छ । बेलायतको युनिभर्सिटी अफ  एडिनब्रका विद्यार्थीले गरेको अध्ययनअनुसार ४५ दिनको अवधिमा एक करोड ८० लाख ट्वीटर पोस्टमा जन्मदिनको शुभकामना दिएको पाइएको थियो, जसमा २८ लाख बढीलाई प्रयोगकर्ताले ट्वीटर ह्याण्डल नै मेन्सन गरेर जन्मदिनको शुभकामना दिएका थिए ।

त्यसमा पनि ६६ हजार बढी ट्वीटमा प्रयोगकर्ताको उमेर नै बताइएको थियो । यसको अर्थ ६६ हजार प्रयोगकर्ताको गोप्य जानकारी सार्वजनिक रूपमा फैलाइएको थियो ।

नेपालकै सन्दर्भमा पनि कुरा गर्दा अहिले निर्वाचन आयोगले आफ्नो वेबसाइटमा १८ वर्ष पूरा भएका मतदाताको विवरण राखेको छ । मतदाताको मतपत्र हेर्नका लागि नागरिकता नम्बर वा जन्ममिति आवश्यक पर्छ ।

गलत मनसाय भएको व्यक्तिले त्यसरी व्यक्तिगत विवरण लगेर त्यसको गलत तरिकाले प्रयोग गर्न सक्छन् । 

यस अर्थमा सामाजिक सञ्जालमा पोस्ट राखेर कुनै पनि व्यक्तिलाई जन्मदिनको शुभकामना दिने प्रचलन गलत हो । कतिपयले फेसबुकको बायोमा नै आफ्नो जन्मदिन उल्लेख गरेका हुन्छन् । जन्म महिना र गतेलाई धेरैले ४ डिजिटको कोडका रूपमा पनि प्रयोग गरिरहेका हुन्छन् ।

यसरी जन्मदिन सार्वजनिक गर्दा व्यक्तिको संवेदनशील जानकारी बाहिरिन्छ । यसर्थ सामाजिक सञ्जालमा कुनै पनि व्यक्तिलाई जन्मदिनको शुभकामना दिने प्रचलन गलत हो । प्रयोगकर्ताको संवेदनशील  डेटा पाउनका लागि ह्याकरले खोजिरहेको मुख्य तत्व नै जन्ममिति हुनसक्छ ।

त्यसैले व्यक्तिगत रूपमा टेक्स्ट गरेर वा फोन गरेर जन्मदिनको शुभकामना दिनु सुरक्षाका हिसाबले निकै भरपर्दो मानिन्छ । यसकारण सामाजिक सञ्जालमा कसैलाई सार्वजनिक रूपमा शुभकामना दिने प्रचलनलाई निरुत्साहित गर्न साइबर सुरक्षा विज्ञको सुझाव छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०७९ ९:४९