close

इन्टरनेटको सुरक्षित प्रयोगबारे विद्यार्थीमाझ सचेतना कार्यक्रम गर्दै वर्ल्डलिंक

टेकपाना टेकपाना

कात्तिक २०, २०७९ १३:५३

इन्टरनेटको सुरक्षित प्रयोगबारे विद्यार्थीमाझ सचेतना कार्यक्रम गर्दै वर्ल्डलिंक

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुने भएको छ । कम्पनीले पुल्चोक क्याम्पस - ईन्जिनियरिङ अध्ययन संस्थानको  इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र कम्प्युटर इन्जिनियरिङ विभाग अन्तर्गतको छाता संगठन ‘लोकस’ सँगको सहकार्यमा यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो ।

यो कार्यक्रम सातै प्रदेशका ५० विद्यालयमा आयोजना हुने जनाइएको छ । कात्तिक २० देखि २६ गतेसम्म सञ्चालन हुने यो सचेतना कार्यक्रममा कक्षा ८ देखी १० मा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी लक्षित हुनेछन्।

यस सचेतना अभियानका क्रममा बालबालिकालाई इन्टरनेटको सुरक्षित प्रयोग, साइबर बुलिङ, फिशिङ, अनलाइनमा सुरक्षित रहने तरिका, लगायतका विषयमा ज्ञान दिइनेछ। यो कार्यक्रमका लागि आवश्यक स्रोत साधनको सरलीकरण  र व्यवस्थाका लागि सम्बन्धित क्षेत्रमा रहेका वर्ल्डलिंक को शाखाले सहजीकरण गरिरहेको जनाइएको छ ।

देशको प्रमुख इन्टरनेट सेवाप्रदायकको  हैसियतले बालबालिकाको अनलाइन सुरक्षालाई प्राथमिकतामा राखिएको वर्ल्डलिङ्कका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताएका छन् । ‘‘वर्ल्डलिंक इन्टरनेट एकेडेमी’ अन्तर्गत यस सचेतना अभियानलाई प्रायोजन गरेको हो जसमा आगामी दिनहरूमा डिजिटल साक्षरताका कुराहरूसँग इन्टरनेटका महत्वपूर्ण विषयवस्तुहरू पनि समावेश गरिने छ।’’ नेपालले भनेका छन् । 

यस कार्यक्रमलाई साथ दिदैँ चाइल्ड सेफ नेट नामक संस्थाले आवश्यक सचेतनामूलक सामग्री तयार पार्न सहयोग गरेको छ। साथै लोकसको तर्फबाट कूल ५० जना कार्यक्रमका लागि परिचालित भई हरेक विद्यालयमा दुई घण्टाको सचेतना कार्यक्रम सञ्चालन गरिने लोकसका इभेन्ट म्यानेजर विपिन खनालले जानकारी दिएका छन्।

 

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०७९ १३:५३