close

वर्डक्याम्प नेपाल २०२२ सम्पन्न, यस्ता रहे विशेष आकर्षण

टेकपाना टेकपाना

कात्तिक २१, २०७९ १४:९

वर्डक्याम्प नेपाल २०२२ सम्पन्न, यस्ता रहे विशेष आकर्षण

काठमाडौं । वर्डप्रेस नेपालको आयोजनामा दुई दिने वृहत् अन्तर्राष्ट्रिय सम्मेलन “वर्डक्याम्प नेपाल २०२२” सम्पन्न भएको छ। चितवनमा शनिबार र आइतबार भएको सम्मेलनमा एक हजारभन्दा बढीको सहभागिता रहेको आयोजकले जानकारी दियाे ।

वर्डक्याम्पको पहिलो दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकले सूचना प्रविधिका विविध विषयमा प्रशिक्षण दिएका थिए । यसअन्तर्गत भारतका राहुल डी. सर्केरले सर्च इन्जिन र आदित्य शाहले टेक्निकल टर्म डब्ल्यूपी (सी.एल.आई.) सम्बन्धी प्रशिक्षण दिएका थिए ।

यस्तै बंगलादेशबाट आएका रेहान अरिफले कन्टेन्ट मार्केटिङ तथा तनाज मासबाले सूचना प्रविधिको क्षेत्रमा कार्यरत व्यक्तिकाे स्वास्थ्यमा आउनसक्ने समस्या र त्यसलाई निवारण गर्ने विषयमा प्रशिक्षण दिएका थिए ।

नेपाली प्रशिक्षकहरु ईडा रिजाल, सृष्टि श्रेष्ठ, रौशन जैसवाल, अभिषेक रिजाल, गर्वित श्रेष्ठ, नवीन जैसवाल, सुनिता राई, जिना पौडेल, कृष्ण न्यौपाने, सन्तोष भण्डारी, अनुप अधिकारी, एलिना कक्षपति र लक्ष्मण भट्टराईले वर्डप्रेसलाई व्यावसायिकता प्रदान गर्दा आउनसक्ने चुनौती तथा तिनीहरुको समाधानका विषयमा सहजीकरण गरेका थिए ।

सम्मेलनको दोस्रो दिन वर्डप्रेसलाई अझै सबल विस्तारित र सुरक्षित बनाउन वर्डप्रेस प्रयोगकर्ताले कसरी योगदान दिन सक्छन् भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

यसअन्तर्गत अनन्तराज मिश्र, अनिल बस्नेत, विज्ञान घिमिरे, मिलन हमाल, निलकण्ठ कोइराला, राजन लामा, रेगन खड्गी, सन्दिप पङ्गेनी, सन्तोष कुँवर, सुभाष कुँवरले वर्डप्रेसलाई योगदान गर्न सकिने विधाहरु जस्तै; थिम, प्लगइन, भाषा, सपोर्ट, पोलिगल्ट, तालिम, फोटो, प्याट्रनसम्बन्धी प्रशिक्षण दिएका थिए । 

हालसम्म ६५ देशका ३७९ सहरमा ११ सय २४ वटा वर्डक्याम्प सम्पन्न भएको बताइएको छ । नेपालमा पनि हालसम्म १५ ओटा वर्डक्याम्प आयोजना भएको 'वर्डक्याम्प २०२२' का मुख्य संयाेजक सुवास खड्काले जानकारी दिए ।

उनका अनुसार आगामी “वर्डक्याम्प नेपाल २०२४”  पोखरामा हुनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०७९ १४:३७